Comments Add Comment

विदेशको अनुभव : कोरोनाको असर बजारमा पर्न सक्छ

सरकारी अधिकारी भन्छन्– इन्धन र खाद्यान्न अभाव हुँदैन

१९ फागुन, काठमाडौं । काठमाडौंका सुरज महर्जन जर्मनीको स्टुटगार्ट सहरमा बस्छन् । मर्हजनले शनिबार बिहान टेलिभिजनमा जर्मनीमा पनि कोरोना भाईरस संक्रमण पुष्टि भएको समाचार हेरे । मर्हजनले सुनेको स्थानीय टेलिभिजनको समाचार अनुसार शनिबार बेलुकीसम्म जर्मनीमा ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आफू बसेकै देशमा कोरोना संक्रमण फैलिए पनि युरोप, त्यसमाथि सबैभन्दा शक्तिशाली र जनस्वास्थ्यमा उच्च महत्व दिने मुलुकमा कोरानाले पिरोल्ला भन्ने उनलाई लागेकै थिएन ।

‘तर शनिबार बेलुका किनमेलका लागि सुपर मार्केटमा पुगेपछि हामी अचम्भित भयौं’ महर्जनले भिडिओ च्याटमा भने ।

महर्जनका अनुसार जर्मनीमा कोरोना संक्रमण पुष्टि भएको ८ घण्टा नबित्दै जर्मनीका धेरै सुपर मार्केटहरुमा अत्वाश्याक खाद्यवस्तुको चरम अभाव सुरु भएको छ ।

‘दाल, चामल, पिठो, ट्वाइलेट पेपर, साबुन, मास्क, स्यानेटरीजन्य वस्तुहरु सुपरमार्केटमा पाइन छाडेका छन् । ट्वाइलेट पेपरसमेत ५ प्याकेट भन्दा बढी लैजान नपाउने जस्ता सूचना टाँसिएका छन् ।’ महर्जनले भने, ‘जर्मनीमै यस्तो होला भन्ने मैले पटक्कै सोचेको थिइनँ । तर, आम मानिस डराएको र जर्मनी जुनसुकै बेला लकडाउन हुने डरमा अत्यवश्यक वस्तु थुपार्न थाल्दा अभाव भएको छ ।’ उनले भने ।

जर्मन सरकारले फुटबल खेलसहित सबै ठूला कार्यक्रम र मेलाहरु स्थगनको घोषणा गरेको छ भने सेञ्जेनका सबै खुल्ला बोर्डमा कडाई थालिएको उनले बताए । ‘हामी ठीक छौं, अहिलेलाई आत्तिनुपर्ने अवस्था छैन,’ महर्जन भन्छन्, ‘तर, अब के हुन्छ भन्ने आशकांले मनमा डर पलाएको छ ।’

नेपालको जोखिम

विश्व स्वास्थ्य संगठनले शुक्रबार विशेष पत्रकार सम्मेलन गरेर नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको औंल्याएको छ । हालसम्म मुलुकभित्र कोरोना संक्रमण नभए पनि यदि संक्रमण फैलिने अवस्था रह्यो भने मानिसहरु पहिले त रोगबाट बच्न र दोस्रो जिविकोपार्जनका लागि अतिआवश्याक खाद्य पदार्थको जोहोमा निश्चितरुपमा लाग्ने छन् । जसले गर्दा अत्यवश्यक वस्तुको जोहो गर्न जर्मनीकै नक्कल नेपालमा पनि सुरु हुने सम्भावना छ ।

स्वदेशी उत्पादन तथा आयतीत वस्तुको बजार वितरण प्रणालीमा सरकारी उपस्थिति नरहेको फाइदा स्वार्थ समूहले उठाउन सक्ने जोखिम यहाँ पनि धेरै छ ।

कोरोना संक्रमणको चरणमा मानिसले धेरै खोजेका वस्तु

कोरोनाका कारण विश्वभरि नै सबैभन्दा धेरै खोजिएको वस्तु हो मास्क । यसका अतिरिक्त खाद्यान्न र सरसफाइजन्य सामाग्री पनि संक्रमित मुलुकहरुमा अभाव भइराखेको छ ।

नेपालमा कोरोना संक्रमण नहुँदै बजारमा मास्कको कालोबजारी सुरु भइसकेको छ । व्यवसायीहरुले मास्कको मूल्य बढाएका छन् । बजारमा मास्क पाइनै छाडेको छ ।

संक्रमण देखिन थालेको अवस्थामा मुख्य र ठूला शहरमा खाद्यान्न, तरकारी र इन्धन मानिसले जोहो गर्न थाल्नेछन् । ट्वाइलेट पेपर, साबुन, स्यानेटरीजन्य वस्तुहरु पनि जोहो गर्ने अवस्था आउन सक्छ । जसले उपभोक्तालाई कृत्रिम अभाव झेल्न बाध्य बनाउन सक्छ ।

इन्धनको अवस्था

यदि कोरोनाका कारण मुलुक लकडाउन गर्नुपर्ने अवस्था आयो भने नेपाल–भारत व्यापार रोकिन सक्छ । अन्यथा, भारतले नरोकेसम्म इन्धन अभाव हुनै नसक्ने नेपाल आयल निगमले जनाएको छ ।

बिजुलीको बढ्दो उत्पादन र प्रयोगसँगै अघिल्लो वर्षको तुलनामा ग्यास, डिजेल, पेट्रोल, मट्टीतेल जस्ता इन्धनको खपत वृद्धि रोकिएको निगमले जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोईतका अनुसार हालकै अवस्थामा मासिक ५० हजार किलोलिटर पेट्रोल, १ लाख ५० देखि ६० किलोलिटर डिजेल, २ हजार किलोलिटर मट्टीतेल, १८ देखि २० हजार किलोलिटर हवाई इन्धन र ४० देखि ४५ हजार मेक्ट्रिक्टन एलपीजी ग्यास देशभर खपत भइरहेको छ ।

निगमको हालको भण्डारण क्षमता अनुसार पेट्रोल ५ पाँचदेखि ६ दिन, १० दिन डिजेल, ७/८ दिनलाई मात्रै एलपीजीले धान्न सक्छ । भारतबाट आयात नरोकिँदासम्म वितरण प्रणाली र बिक्रेताका कारण इन्धन अभावको समस्या नआउने निगमले स्पष्ट पारेको छ ।

इन्धन जोहो नर्गन पनि निगमले सबैलाई आग्रह गरेको छ ।

‘खाद्यान्न अभाव हुन्न’

दैनिक उपभोग्य खाद्य वस्तुको बिक्री वितरण गर्ने नेपाल खुद्रा व्यापार संघले बजारमा प्रशस्त खाद्यन्न उपलब्ध रहेको जनाएको छ । संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार दाल, चामल तेल, नुन, गेडागुडी, चिनी, मैदा, पीठो जस्ता खाद्य पदार्थ बजारमा अहिले पनि ५ महिनाका लागि प्रशस्त मात्रामा पुग्ने अवस्थामा छ ।

चामल, दाल, गेडागुडी जस्ता वस्तुको नयाँ उत्पादन बजारमा आएका कारण पहिले भन्दा खाद्य वस्तुको मूल्य घटेको अध्यक्ष श्रेष्ठले बताए ।

मुख्य ५० खाद्यान्नको बजार खुद्रा मूल्य संघले तोकेको अनुसार हुने भन्दै उनले खुद्रा व्यापारीले वस्तु लुकाउँछ, बजारमा अभाव हुन्छ भन्ने त्रासमा नपर्न उनले आग्रह गरे । ‘हामी कालोबजारी गर्दैनौं, वस्तु लुकाउँदैनौँ, उपभोक्ताले पनि खाद्यन्न जोहो गरेर थुपार्ने काम नर्गनुस्’ अध्यक्ष श्रेष्ठले भने ।

बजार अनुगमन तीव्र

कोरोना सन्त्रासकै कारण बजारमा मास्क अभाव देखिएपछि बजार अनुगमनलाई तिब्र पारिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दावी गरेको छ । ‘मास्क अभावलाई आधार बनाएर अनुगमन गर्दै कारवाही गरेका छौं, हामी बजार सन्तुलित राख्न लागेका छौं ।’ विभागका महानिर्देशक नेत्रप्राद सुवेदीले भने ।

बजारमा स्यानेटाइजरहरु लुकाइएको भन्ने पनि उजुरी परेको छ, त्यतातर्फ पनि अनुगमन हुन्छ, महानिर्देशक सुवेदीले भने । कोरोनाका कारण खाद्यान्नमा पर्ने असरवारे औपचारिक छलफल र योजना भने तयार नभएको उनले बताए ।

बजारमा गैरव्यवसायीक हर्कत देखिए राज्यले सबै संयन्त्र प्रयोग गरेर भए पनि उपभोक्तालाई बचाउने भन्दै उनले त्रासमा नपर्न आग्रह गरे ।

दुःखको बजारमा कसरी जोगिने

उपभोक्ता अधिकारकर्मीहरुका अनुसार गर्मीको लत्ता कपडा, मास्क र स्यानीटाइजरमा कालोबजारी सुरु भइसकेको छ । बजारमा गैरकानुनी हर्कत गर्नेलाई अनुगमन गरेर कारवाही गर्ने मामलामा राज्य कमजोर भएको उपभोक्ता अधिकारकर्मी ज्योती वानिया बताउँछन् ।

बजारमा तत्काल देखिएको समस्यामा नियमन र दण्ड भएन भने अन्य कुरामा पनि असर देखिन जाने उनी बताउँछन् । ‘सरकार तात्ने बेला अहिल्यै हो, तयारी पुगेन, उपभोक्ता पनि सचेत बनौं,’ बानियाँले भने ।

सरकारले खाद्यान्नसहित सबै अत्यावश्यक वस्तुको वितरण प्रणाली र वितरकसँग छलफल गरेर मौज्दात र वितरण सहजताबारे छलफल गर्नुपर्ने अर्का अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

कृषि, उद्योग वाणिज्य, स्वास्थ्य मन्त्रालय र यसका विभिन्न विभागहरु सक्रिय भएर काम थाल्नुपर्‍याे, नत्र समस्या आउँछ, उनी भन्छन् । उपभोक्ताले पनि चाहिएको भन्दै धेरै वस्तु थुपारेर नराख्न, फजुल खर्च नर्गन र सरकारले पनि अति आवश्यक वस्तुको उपलब्धता ग्यारेन्टी गरिदिनुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment