Comments Add Comment

महिलालाई लाठी हानेको प्रकरण : इन्स्पेक्टर पौडेल इञ्चार्जबाट हटाइए

१८ फागुन, काठमाडौं । भिड नियन्त्रण गर्ने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो भाइरल बनेपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ ।

महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले पौडेललाई जावलाखेलमा तानिएको अनलाइनखबरलाई बताए ।

‘एसपी दुर्गा सिंह नेतृत्वको समितिले पनि छानविन गरिरहेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राईले भने, ‘अहिले भैंसेपाटीमा प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको छ ।’

नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामक महिलाबीच भएको विवादका क्रममा बिहीबार पौडेलले लाठी चार्ज गरेका थिए । साहका लागि न्याय माग्न भन्दै खत्री निवास पुगेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई उनले लाठी हानेका थिए ।

श्रेष्ठले बच्चा बोकेकी थिइन् । पौडेलले घरमा छिरेर हुलहुज्जत र तोडफोड गरेपछि सामान्य बल प्रयोग गर्नुपर्ने स्पष्टीकरण दिएका थिए ।

प्रकरणको छानविनका लागि गठित समितिले मंगलबारसम्ममा प्रतिवेदन तयार पार्नेछ । सोही आधारमा इन्स्पेक्टर पौडेलमाथि कारबाही गरिने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment