Comments Add Comment

छुटेको सामान प्रहरीलाई बुझाउने २१ जना ट्याक्सीचालक सम्मानित

१९ फागुन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले असल ट्याक्सी चालकहरुलाई सम्मान गरेको छ ।

महाशाखाले ट्याक्सीमा छुटेको नगद, गरगहना र महत्वपूर्ण सामानहरु आफै आई महाशाखामा बुझाउने ट्याक्सी चालकहरुलाई सोमबार एक कार्यक्रम गरी सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ भित्र विभिन्न समयमा यात्रुले ट्याक्सीमा छोडेको सामान बझाउन ल्याउने २१ जना चालकलाई सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले बताए ।

उनले यात्रुहरुले भुलेर ट्याक्सीमा कुनै सामान छुटेको र ट्याक्सी चालकहरुले आफै प्रहरीमा बुझाई मानवीय सहयोग गरेकाले सम्मान गरिएको जानकारी दिए ।

आफ्नो ट्याक्सीमा छुटेका सामान इमान्दार भएर फिर्ता गर्दा ट्राफिक प्रहरीले सम्मान गरेकोमा आफुहरुलाई अझ बढी जिम्मेवार बनाएको ट्याक्सी चालकहरुले बताएका छन् ।

ट्याक्सी चालक रिधबहादुर थापाले ट्राफिक प्रहरीबाट असल ट्याक्सी चालकको रुपमा सम्मानित हुन पाउँदा थप हौसला मिलेको बताए ।

ट्याक्सी चालक रोएत बहादुर रोक्काले आफ्नो ट्याक्सीमा छुटेको समान प्रहरीमा बुझाउँदा सम्मानित हुनु खुसीको कुरा भएको बताए । उहाँले ट्याक्सीको पछाडि समान छुटने तर आफुहरुले थाहा नपाउँदै अर्को प्यासेन्जरले सामान लगेको अवस्थामा उजुरी पर्दा आफूहरुलाई समस्यामा पर्ने गरेको पनि बताए ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको फागुन १६ गतेभित्र ट्याक्सीमा छुटेको सामान आफैले प्रहरीमा बुझाएका २१ जना ट्याक्सी चालकहरुलाई सम्मान गरेको हो । त्यस्तै यो अवधिमा ट्याक्सीमा सामान छुटेर आवेदन दिनेको संख्या ३ सय ९५ जना रहेको र त्यस मध्ये २ सय ८० जनाको १ करोड ४८ लाख ६० हजार ३ सय ६५ रुपैयाँ बराबरको सामान फेला परेको छ ।

त्यस्तै ६३ जनाको निवेदन अनुसार सवारी साधन फेला परे पनि सामान पाउन नसकिएको र ५२ जनाको सवारी नम्बर समेत फेला नपरेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment