Comments Add Comment

नयाँ भारतीय राजदूत क्वात्रा : दोस्रो काठमाडौं यात्रा

को हुन् विनयमोहन क्वात्रा ?

१८ फागुन, काठमाडौं । भारतले मञ्जीव सिंह पुरीका ठाउँमा नयाँ राजदूत नियुक्त गरेर नेपाल पठाएको छ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आइतबार बिहान दिल्लीबाट काठमाडौं आइसकेका छन् ।

विगतमा प्रायः तेस्रो देशमा काम गरेका कूटनीतिज्ञहरुलाई नेपाल पठाउने गरिएकोमा पछिल्ला दिनमा भारतले अमेरिका, युरोप र संयुक्त राष्ट्र संघमा काम गरिसकेका कूटनीतिज्ञहरुलाई नेपाल पठाउन थालेको छ । पुरीपछि क्वात्राको नियुक्ति पनि त्यसैको निरन्तरता हो ।

निवर्तमान राजदूत पुरीजस्तै वर्तमान राजदूत क्वात्रा पनि पश्चिमी देशहरुमा काम गरिसकेको अनुभव लिएर नेपाल आएका छन् । अझ क्वात्राले दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा समेत रहेर काम गरिसकेका हुनाले उनी भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरका मात्रै नभई प्रधानमन्त्री नरेन्द्र मोदीका समेत विश्वासपात्र हुन् ।

यो पनि पढ्नुहोस नेपाल आए भारतीय राजदूत क्वात्रा

क्वात्रा नेपाल र चीनका बारेमा जानकार मानिन्छन् । किनभने यसअघि उनले काठमाडौं र बेइजिङमा रहेर काम गरिसकेका छन् । साथै उनले अमेरिका, संयुक्त राष्ट्र संघ र युरोपमा विभिन्न देशमा काम गरिसकेका छन् ।

को हुन् क्वात्रा ?

क्वात्रा भारतीय परराष्ट्र सेवामा ३२ वर्ष बिताएका अनुभवी कूटनीतिज्ञ हुन् । सन् १९८८ मा सेवा प्रवेश गरेसँगै उनी जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि भारतीय स्थायी नियोगमा तृतीय सचिव भए । केही वर्षमै द्वितीय सचिवका रूपमा उनको बढुवा भइसकेको थियो ।

पाँच वर्ष जेनेभा बस्दा क्वात्राले राष्ट्रसङ्घका विभिन्न निकायबारे गहिरिएर अध्ययन गर्न पाए । जेनेभामै रहेको ग्राजुएट स्कुल अफ इन्टरनेसनल स्टडिजमा एक डिप्लोमा कार्यक्रमको अध्ययन पनि गरे ।

सन् १९९३ पछिका दश वर्ष क्वात्रा भारतीय विदेश मन्त्रालयम राष्ट्रसङ्घीय मामिला हेरेर बसे । यसबीचमा छोटो समयका लागि दक्षिण अफ्रिका र उज्बेकिस्तानमा रहेका भारतीय दूतावासहरूमा खटाइए ।

क्वात्रासँग छिमेकी चीनमा समेत काम गरेको अनुभव छ । सन् २००३ मा क्वात्राले बेइजिङस्थित भारतीय दूतावासको उपप्रमुखका रूपमा जिम्मेवारी पाए ।

सन् २००६ देखि २०१० सम्म उनी काठमाडौँस्थित सार्क सचिवालयमा भारत सरकारको प्रतिनिधित्व गर्ने निर्देशकका रूपमा बसे । सार्कमा उनलाई व्यापार, अर्थतन्त्र तथा वित्त विभागको जिम्मा दिइएको थियो ।

सन् २०१० मा क्वात्रालाई संयुक्त राज्य अमेरिकाको वासिङ्टनस्थित भारतीय दूतावासमा वाणिज्य ‘मिनिस्टर’ का रूपमा पठाइयो । सन् २०१३ देखि १५ सम्म उनी पुनः दिल्लीस्थित मन्त्रालयमै बसे । उनलाई सुंयुक्त राज्य अमेरिका र क्यानाडा लगायत उत्तरी र दक्षिणी अमेरिकाका देशहरूसँगको सम्बन्ध हेर्ने प्रमुख जिम्मेवारी थियो । त्यसपछिका दुई वर्ष उनलाई परराष्ट्र मन्त्रालयबाट हटाएर प्रधानमन्त्री कार्यालयमा राखियो ।

सन् २०१७ अगस्टदेखि क्वात्रा फ्रान्सका लागि भारतीय राजदूतका रूपमा पेरिसमा थिए ।

क्वात्राले व्यवस्थापन प्रशासनमा स्नातकोत्तर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment