Comments Add Comment

इण्डोनेसियामा पनि देखियो कोरोना भाइरसको संक्रमण

१९ फागुन, काठमाडौं । इण्डोनेसियामा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

विश्वकै चौथो धेरै जनसंख्या भएको इण्डोनेसियामा दुई महिलामा कोरोना संक्रमण भेटिएको हो । ६४ वर्षकी महिला र उनकी ३१ वर्षकी छोरीको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुको जाकार्ता अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु मलेसियामा कोरोनाबाट संक्रमित भएका जापानी नागरिकको सम्पर्कमा पुगेका थिए ।

इण्डोनेसियाका स्वास्थ्यमन्त्रीका अनुसार मलेसियामा बस्दै आएका जापानी नागरिक दुई महिलाको पारिवारिक मित्र थिए र उनीहरुको घरमा गएका थिए । ती जापानी नागरिकको सम्पर्कमा पुगेकाहरुको स्वास्थ्य जाँच भइरहेको उनले बताए ।

मृतकको संख्या तीन हजार नाघ्यो

कोरोना संक्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या तीन हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरानो संक्रमणका कारण तीन हजार ४८ जनाको मृत्यु भएको छ । उनीहरु मध्ये दुई हजार ९१२ चीनमा मात्र छन् । इरानमा ५४, इटलीमा ३४ र दक्षिण कोरियामा २६ जनाको मृत्यु भएको छ ।

जापान र डाइमण्ड प्रिन्सेस (पानी जहाज) मा ६/६, फ्रान्स, हङकङ र अमेरिकाका २–२ तथा थाइल्याण्ड, ताइवान, अष्ट्रेलिया र फिलिपिन्समा एक जनाको मृत्यु भएको छ ।

चीनमा ८० हजार बढी संक्रमित भएका छन् भने कोरियामा ४२ सय १२, इटलीमा १६ सय ९४, इरानमा ९७८, डाइमण्ड प्रिन्सेसमा ७०५, जापानमा २५६, फ्रान्समा १३०, जर्मनीमा १२९ र सिंगापुरमा १०६ जना संक्रमित भएका छन् । यस्तै १९ देशमा कोरोना संक्रमितको संख्या दोहोरो अंकमा पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment