१६ फागुन, काठमाडौं । सिधा भन्ने हो भने नेपालले टी २० क्रिकेटमा मलेसियासंग अहिलेसम्म एक पटक मात्र हार ब्यहोरेको छ, त्यो पनि एक दशकअघि । यी दुई टोलीबीच टी२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त तीन खेल मात्र हुँदा नेपालले तीनवटै खेल जितेको छ ।
विगत हेर्दा मलेसिया नेपालको लागि खासै ठूलो प्रतिद्वन्द्वी देखिँदैन । त्यसैले मलेसियाविरुद्ध नेपाले सधैँ जितकै अपेक्षा राखेको हुन्छ । त्यही मलेसियासंग शनिबार खेल्दै नेपालले एसिया कपको रोडम्यापको रुपमा रहेको एसीसी इस्टर्न रिजन टी २० क्रिकेटको शुरुवात गर्नेछ ।
प्रतियोगिता थाइल्याण्डमा हुँदैछ । जसमा ५ टोलीले खेल्दैछन् । चीनबाट शुरु भएको कोरोना भाइरसको त्रासका कारण चीन, म्यानमार र भुटानले अन्तिम समयमा सहभागिता जनाएन । यद्यपि आयोजक थाइल्याण्डसहित सहभागी ५ वटै देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैले यस प्रतियोगितामा नेपालले विशेष सतर्कता अपनाउनुपर्नेछ । एसीसीले पनि स्वास्थ्यकर्मीसंग विभिन्न छलफलपछि मात्र यो प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
थाइल्याण्ड जानुअघि नेपालले काठमाडौंमा १० दिनको तयारी गरेको थियो । विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिका सम्मिलित ट्राई सिरिज खेलेको नेपालले थोरै समय तयारी गर्न पाएको हो । तर निरन्तर क्रिकेट खेलिरहेकोले टिम इस्टर्न रिजनका लागि तयार रहेको कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटाले थाइल्याण्ड जानुअघि बताएका थिए ।
५० ओभरको ट्राई सिरिज खेलेको टिममा चार खेलाडी परिवर्तन गर्दै ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम थाइल्याण्ड पुगिसकेको छ । यसपटक किशोर महतो नयाँ अनुहारको रुपमा छन् । भुवन कार्कीले कमब्याक गरेका छन् । यस्तै सन्दीप जोरा र पवन सर्राफ पनि टी २० टिममा फर्केका छन् । बाँकी १० खेलाडी भने ट्राई सिरिजमै खेलेका खेलाडी हुन् ।
उता मलेसियाले भने इस्टर्न रिजनअघि हङकङसंग ५ खेलको टी २० सिरिज खेलेको थियो । पाँच वटै खेल जित्दै मलेसियाले सिरिज क्लिन स्वीप गरेको थियो । त्यसैले पनि मलेसियाको मनोबल उच्च छ । यस्तै वेष्टर्न रिजनमा पनि कतारले ओमानलाई हराइसकेको उदाहरण छ । त्यस हारपछि ओमान समूह चरणबाटै बाहिरियो । त्यसैले नेपालले कुनै पनि टिमलाई कमजोर नआँक्ने कप्तान ज्ञानेन्द्रले बताएका छन् ।
नेपाल र मलेसियाबीच टी २० मान्यता प्राप्त यो चौथो खेल हुनेछ । गत वर्ष मलेसियामै भउको दुई खेलको टी २० सिरिज नेपालले क्लीनस्वीप गरेको थियो । यस्तै सिंगापुरमा भएको विश्वकप छनोटको एसिया फाइनलमा पनि नेपाल विजयी भएको थियो ।
त्यसअघि भएको तीन टी२० खेलमध्ये २ नेपालले जित्दा मलेसियाले एक खेल मात्र जितेको थियो । समग्रमा अहिलेसम्म नेपाल र मलेसियाबीच ७ खेल भएकोमा नेपालले ६ खेल जितेको छ ।
थाइल्याण्डमा पहिलो पटक पुरुषको टी२० मान्यता प्राप्त क्रिकेट हुन लागेको हो । नेपालल र मलेसियाबीच खेल शनिबार दिउँसो स्थानीय समयअनुसार साढे १ बजे शुरु हुनेछ । खेल बैंककस्थित टेर्डथाई क्रिकेट ग्राउण्डमा हुनेछ । शनिबारै घरेलुः टोली थाइल्याण्डले उदघाटन खेलमा सिंगापुरसंग खेल्नेछ ।
बिहीबार थाइल्याण्ड पुगेको नेपाली टोलीले शुक्रबार अभ्याससमेत गरेको छ ।
नेपाल भर्सेस मलेसिया हेड टु हेड
कुल खेल : ७
नेपाल विजयी : ६
मलेसिया विजयी : १
२००७ एसीसी टी२० कप
नेपाल २१ रनले विजयी
२००९ एसीसी टी२० कप
मलेसिया ६ विकेटले विजयी
२०१३ एसीसी टी२० कप
नेपाल १९ रनले विजयी
२०१८ आईसीसी विश्वकप टी२० एसिया रिजन क्वालिफायर बी
नेपाल ८ विकेटले विजयी
२०१९ नेपाल इन मलेसिया टी२० आई सिरिज
पहिलो खेलमा नेपाल ७ विकेटले विजयी
दोस्रो खेलमा नेपाल ६ रनले विजयी
२०१९ आईसीसी विश्वकप टी २० क्वालिफायर एसिया रिजन फाइनल
नेपाल ७ विकेटले विजयी
प्रतिक्रिया 4