+
+
Shares
ईश्वर पोखरेलको श्वेतपत्रमा जनार्दनको प्रश्न :

मेरो नाम किन लेखियो, लेख्नुपर्ने नाम किन लेखिएन ?

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते २०:१५

१५ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रष्टले जारी गरेको श्वेतपत्रमाथि प्रश्न उठाएका छन् ।

बिहीबार संसदमा समय लिएर बोल्दै उनले लेख्नुपर्ने नाम नलेखेको तर नलेख्नुपर्ने नाम लेखेर मिडियाबाजी गराएको भन्दै आपत्ति जनाए ।

ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो ।

तर शर्माले भने आफू गृहमन्त्री नभएको बेला भएको निर्णयमा नाम मुछिएकामा आपत्ति जनाए ।

श्वेतपत्रअनुसार यसबारे थामसेर्कुको प्रस्ताव स्वीकृत गर्ने निर्णय कात्तिक १३ गते २०७४ मा भएको थियो ।

तर आफू असोज ३० गते नै गृहमन्त्रीबाट हटेर विना विभागीय भएको भन्दै शर्माले प्रश्न गरे, ‘मन्त्री नै नभएको मान्छेलाई जबरजस्ती नाम लेख्नुको कारण के हो ?’

आफ्नो नाम गलत गरिकाले मुछेको तर पछिल्ला विवादास्पद निर्णय गर्दा नेपाल ट्रष्टको संरक्षक तथा अध्यक्ष को थिए भन्ने उल्लेख नगरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

झुटो विवरण उल्लेख गरेर ‘अश्वेतपत्र’ किन आयो होला भन्दै उनले आफूले अरु सांसदले जस्तै संविधानको भावना विपरीत आएका ऐनहरु परिर्माजन गर्न भूमिका खेलेको तथा विकास र समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ, सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भनेको जिकिर गरे ।

उनले अघि भने, ‘मलाई तर्साउन खोजिएको हो ? आत्मसमर्पण गराउन खोजेको हो ? म असत्यसामू आत्मसमर्पण गर्दिनँ । तर्सिन्न पनि । सरकारले मलाई त ढाँट्न सक्ला तर जनतालाई ढाट्न सक्छ ? किमार्थ सक्दैन ।’

आफ्नै पार्टीको सरकार भएको र सरकारलाई सफल बनाउन सहयोग गर्दागर्दै झुटा आरोप लगाएको भन्दै पूर्वमन्त्री शर्माले विश्वासको संकट भएको बताए । उनले भने, ‘लेख्नुपर्ने नाम नलेख्ने, नलेख्नुपर्ने ठाउँमा लेखेर मिडियाबाजी गराउने किन गरियो ? यसबारे रक्षामन्त्री र प्रधानमन्त्रीको जवाफ चाहियो ।’

उनले नेपाल ट्रष्टका सबै जग्गा फिर्ता ल्याउन र नयाँ ढंगले निर्णय गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?