Comments Add Comment

कोरोना प्रभावित कोरियामा के–के हुँदैछ ?

१६ फागुन, दक्षिण कोरिया । चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ कोरोना भाइरस यतिबेला दक्षिण कोरियाका विभिन्न शहरमा पुगेको छ । कोरिया रोग नियन्त्रण विभागका अनुसार जनवरी २० मा चीनको वुहानबाट फर्किएका ५५ वर्षीय कोरियन नागरिकलाई पहिलो पटक यो भाइरस देखा परेको पुष्टि भएको थियो ।

फेब्रुअरी २८ साँझको ५ बजेसम्म १३ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेमध्ये एक जना मंगोलियन नागरिकसमेत रहेको कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।

अहिलेसम्म २ हजार ३३७ जना कोरोना भाइरस संक्रमितको संख्या पुगेको छ । २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारमा रहनेको संख्या २४ हजार ७५१ पुगेको छ ।

संक्रमित मध्ये ८० प्रतिशत नागरिक थेगु शहरका छन् । थेगु शहरस्थित शिन्छेङ्गी चर्चमा प्राथनाका लागि पुगेकी एकजना संक्रमित महिला त्यस चर्चमा ३ पटकसम्म पुगेको र उनैबाट संक्रमितको संख्या बढेको कोरियाली सञ्चार माध्यमले बताएका छन् ।

सोधपुछपछि चर्चसँगै ती संक्रमित महिला अन्य १६६ जनासँग सम्पर्कमा पुगिसकेकी हुनाले सरकारले ती महिलासहित सबैलाई अहिले निगरानीमा राखी चेकजाँच शुरु गरेको छ ।

ती संक्रमित महिला पुगेको एक अस्पतालका कर्मचारीलाई समेत सो समयमा संक्रमण देखिएको कोरियाली रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

कोरोनाको प्रभावका कारण अहिले बस, ट्रेन लगभग रित्तो अवस्थामा पुगेका छन् । कोरिया सरकारले सूचना नै जारी गरी केही दिन घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

कोरोनाको केन्द्रबिन्दु थेगु शहरका करिब २५ लाख नागरिकहरुमा यसको प्रत्यक्ष प्रभाव परेको छ । त्यस क्षेत्रका पसल र मार्टहरु प्रायः खालीजस्तै रहेको लगभग एक हप्ता हुन लागिसकेको छ ।

कोरियामा अहिले माक्सको प्रयोग अनिवार्य गरिएको छ । दैनिक उपभोग्य खाद्य सामाग्री तथा माक्सका लागि धेरै समय लामो लाइन बस्नुपरेको अवस्था देखिएको छ । सानातिना सामानहरुको खरीदका लागि पनि मानिसहरु अनलाइन सपिङ गर्न बाध्य छन् ।

कोरोनाका कारण अर्थतन्त्रमा प्रत्यक्ष असर देखिन थालेको छ । करीब ५० हजार नेपाली रहेको कोरियामा नेपाली कामदारहरुमा कोरोनाको संक्रमण नदेखिए पनि यसको अप्रत्यक्ष असर भने परिरहेको छ । कोरियाका केही कम्पनीहरु बन्द नै भैसकेका छन् । केही कम्पनीहरु आधा दिनसम्म खुल्छन् भने केही कम्पनी बन्द हुने अवस्थामा रहेका छन् । यसले नेपालीहरुको रोजगारीमा असर पार्ने देखिएको छ ।

कोरिया सरकारले कोरोनाको नियन्त्रणका लागि सुरुका दिनदेखि नै उच्च सतर्कता अपनाइरहेको छ ।

–बबिता ओली (क्षेत्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment