Comments Add Comment

नेपाली ब्याटिङ गिजोलेर विदा भए उमेश पटवाल

कस्तो रह्यो मुख्य प्रशिक्षकको ८ महिने कार्यकाल ?

२९ माघ, काठमाडौं । उमेश पटवाल नेपाली क्रिकेट प्रशिक्षकमा आठ महिना अगाडि नियुक्त हुँदा उनीबाट निकै आशा गरिएको थियो । आशा राखिनुका यी कारण थिए :

१. उनी नेपालको क्रिकेट स्तर र खेलाडीहरुको क्षमतासँग भलिभाँति परिचित थिए । भर्खरै यूएईविरुद्ध टि–२० र एक दिवसीय श्रृंखला नेपालले जित्दा व्याटिङ परामर्शदाताको रुपमा पटवालको भूमिका अहम् मानिएको थियो । त्यसको वर्षदिन अगाडि जिम्बाबेमा सम्पन्न भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा पनि उनी नेपाली टिमको ब्याटिङ प्रशिक्षक थिए । सोही प्रतियोगिताबाट नेपाल एकदिवसीय स्टाटसमा उक्लेको हो । त्यति मात्र होइन, नेपालको घरेलु फ्रेन्चाइज लिग पीपीएल (पोखरा प्रिमियर लिग) र इपीएल (एभरेस्ट प्रिमियर लिग) मा पनि उनी जोडिएका छन् । यस हिसाबले पटवालले नेपाली टिम र खेलाडीहरुलाई राम्ररी बुझेका थिए । सबैको कमजोरी खुटयाएर सोझै उनीहरुलाई निखार्नेमा केन्द्रित हुन सक्थे ।

२. नेपाली टिमको कमजोर पक्ष हो, ब्याटिङ । यसअघिका दुई श्रीलंकाली प्रशिक्षकले धेरै कुरामा नेपाली क्रिकेटको सुधार गरे पनि ब्याटिङको कमजोरी भने यथावत् रह्यो । पटवाल एक ब्याटिङ प्रशिक्षक भएकाले नेपाली खेलाडीहरुको ब्याटिङ स्तर उकास्न उनले ठोस योगदान दिन सक्थे । यसअघि अफगानिस्तानको टिमलाई प्रशिक्षण दिएको अनुभव पनि उनीसित थियो । सन् २०१४ मा बंगलादेशमा भएको टि–२० विश्वकप र एसिया कपमा उनी अफगानिस्तानका ब्याटिङ प्रशिक्षक थिए । आज अफगानिस्तानको ब्याटिङसँग विश्वकै दिग्गज टिमहरु पनि डराउँछन् । अफगानिस्तानलाई यो स्तरमा ल्याउन पटवालको केही न केही भूमिका थियो नै ।

३. पटवाल नेपालको छिमेकी राष्ट्रका भारतका नागरिक हुन् । भारत विश्व क्रिकेटको महाशक्ति मानिन्छ । भारतले चाहेमा नेपालको क्रिकेटमा धेरै पक्षबाट सघाउन सक्ने विश्वास धेरैले राख्छन् । नेपालमा क्रिकेटको पूर्वाधार विकासमा भारतको सहयोग जुटाउन, नेपाली युवाहरुलाई भारतमा प्रशिक्षणको अवसर मिलाउन, त्यहाँ हुने आईपीएल लगायतका अनेकन लिगहरुमा नेपाली खेलाडीलाई प्रवेश गराउन पटवालले भूमिका खेल्लान् भन्ने थियो ।

४. पटवाल नेपालको राष्ट्रिय टिमका खेलाडीहरुबीच पनि प्रिय थिए । ब्याटिङ प्रशिक्षकका रुपमा काम गर्दा उनलाई विशेष गरी तत्कालिन कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले रुचाएका थिए । पटवाल प्रशिक्षक नियुक्त हुनुमा पारस–ज्ञानेन्द्रको पनि केही न केही रोल छ । टिमका मुख्य खेलाडीहरुसँग ‘कमेस्ट्री’ मिल्दाखेरी प्रशिक्षकले उत्कृष्ट नतिजा दिन सक्छन् । पटवालसँग यही अनुकुलता थियो ।

तर, सबै आशाहरुमा पानी खन्याएर प्रशिक्षक पटवालले ‘सटर बन्द’ गरेका छन् । आफ्नो करार अवधि नसिकिँदै पारिश्रमिकमा असन्तुष्टि जनाएर उनले राजीनामा बुझाएको समाचार सार्वजनिक भइसकेको छ । आज सकिएको नेपाल–अमेरिका–ओमानको त्रिकोणात्मक एकदिवसीय श्रृंखला नै उनको अन्तिम बनेको छ । आफ्नो श्रृंखलामा पनि उनले सन्तोषजनक नतिजा दिलाउन सकेनन् ।

कस्तो रह्यो पटवालको ८ महिना ?

१७ जेठ, २०७६ मा नेपालको प्रमुख प्रशिक्षक नियुक्त हुँदै गर्दा पटुवालले अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा नेपाललाई छनोट गराउनु आफ्नो पहिलो लक्ष्य हुने बताएका थिए । यो कुनै महत्वाकांक्षी लक्ष्य थिएन, किनकी नेपालले पहिले पनि एकपटक टि–२० विश्वकप खेलिसकेको हो । दोस्रो कुरा, सिंगापुरमा हुने एसिया छनोटमा प्रतियोगीतामा सहभागी अरु टिमहरु नेपालभन्दा कमजोर थिए । त्यहाँ एकदिवसीय मान्यताप्राप्त राष्ट्र नेपाल मात्रै थियो ।

पटवालको कार्यकालको सुरुवात भने मलेसियाविरुद्ध दुईवटा टि–२० सिरिजबाट भएको थियो । दुवै म्याचमा नेपालले सहज जित हात पार्दा उनको सुरुवात सोचेजस्तै भयो । तर, सिंगापुरमा नेपालको कमजोरी छाताछुल्ल भयो । कतार र सिंगापुरजस्ता आफूभन्दा कमजोर राष्ट्रहरुविरुद्ध पराजित भएर नेपालको विश्वकप सपना टुंगियो । अंक तालिकामा नेपाल सिंगापुर र कतारभन्दा तल तेस्रो स्थानमा रहन पुग्यो । मलेसिया र कुवेतविरुद्धका दुई जितमा नेपालले चित्त बुझायो ।

विश्वकप छनोटको पहिलो म्याचमै पटवालले टिम छनोटमा गम्भिर त्रुटी गरेका थिए । कतारविरुद्धको म्याचमा उनले अस्वभाविकरुपमा ६ जना पूर्णकालिन बलर खेलाए । नेपालको ब्याटिङ लाइन शरीरभन्दा पुच्छर लामो भएको (सियो–धागोजस्तो) बनेको थियो । सो म्याचमा नेपालले पहिलो ब्याटिङ गर्दा ५ नम्बरदेखि नै बलरहरु आउन थालेका थिए । नेपाल १ सय २२ रनमै समेटियो । बलरहरु जति धेरै भए पनि लक्ष्य गतिलो नभएपछि के लाग्थ्यो । कमजोर आँकिएको कतारले नेपालले दिएको १ सय २३ रनको लक्ष्य ६ विकेटमा भेट्टायो ।

दोस्रो म्याच र तेस्रो म्याचमा नेपालले कतार र कुवेतविरुद्ध समान ७ विकेटको जित हात पार्‍यो । तर, सिंगापुरसितको निर्णायक म्याचमा नेपाल हार्‍यो । यो प्रतियोगितामा ओपनिङ गरेका पारस ज्ञानेन्द्रले औसत प्रदर्शन गरे पनि अरु ब्याट्सम्यान चल्न सकेनन् ।

त्यसपछि सेप्टेम्बरमा नेपालले जिम्बाबे र सिंगापुरविरुद्ध सिंगापुरमै त्रिकोणात्मक टि–२० सिरिज खेल्यो । यसमा पनि नेपालको प्रदर्शन सुखद रहेन । नेपाल जिम्बाबेसँग दुवै म्याचमा पराजित भयो । सिंगापुरविरुद्ध ९ विकेटको जित हासिल गर्‍यो । सिंगापुरमाथि पारसले शतक प्रहार गरे जुन टि–२० मा नेपाली खेलाडीको पहिलो हो ।

गत अक्टोबरमा नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टि–२० सिरिज खेल्यो । त्यसमा नेपालले मिश्रित नतिजा निकाल्यो । ओमान, हङकङ, आयारल्यान्ड, नेदरल्यान्ड्स र नेपाल सो प्रतियोगितामा सहभागी थिए । हङकङ र नेदरल्यान्ड्सविरुद्ध जित हासिल गर्दै उत्कृष्ट सुरुवात गरे पनि नेपाल आयरल्यान्ड र ओमानसँग पराजित भयो । अन्तिम म्याचमा ओमानविरुद्ध जम्मा ६४ रनमा अलआउट हुँदा ब्याटिङमा नेपालको कमजोरी फेरि एकपटक उदांगो बनेको थियो ।

गत नोभेम्बरमा नेपालले मेरिलबोर्न क्रिकेट क्लवविरुद्ध किर्तिपुरमा तीन म्याचको एकदिवसीय श्रृंखला खेल्यो । पहिलो म्याचमा नेपालले एमसीसीमाथि पाँच विकेटको जित हासिल गर्‍यो । तर त्यसपछि खेलाइएको तीन दिवसीय म्याचमा नेपालले २ सय ८ रनको हार व्यहोर्‍यो । यसैगरी, टि–२० मा पनि नेपाल सहजै पराजित भयो ।

हालै सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा पनि नेपालले सन्तोषजनक प्रदर्शन गर्न सकेन । बंगलादेश र श्रीलंकाका अन्डर २३ टिमसँग पराजय स्वीकारेको नेपाल मालदिभ्स र भुटानजस्ता कमजोर राष्ट्रविरुद्धको जितमै चित्त बुझाउन वाध्य भयो । यो प्रतियोगितामा पनि नेपाली टिमको ब्याटिङ र बलिङमा असन्तुलन छचल्किएको थियो ।

आज काठमाडौंमा सम्पन्न भएको नेपाल–अमेरिका–ओमानबीचको सिरिज पटवाललाई जाँदाजाँदै आफ्नो रेकर्ड सुधार्ने मौका थियो । तर, यो सिरिजमा पनि नेपालको प्रदर्शन सोचेजस्तो भएन ।

चार खेलमध्ये नेपालले दुईवटा जित निकाल्यो र दुई हार व्यहोर्‍यो । दुवै जित अमेरिकाविरुद्ध थिए । अमेरिकासित अन्तिम म्याचमा नेपालको बलिङ चम्कियो र विपक्षीलाई कम स्कोरमा समेटेको रेकर्ड पनि बन्यो । तर, यतिमै खुशी हुने अवस्था छैन । ओमानविरुद्ध कम्तिमा एउटा जित निकाल्न सकेको भए नेपालका लागि यो श्रृंखला सुखद मान्न सकिन्थ्यो ।

नेपाली ब्याटिङका दुई पिल्लर हुन् पारस र ज्ञानेन्द्र । ज्ञानेन्द्रले ओपनिङ र पारसले ४ नम्बरमा खेल्दा ब्याटिङको सन्तुलन मिलेको थियो । तर, दुवै उत्कृष्ट ब्याट्यम्यानलाई ओपनिङमा खेलाएपछि मध्यक्रममा रिक्तता आएको छ ।

समग्रमा पटवालको कार्यकालमा १२ जित र १२ हार सहित नेपालको प्रदर्शन मिश्रित छ । तर, जित–हारको संख्याले मात्रै उनको कार्यकालको मूल्यांकन हुँदैन । विश्वकपमा छनोट हुन असफल हुनुले नेपाललाई ठूलो धक्का लाग्यो । नेदरल्यान्ड्सविरुद्ध एउटा खेललाई अपवाद मान्ने हो भने नेपालले हासिल गरेका जित आफूभन्दा कमजोर टिमहरुविरुद्ध मात्रै छन् ।

पटवालको कार्यकालमा हासिल भएका उपलब्धीको कुरा गर्ने हो भने दुई खेलाडीहरुको व्यक्तिगत प्रदर्शन कोट्याउनुपर्ने हुन्छ । रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अद्र्धशतक हान्ने खेलाडीको विश्वकिर्तिमान राखेका थिए । केही दिन अगाडि कुशल मल्लले उनको रेकर्ड तोडेर नयाँ विश्वकिर्तिमान राखे ।

यस्तै आज अमेरिकाविरुद्ध सन्दिप लामिछानेले लिएको ६ विकेट पनि एसोसिएट राष्ट्रमा कुनै पनि बलरले लिएको दोस्रो सर्वाधिक विकेट संख्या हो । अनि, अमेरिकालाई ३५ रनमा अलआउट गरेर नेपालले विपक्षीलाई सर्वाधिक न्यून स्कोरमा समेट्ने विश्वकिर्तिमानको बराबरी गरेको छ । यसअघि सन् २००४ मा श्रीलंकाले जिम्बाबेलाई पनि ३५ मा अलआउट गरेको थियो ।

कहाँ चुके पटवाल ?

पटवालबाट जे अपेक्षा गरिएको थियो, त्यो पुरा भएन । खासगरी नेपालको ब्याटिङमा कुनै पनि सुधार ल्याउन उनी असफल बने । यो बीचमा नेपालको ब्याटिङ सुध्रिनुको साटो झन् खस्किएको देखिन्छ ।

नेपालको ओपनिङ जोडीको समस्या पनि उनको कार्यकालमा हल हुन सकेन । उनले बीचमा युवा खेलाडी इसान पाण्डेलाई ओपनिङमा परीक्षण गरे, जुन असफल भयो । घरेलु म्याचमा नै कुनै उल्लेखनीय प्रदर्शनको रेकर्ड नभएका खेलाडीलाई एकैचोटि राष्ट्रिय टिमको ओपनर बनाउने उनको निर्णय नै गलत थियो ।

यसैगरी कप्तान पारसलाई नै ओपनिङमा पठाउने अर्को गलत निर्णय उनले गरे । नेपाली ब्याटिङका दुई पिल्लर हुन् पारस र ज्ञानेन्द्र । ज्ञानेन्द्रले ओपनिङ र पारसले ४ नम्बरमा खेल्दा ब्याटिङको सन्तुलन मिलेको थियो । तर, दुवै उत्कृष्ट ब्याट्यम्यानलाई ओपनिङमा खेलाएपछि मध्यक्रममा रिक्तता आएको छ । उनीहरु चाँडै आउट भएको अवस्थामा टिम सहजै डग्मगाउँछ, किनकी पछाडि भरोसायोग्य खेलाडी छैनन् ।

अर्को कुरा, ओपनिङ ब्याटिङ आफैंमा एउटा विज्ञता हो । स्वीङ र सिम मुभमेन्ट बढि हुने सुरुवाती फास्ट बलिङलाई सामना गर्न सक्ने कौशल र अनुभव उनीहरुमा विकास गरिएको हुनुपर्छ । मध्यक्रमका ब्याट्सम्यानसँग योभन्दा फरक खालका विशेषता हुन्छन् । टिमको सर्वोत्कृष्ट ब्याट्सम्यानले नै अगाडि खेल्नुपर्छ भन्ने पटवालको सिद्धान्तलाई सही मान्ने हो भारतका लागि बिराट कोहलीले ओपनिङ गर्थे । साउथ अफ्रिकाका लागि एबी डीभिलियर्स ४ नम्बरसम्म पालो पर्खने थिएनन् । अष्ट्रेलियाका स्टिभ स्मिथलाई पहिलो नम्बरमै पठाइन्थ्यो ।

प्राय देशहरुले आफ्नो टिमको ब्याटिङ तलमाथि गर्दा ओपनिङ जोडी सकभर चलाउँदैनन् । र, टिममा नियमित दुई ओपनरका अतिरिक्त एकजना अतिरिक्त ओपनर पनि राखेका हुन्छन् । तर, अहिलेको नेपाली टिम हेर्ने हो भने एकजना पनि विशेषज्ञ ओपनर छैनन् ।

पटवालले ओपनिङमा उकालेका पारस खड्काको प्रदर्शन खस्किएको छ । उनले सतकसहित एकाध उत्कृष्ट इनिङ खेले पनि समग्रमा उनले आफ्नो स्तरअनुसार खेल्न सकेका छैनन् । अन्ततः फेरि उनलाई तीन नम्बरमा झारिएको छ । ओपनरका रुपमा विकेटकिपर ब्याट्सम्यान सुभाष खकुरेल राष्ट्रिय टिममा फर्किएका छन् । तर, घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा तीन खेलमा मौका पाएका सुभाषले पनि कुनै चमत्कार गर्न सकेनन् । यसको अर्थ ओपनिङ जोडीको समस्या ज्यूँका त्यूँ छ ।

रोय डायसले नेपाली क्रिकेटको जग बनाए भने पुबुदु दासानायकेले त्यही जगमा पर्खाल ठड्याए । भारतीय प्रशिक्षकले त्यसमा छानो हालिदिने आशा थियो । तर, उनले भएको पर्खालमै भ्वाङ पारेर छाडेका छन् ।

पटवालले ओपनिङको समस्या समाधान गर्न त सकेनन् नै, विगतमा स्थिर मध्यक्रमलाई पनि अहिले चञ्चल बनाइदिएका छन् । मध्यक्रममा कम्तिमा एकजना यस्तो ब्याट्सम्यान चाहिन्छ जसले दवाव पनि सोस्न सकोस र रनरेट पनि कायम राख्न सकोस । अहिले अनुभवी शरद भेषवाकर मध्यक्रममा छन् । उनमा दवाव झेल्न सक्ने मानसिक क्षमता छ, तर रनरेटमा प्राय चुक्छन् । बरु युवा ब्याट्सम्यान कुशल मल्लले थोरै आशा देखाएका छन् ।

प्राय म्याचमा टिम छनोट गर्दा ब्याटिङ र बलिङबीच पटवालले राम्रो सन्तुलन मिलाउन सकेनन् । कुनैमा ब्याट्सम्यानको ओभरलोड त कुनैमा बलरको ओभरलोड भएर टिम ब्यालेन्स बिग्रिएको छ ।

पटवालको कार्यकालमा अपेक्षा गरिएजस्तो भारतसित नेपालको क्रिकेट सम्वन्ध विकास हुन सकेन । उनले यसमा केही पनि प्रयास गरेनन् । नेपालको प्रमुख प्रशिक्षक नियुक्त हुनअघि अनलाइनखबरसँग एक अन्तरवार्तामा उनले भनेका थिए, ‘म नेपालले भारतविरुद्ध एकदिवसीय खेलेको हेर्न चाहन्छु ।’

नेपाल पनि एकदिवसीय मान्यताप्राप्त राष्ट्र भएको हुनाले भारत र नेपालको राष्ट्रिय टिमबीच क्रिकेट म्याच असम्भव छैन । भारतको ‘ए’ टिमसित नै नेपाली टिमलाई भिडाउन सकेको भए पनि राम्रै हुन्थ्यो । तर, पटवालले कुनै पहल गरेनन् ।

पटवालभन्दा अघि दुई श्रीलंकाली प्रशिक्षकले नेपाली क्रिकेटलाई शून्यको स्थितिबाट अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाएका थिए । रोय डायसले नेपाली क्रिकेटको जग बनाए भने पुबुदु दासानायकेले त्यही जगमा पर्खाल ठड्याए । भारतीय प्रशिक्षकले त्यसमा छानो हालिदिने आशा थियो । तर, उनले भएको पर्खालमै भ्वाङ पारेर छाडेका छन् ।

पटवालको राजीनामाको कारण पनि रोचक छ । आफ्नो मासिक पारिश्रमिकमा कर काटिएकोमा उनको असन्तुष्टि रहेको भन्ने समाचारहरु आएका छन् । पारिश्रमिकमा कर काटिने विश्वव्यापी नियम उनलाई थाहा नहुने त प्रश्नै आएन । यसमा पहिल्यै स्पष्ट नहुनु उनकै कमजोरी हो ।

अब को ?

अहिले चलिरहेको नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक एकदिवसीय प्रतियोगिता पटवालको अन्तिम हो । यसमा नतिजा जे–जस्तो आए पनि त्यसपछि नेपालले नयाँ प्रशिक्षकको खोजी गर्नैपर्छ । पटवालको गुनासो सम्वोधन गरेर राजीनामा फिर्ता गराउने सम्भावना यसकारण न्यून छ कि नेपाल क्रिकेट संघ क्यान पनि उनीसँग सन्तुष्ट छैन ।

पटवालअघि नेपाली टिम स्वदेशी प्रशिक्षक जगत टमटाले सम्हालेका थिए । उनको प्रशिक्षणमा नै नेपाल एकदिवसीय राष्ट्र बनेको हो । फेरि पनि अन्तरिमरुपमा प्रशिक्षकको जिम्मेवारी केही समय उनको काँधमा आउन सक्छ । तर, एक दिवसीय राष्ट्रमा उक्लिएको नेपाललाई अनुभवि विदेशी प्रशिक्षककै खाँचो छ । फेरि पनि चाहिएको त ब्याटिङ प्रशिक्षककै हो । किनकी, जबसम्म नेपालको ब्याटिङ स्तर सुध्रिदैन, तबसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई योभन्दा माथि उक्लिन निकै कठिन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment