Comments Add Comment

कोरिया, मलेसिया र खाडीमा कोरोना भित्रिँदा नेपालमा चिन्ता

वैदेशिक रोजगार विज्ञ भन्छन्– फर्किन चाहनेलाई ल्याउनैपर्छ

१९ फागुन, काठमाडौं । चीनले नियन्त्रणमा आउँदै गरेको दाबी गरेको कोरोना भाइरसको संक्रमण कोरियादेखि यूरोपसम्म पुगेको छ । नेपाली युवाको प्रमुख श्रम गन्तव्य मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि नेपालीहरुमा चिन्ता बढेको छ ।

शनिबार कतारमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भयो । यसअघि मलेसियासहित मध्यपूर्वी एसियाली देश यूएई, कुवेत, लेबनान, ओमान र बहराइनमा कोरोना भाइरसका संक्रमितहरु भेटिइसकेका छन् ।

चीन, जापान र कोरियापछि नेपाली कामदार बाहुल्य देशहरुमा कोरोना भाइरस देखिने र संक्रमण फैलिने क्रम तीव्र भएको छ । मध्यपूर्वी देश इरान र युरोपियन मुलुक इटाली पनि कोरोनाबाट प्रभावित बनेका छन् ।

करिब ४० लाख नेपाली विभिन्न मुलुकमा श्रम गरिरहेका छन् । कोरोनाले वैदेशिक रोजगार गन्तव्य मुलुकहरु प्रभावित हुने भएपछि त्यहाँ रहेका नेपालीहरुले अप्ठेरो अवस्था सामना गर्नुपर्ने चिन्ता बढेको छ ।

चीनबाट १७५ जना विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राख्न सकस भोगेको नेपाल सरकारलाई खाडी मुलुकबाट कामदार ल्याउन र प्रक्रिया पूरा गर्न परेमा फलामको चिउरा चपाउनुसरह हुनेछ

अहिलेसम्म दक्षिण कोरियामा ३ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको छ । १८ जनाको मृत्यु भइसकेको छ । यो मुलुकमा ४४ हजारभन्दा बढी नेपालीहरु कार्यरत छन् । यद्यपि अहिलेसम्म नेपालीहरुमा कोरोना संक्रमण भएको छैन ।

खाडी मुलुक इरानमा ५९३ जनामा संक्रमण हुँदा ४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा १ हजार १२८ जना संक्रमित भेटिएका छन् भने २९ जनाको मृत्यु भएको छ । जापानमा २४५ जनामा संक्रमण भेटिएको छ र ५ जनाको मृत्यु भएको छ ।

सिंगापुरमा १०२, फ्रान्समा १००, हङकङमा ९५, अमेरिकामा ६२, स्पेनमा ४६, कुवेतमा ४५, थाइल्यान्डमा ४२, बहराइनमा ३८, मलेसियामा २५, अष्ट्रेलियामा २४, बेलायतमा २३, यूएईमा १९, क्यानडामा १४, इराकमा १३, मकाउमा १०, लेबनानमा ७, नर्वे तथा ओमानमा ६/६, इजरायलमा ५, भारतमा ३ र कतारमा १ जनामा कोरोना संक्रमण भेटिएको छ । यी देशहरु नेपाली कामदार तथा विद्यार्थीहरु रहेका मुलुक हुन् ।

न सावधानी, न तयारी

नेपाली कामदारको बर्चस्व रहेको मध्यपूर्वी एसियालाई विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिम रहेको राष्ट्रका रुपमा सूचीकृत गरेको छ । आफैं पनि यो सूचीमा रहेको नेपालले भविश्यमा मलेसियासहितका खाडी देशमा कोरोनाका कारण आइपर्नसक्ने गम्भीर जोखिमलाई ध्यानमा राखेर अहिलेसम्म कुनै तयारी थालेको छैन ।

कोरियाबाहेकका श्रम गन्तव्य मुलुकमा जाने कामदार रोकिएका त छैनन् नै, त्यहाँबाट आएका कामदारको भरपर्दो स्वास्थ्य परीक्षण संयन्त्र बनाइएको छैन । भविश्यमा चीनमाजस्तै संकट आइलागे कामदारलाई उद्धार गर्ने वा नेपालीको जीवन रक्षाका लागि त्यहाँको सरकारसँग उचित सहकार्य गर्नेबारे कूटनीतिक पहल र वार्ता पनि थालिएको छैन ।

अहिले कोरोना पुष्टि भएपछि श्रम गन्तव्य देशका नेपाली दूतावासले सचेत रहन भन्दै नेपालीहरुका लागि वेबसाइटहरुमा सामान्य सूचना मात्रै जारी गरिरहेका छन् । त्योभन्दा बाहेक अरु सचेतना र सावधानीका लागि प्रभावकारी पहलकदमी उठाइएको छैन । सूचनाको अभावले कामदारहरुमा त्रास उत्पन्न गराइरहेको छ ।

कोरियाली सरकारले परराष्ट्र मन्त्रालयलाई पत्र नै लेखेर नेपाली कामदारको जीवनरक्षाका लागि आफू प्रतिवद्ध भएको बताएको छ । तर, त्यसबाहेकका श्रम गन्तव्य मुलुकले यसबारे सरकारलाई अहिलेसम्म केही भनेको छैन ।

खाडीका मुलुकहरु स्वास्थ्य सतर्कता अपनाउन स्रोत, दक्षता र प्रविधिका हिसावले चीन, कोरिया र जापानजति बलिया छैनन् । यसले गर्दा पनि त्यहाँ कार्यरत नेपालीमा कोरोना संक्रमण देखिए नेपाल जतिसुकै बेला गम्भीर समस्यामा पर्न सक्ने जोखिम रहेको विज्ञहरुको चिन्ता छ ।

चीनबाट १७५ जना विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राख्न सकस भोगेको नेपाल सरकारलाई खाडी मुलुकबाट कामदार ल्याउन र प्रक्रिया पूरा गर्न परेमा फलामको चिउरा चपाउनुसरह हुनेछ ।

संसदीय समिति खाडी गएन

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ नेपाली कामदारको जीवनरक्षामा त्यहाँको सरकारभन्दा बढी नेपाल सरकार नै जिम्मेवार बन्नुपर्ने बताउँछन् । त्रिभुवन विमानस्थलमा रहेको सामान्यखालको स्क्रिनिङ मेसिनले जोखिम टार्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

मध्यपूर्वी एसियामा उत्पन्न कोरोना त्रासका कारण संसदको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता समितिले खाडी देशको भ्रमण स्थगित गरेको छ । त्यहाँ कार्यरत कामदारको अवस्था बुझ्न जाने भन्दै व्यवसायीसँग टोली विदेश जान लागेको थियो । समितिमा सभापति विमल श्रीवास्तवको नेतृत्वमा व्यवसायी सम्मिलित संसदीय टोली खाडी देशहरुमा जान लाग्दा त्यहाँ कोरोना संक्रमणको उच्च जोखिम रहेको सूचना पाएपछि स्थगित गरिएको हो ।

इरानमा संक्रमण फैलिएर संकटको जोखिम देखेपछि साउदी अरेबियाले पर्यटक भिसा रोकेको थियो । त्यसपछि संसदीय समितिको भ्रमण स्थगित भएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

सूचनामात्रै टाँसेर बसे दूतावास

सरकारसँग मलेसियासहित खाडी मुलुकमा कति नेपाली कार्यरत छन् भन्ने कुनै तथ्यांक छैन । करिब ४० लाख नेपाली कामदार ती देशमा रहेको अनुमान छ ।

वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित संकट निम्तिन सक्ने हालको अवस्थामा दूतावासहरुबाट नेपाली कामदारलाई लक्षित गरी पर्याप्त सूचना र सन्देश जारी हुन नसकेको बताउँछन् । त्यहाँ जतिबेला पनि संकट आउन सक्ने अवस्था रहेको भन्दै उनले, दूतावास सक्रिय भएर त्यहाँ रहेका नेपालीलाई ‘मेरो सरकार छ’ भन्ने अनुभूति दिलाउनुपर्ने बताए ।

‘दूतावासको फोन नै नउठ्ने गरेको गुनासो अहिले पनि उत्तिकै छ, अब दूतावासहरुले पुरानो तरिकाबाट काम गरेर हुन्न,’ उनले भने, ‘कामदारसँग परामर्श गर्ने, स्थितिको विश्लेषण गर्ने र कामदारलाई सचेत बनाउने काम लगातार गरिरहनुपर्छ ।’

दूतावासहरुबाट सरकारलाई त्यहाँको अवस्थाबारे नियमित रिपोर्ट आउनुपर्ने र त्यसका आधारमा सरकारले यहाँ योजना बनाउने गरी प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने विज्ञको सुझाव छ ।

‘फर्किन चाहे ल्याउनैपर्छ’

भविश्यमा चीनमा जस्तै संकट आए विमान पठाएर नेपाली कामदार उद्धार गरेर ल्याउन सक्ने गरी तयारी गर्नुपर्ने बताउँछन् विज्ञ गणेश गुरुङ । नागरिकको सुरक्षित रहने अधिकारलाई राज्यले संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

‘कामना गरौं कि त्यस्तो अवस्था नआओस्, तर कुनै भयावह अवस्था आयो भने सरकारले के–के गर्ने भनेर प्लान ए, बी, सी बनाउनुपर्छ,’ उनी भन्छन्, ‘त्यहाँको सरकारले यदि विदेशी नागरिकको स्वास्थ्य सुरक्षामा लापरवाही गर्‍याे भने हामी चुप लागेर बस्ने अवस्था आउनुहुँदैन ।’

आर्का विज्ञ पण्डित पनि त्यहाँका नेपालीहरुलाई स्वदेश ल्याउने अवस्था अहिले नै नभए पनि स्वस्थ नेपालीले फर्किन चाह्यो भने राज्य त्यहाँ जसरी पनि पुग्नुपर्ने बताउँछन् । जोखिममा रहेको महसुस भएका नेपालीले फर्किन चाहँदा राज्यले ऋण नै गरेर भए पनि विमान पठाउनुपर्ने र प्रक्रिया पूरा गरेर भित्र्याउनुपर्ने उनको भनाइ छ ।

‘रेमिट्यान्समार्फत राज्यलाई ठूलो योगदान गरिरहेकाहरु संकटको भुमरीमा परे भने राज्यले मुख मोडेर बस्न मिल्दैन,’ उनी भन्छन्, ‘अहिलेसम्म सरकार पर्ख र हेरको अवस्थामा भए पनि भविश्यको पूर्वतयारीमा पनि लाग्नुपर्छ ।’

वैदेशिक रोजगार व्यवसायीहरु भने यस्तो अवस्थामा त्यहाँको सरकारलाई कामदारको बसोबास, सुरक्षा, खानपान र रेखदेखमा जिम्मेवार बन्न पहल गर्नुपर्ने बताउँछन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले सबै कुरामा त्यहाँको सरकार र रोजगारदाताको भर पर्न नसकिने भन्दै चाहेको बेला आफ्ना नागरिक फिर्ता ल्याउन सक्ने क्षमता बनाउनतिर सरकार लाग्नुपर्नेे बताए ।

के गर्दैछ सरकार ?

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल स्थिति संवेदनशील रहेको स्वीकार्छन् । उनले अहिलेसम्म कुनै पनि कामदारले कोरोनाकै कारण आफू असुरक्षित भएको जानकारी दिएर सहयोग नमागेको बताए ।

उनले यो समय आत्तिएर भन्दा पनि धैर्यतापूर्वक त्यहाँका सरकार र नेपाली दूतावासले जारी गरेको सूचनालाई पछ्याउन र सुरक्षित रहने उपाय अवलम्वन गर्न कामदारहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment