Comments Add Comment
बामदेव प्रकरणपछि शीर्ष नेता :

ओली मौन, प्रचण्ड र माधव नेपाल रक्षात्मक

१५ फागुन, काठमाडौं । उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने सचिवालयको निर्णय कार्यन्वयन नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानसँगै पार्टीको विवाद उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु बिहीबार एउटै मञ्चमा उपस्थित भए ।

कार्यक्रम थियो, बाग्मती प्रदेशस्तरीय प्रशिक्षण ।

कार्यक्रमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवुकमार नेपाल लगायतका शीर्ष नेताहरु उपस्थित भए । मंगलबार रातिसम्मका घटनाक्रमले पार्टी संकट उन्मुख देखिएकाले नेकपाका नेता कार्यकर्तालाई पनि शीर्ष नेताहरुले के भन्लान भन्ने चासो थियो ।

प्रधानमन्त्री ओली पनि पोखरा जाने कार्यक्रम समेत स्थगित गरेर प्रशिक्षणमा पुगेका थिए ।

कार्यक्रमका सञ्चालक बाग्मती प्रदेश कमिटी सचिव आनन्द पोखरेलले पटकपटक मंगलबारदेखि उत्पन्न विवाद र मिडियामा आएका समाचारले कार्यकर्तालाई अन्यौल तथा निराश बनाएको भन्दै शीर्ष नेतृत्वबाट जवाफको अपेक्षा गरिएको बताए । उनले मिलाउनुपर्ने गरि मुख्य नेतृत्वमा विवाद नै नआवस भन्ने चाहना कार्यकर्ताको रहेका बताएका थिए । प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले पनि पछिल्लो विवादबारे जवाफको अपेक्षा सुनाएका थिए । भेलाका सहभागीको चासो बामदेव प्रकरणबारे थियो ।

बामदेव गौतमलाई राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन गर्न सिफारिस गर्ने सचिवालय बैठकको निर्णय नमान्ने सन्देश ओलीले माधव नेपालमार्फत दिएका थिए । त्यसपछि उत्पन्न घटनाक्रमले पार्टी र सरकार संकटमा परेको विश्लेषण भएको छ ।

तर प्रधानमन्त्री ओली पार्टीमा उत्पन्न पछिल्लो विवाद र संकबारे प्रवेश नै गर्न चाहेनन् । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण र जन्मदिन विवादबारे जवाफ दिएका ओलीले पछिल्ला घटनाक्रमबारे एक शब्द पनि बोलेनन् ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले सांकेतिक रुपमा मात्र बोले र दुबै नेता रक्षात्मक ढंगले प्रस्तुत भए । प्रचण्ड र माधव नेपालले पार्टीमा जस्तासुकै विवाद आएपनि समाधान गरिने भन्दै पछिल्लो विवादले ठूलो संकट नआउने संकेत गरे ।

उनीहरुभन्दा अगाडि बोलेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले माथिको विवाद माथि नै मिल्ने भन्दै कार्यकर्तालाई निराश नबन्न आग्रह मात्र गरेका थिए ।

नेताहरुकाअनुसार पछिल्ला विवाद र संकटबारे शीर्ष नेताहरु ‘रिजर्भ’ बस्नुलाई अर्थपूर्ण मानिएको छ । मुख्य नेताहरु कार्यकर्ता भेलामा दिनभर व्यस्त रहेकाले पछिल्लो विवाद र बामदेव प्रकरणबारे थप छलफल पनि भएको छैन ।

बिहीबार मन्त्रिपरिषदको नियमित बैठक समेत नबसेकाले राष्ट्रियसभामा बामदेव कि अर्थमन्त्री डा. युवराज खतिवडा नै सिफारिस हुने भन्ने अन्यौल कायमै छ । कार्यकर्ता भेलामा विवादबारे नेताहरुले के भने ? उनीहरुको भनाइ जस्तोको तस्तैः

यो प्रकरणको पनि समाधान निकाल्छौं : प्रचण्ड

धेरैलाई लाग्न सक्छ पार्टी शान्त भइदिए हुन्थ्यो । नेताहरु खुरुक्क मिलेर हिँडे हुन्थ्यो । हामीलाई पनि त्यस्तै लाग्छ । हामी एकताबद्ध हुने कोशिस गर्ने हो, तर जुन दिन विवादरहित र शान्त पार्टी बन्छ। त्यो दिनबाट पार्टी नै चाहिन्न । त्यो भनेको त साम्यवाद हो । साम्यवाद आएपछि कम्युनिस्ट पार्टी चाहिँदैन ।

पार्टीमा ठूलाठूला विवाद हुन्छन् । यो शान्त तलाउ होइन नि । गडगडाउँदै बग्ने खोला हो । पार्टी जमेको पोखरी जस्तो होइन । आज भोलि के हो के हो भने जस्तो तपाईहरुलाई भएको छ, मलाई थाहा छ । हामीले धेरै ठूलो दुःखले पार्टी बनाएको हो । हामी यसलाई कुनै हालतमा विघटन र विभाजन हुन दिदैनौं ।

अहिले के हो भन्ने तपाईहरुलाई लागेको होला, विहानै पत्रिका पढेर आउनुभयो होला । मिडियामा आएका कुराको पछि नलाग्नुस् । हामी यसको पनि (बामदेव प्रकरण)का पनि समाधान निकाल्छौं, एकढिक्का बनेरै निकाल्छौं ।

नआत्तिनुस्, समाधान हुन्छ : माधव नेपाल

तपाईहरुलाई अहिले के भइरहेको हो भन्ने लागेको होला । समस्याबाट नआत्तिनुस्, समाधान हुन्छ । पार्टीमा उतार चढाव त आउँछन् । निराश हुनुपर्दैन । नेताहरु एकताबद्ध छौं भन्ने सन्देश दिन आज हामी यहाँ आएका हौं । हामीले झण्डै दुई तिहाई बहुमत जनताबाट पाएका छौं । अब केही दिनमै दुई तिहाई पुग्छ तर हामीले दुई तिहाईको दम्भ गर्नु हुँदैन । नेताहरु आपसमा लड्नुपर्ने कारण छैन ।

माथिको कुरा माथि नै मिल्छ : ईश्वर पोखरेल

पार्टीभित्र समस्या आउँछन् तर समाधान हुन्छ । माथिको कुरा माथि नै मिलाउँछौ, केही निराश हुनु पर्दैन ।

यो पार्टी एकतापछि केही समस्या छन् तर हामीलाई पछाडि फर्किने छुट छैन । जसको टाउकोमाथि जति आकाश छ, त्यतिमात्र थामौं । हामीले थामेनौं भने आकाश खस्दैन । मिलाउनुपर्ने विवादहरु मिल्छन् । कार्यकर्ता निराश हुनु पर्दैन ।

यो पनि पढ्नुहोस ‘गाउँमा जनता उत्सव मनाउँदै थिए, काठमाडौंमा रुवाबासी चलेछ’ यो पनि पढ्नुहोस बास्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने – सरकारलाई बद्नाम गर्ने प्रयास भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment