Comments Add Comment

करण केसीको त्यो अविस्मरणिय इनिङ्स…

२ फागुन, काठमाडौं । क्रिकेटर करण केसीले नेपालका लागि ९ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेलेका छन् । नेपालले २०१८ मार्चमा ओडीआई मान्यता पाएको थियो ।

त्यो भन्दा अगाडि नै करणले एकै खेलमा अविजित ४२ रन बनाएका थिए । अनि त्यही इनिङ्समा नेपालले जित हात पारेको थियो र नेपालको ओडीआई मान्यता पाउने पहिलो आधारसमेत बनेको थियो ।

आज भन्दा ठीक दुई वर्षअघि आजकै दिन । फेब्रुअरी १४ तारिख अर्थात भ्यालेन्टाइन डे को दिन । काठमाडौ भन्दा ९ हजार २०७ किलोमिटर टाढा अफ्रिकी देश नामिबियाको विन्डहोकमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ चलिरहेको थियो ।

डिभिजन २ को शीर्ष दुई स्थानमा रहने टिमबाट २०१८ कै मार्चमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा पुग्ने थियो । ओडीआई मान्यता पाउने सम्भावना कायम राख्न पनि त्यहाँसम्म पुग्नैपर्ने थियो ।

यो पनि पढ्नुहोस एक इनिङले चम्किएका अलराउण्डर !

नेपालको लक्ष्य डिभिजन २ मा टप टु मा पर्नु नै थियो । नेपालले शुरुवाती ४ मध्ये ३ खेलमा जित र १ मा हारको नतिजा निकालेको थियो । टप २ मा पर्न नेपालले लिगको आफ्नो अन्तिम खेलमा क्यानडालाई पराजित गर्नैपर्ने थियो । हारले नेपाल रनरेटमा पछि पर्दै शीर्ष २ बाट बाहिरिने थियो । समीकरण यस्तो थियो ।

तर खेलमा अर्कै समीकरण बनिरहेको थियो ।

१९५ रनको लक्ष्य पछ्याएको नेपालले एकपछि अर्को विकेट गुमाउँदै गयो । नेपालले १४४ रनमै नवौं विकेट गुमायो । जितका लागि अझै ५१ रन चाहिएको थियो भने ४७ बल बाँकी थियो । क्रिजमा थिए दशौँ नम्बरमा ब्याटिङ गर्न गएका करण केसी र ११ औं नम्बरका सन्दीप लामिछाने ।

करण ४२ औं ओभरको चौथो बलमा बसन्त रेग्मी आउट भएपछि क्रिजमा गएका थिए । अर्को ओभरमा आरिफ सेख पनि आउट भएपछि नेपालको आशा लगभग सकिएको नै थियो । त्यतिखेर करणले पनि सोचिसकेका थिए अब के गर्ने आरिफ पनि आउट भयो ।

तर के गर्ने भनेर उनै करणले गरेर देखाए । अविस्मरणीय इनिङ्स खेले । सबैले आश मारिसकेको खेलमा आश जगाए । रन बनाए । छक्का चौका हाने ।नेपाललाई जिताए वाहवाही पाए । नेपाली क्रिकेटलाई नै जीवनदान दिएजस्तै भयो ।

करणले अचम्मै गरे । खेललाई अन्तिम ओभरसम्म लगे । उनलाई सन्दीपले पनि गतिलो साथ दिए । दुवैले अन्तिम विकेटका लागि ५१ रनको साझेदारी गरे । करणले ३१ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ४२ रन बनाए । त्यसका लागि उनी ४२ मिनेट नै क्रिजमा टिके । ३८ मिनेट क्रिजमा रहेका सन्दीपले १८ बल खेल्दै अविजित ५ रन बनाए । विश्व क्रिकेटमै पनि त्यसले ठूलो चर्चा पायो ।

नेपालले ओडीआई मान्यता पाउने आधार त्यही डिभिजन २ रह्यो । अनि कहिँ न कहिँ नेपाललाई करणले ठूलो गुण लगाए ।

अन्तिम बलमा १ रन लिँदै नेपालले जित हात पारेपछि नेपाली टोलीमा ठूलो खुशी आएको थियो। यता काठमाडौंमा बसेर अनलाइनमा लाइभ स्कोर मात्र हेरिरहेका नेपालीहरु पनि एकदमै खुशी थिए ।

त्यो दिन भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस थियो माया गर्नेहरुको दिन । त्यही दिन करणले जादुमयी इनिङ खेलेर सबै नेपालको माया पाए । त्यसै इनिङ्सले उनलाई सधैँ सम्झिइने छ । त्यसपछि उनी आफैँले पनि आफू अलराउण्डर हुँ भन्ने अनुभव गर्न थाले ।

त्यसपछिका खेलहरुमा पनि नेपालको आशा करणले रन हान्न सक्छ जिताउन सक्छ भन्ने भयो । एउटै खेलले उनको चर्चा चुलियो । उनलाई हेर्ने नजर फरक बन्यो । नेपाली क्रिकेट र यसको विकासक्रमको नाम आउँदा अब त पक्कै करणको नाम छुट्ने छैन । किनकी उनले नेपालको ओडीआई मानयताको आधार तयार गरेका थिए ।

त्यही डिभिजन २ मा शीर्ष २ मा रहेर लगत्तै जिम्बाब्बे पुगेको नेपाली टोली विश्वकप छनोटमा एसोसिएटतर्फ शीर्ष तीन स्थानमा रहँदै पहिलो पटक ओडीआई मान्यता पाउन सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment