
१५ फागुन, काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ ।
मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि ५ रुपैयाँ लिने गरिएको थियो ।
सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए । र, अहिलेसम्म ४१ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको छ ।
मूल्य बढ्दैन : आयल निगम
सरकारले पूर्वाधार विकास कर बढाए पनि तत्काल मूल्य नबढाइने नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार प्रतिलिटर ५ रुपैयाँका दरले कर लिँदा मासिक ७० देखि ८० करोडसम्म जम्मा हुन्थ्यो भने अब डेढ अर्ब रुपैयाँ संकलन हुने अनुमान छ ।
प्रतिक्रिया 4