+
+

बास्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने – सरकारलाई बद्नाम गर्ने प्रयास भयो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते २०:५८

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोलेका छन् र झुटो आरोप भन्दै निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले भने अडियो सार्वजनिक गर्ने व्यक्ति (विजय मिश्र) फटाहा भएको पुष्टि भइसकेको बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने, ‘कुनै अनाडी मान्छेले अनाधिकृत ढंगले एउटा टेप ल्याउँछ । प्रमाणित छैन, केही छैन । तर पनि मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बास्कोटाले राजीनामा गर्नुभयो । हामीले राजीनामा स्वीकृत गर्‍यौं ।’

(कांग्रेसतर्फ संकेत गर्दै) अरुका नेतालाई मुद्दा लाग्दा सदन अवरुद्ध गर्ने गरेको तर नेकपामा झुटो मुद्दा लगायो भने क्या मजा भयो भन्ने गरेको भन्दै असन्तुष्टि जनाए ।बास्कोटा स्वयंले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले सुनाए । स्वीस कम्पनी र सरकारले पनि अडियो सार्वजनिक गर्ने व्यक्ति आफ्नो प्रतिनिधि नभएको प्रष्ट पारिसकेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो नाममा बात लागेको हुनाले राजीनामा गरेकोसम्म हो । अनि भ्रष्टाचार गरेको प्रमाणित झै गरेर … त्यसमा कस्सिनुपर्ने केही पनि छैन ।’

कसैले घुस खायो, २० करोड माग्यो भनेर आएको भन्दै उनले सत्य हो होइन हेर्नुपर्ने बताए । ‘यदि हो भने सजायको भागी हुन्छ । होइन भने त्यसको खण्डन दृढताका साथ गरिन्छ । पार्टी र सरकारलाई बद्नाम गर्न, नेताहरुको चरित्र हत्या गर्न संगठित प्रयास भइरहेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा अनाडी मान्छेले अनाधिकृत मान्छेले रेकर्ड गरेर मैले रेकर्ड गरेको छु भन्छ भने के हो त्यो ? कसले लगायो वा केका लागि ? अतिरिक्त खोजेको होइन भने केका लागि गरेको ?’

उनले अघि भने, ‘त्योसँग त डिल नै भएको छैन । फ्रेन्च र जर्मन कम्पनीको प्रतिस्पर्धामा दुईटा सरकारहरुको डिल भएको छ, कुरा भएको छ । अनि अर्को स्वीस कम्पनीको एजेन्टसँगको वार्ता कहाँ भयो, जोसँग खरिदको प्रसंग नै छैन ।’

आफूले बास्कोटाको बचाउ गर्न नखोजेको तर यस्ता कुराको पछाडि के छ हेर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘आन्दोलनलाई बद्नाम गर्ने षड्यन्त्र हो कि केही सत्यता छ ? त्यो हामीले हेर्नुपर्छ’ उनले भने, ‘सत्यता छ भने कारबाही हुन्छ । सत्यता छैन भने झुटो बोल्नेलाई सजाय हुन्छ ।’

उनले सरकार भ्रष्ट हुन्छ भन्ने चिन्ता नगर्न आग्रह गरे । सरकारले सुशासन र स्वच्छताको पक्षमा काम गरिहेको भन्दै ओलीले भने, ‘मैले भनेको छु, भ्रष्टाचार भेटियो भने देखियो भने अनुहार नहेरी कारबाही गर्छु, ऐया आत्था कसैले नगर्नुहोला । हामी सुशासनको पक्षमा छौं ।’

प्रधानमन्त्री ओलीले आफ्नो नाममा समेत उजुरी परेको सुनेको भन्दै भने, ‘मेरो नाउमा उजुरी हालेको छ भने त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो भन्ने स्वतः सिद्द हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?