Comments Add Comment

प्रियंका-आयुष्मानको बिहे भारतीय संस्कारमा ?

पहिलो वैवाहिक सम्वन्ध तोडिएको ८ वर्षपछि नायिका प्रियंका कार्कीले धुमधामसँग दोस्रो विवाह गरिन् । नायक आयुष्मान देशराज जोशीसँग उनले शुक्रबार बूढानीलकण्ठस्थित पार्क भिलेज रेस्टुरेन्टमा लगनगाँठो कसेकी थिइन् । २७ वर्षीय आयुष्मानको चाहिँ यो पहिलो विवाह हो ।

प्रियंका र आयुष्मानको प्रेम सम्वन्ध धेरै कारणले पहिल्यैदेखि चर्चा एवं गसिपको विषय बनिरहेको थियो । बैंकर रविना देशराजका छोरा आयुष्मान प्रियंकाभन्दा ६ वर्ष कान्छा हुन् । एउटा अवार्ड समारोहमा खुल्लमखुल्ला चुम्माचाटी गरेपछि यो जोडीको प्रेम मिडियामा छताछुल्ल पोखिएको थियो ।

त्यसयता पनि उनीहरुले आफ्नो प्रेमलाई विभिन्न ढंगमा सार्वजनिक प्रदर्शन गरेर मिडियालाई गसिपको टपिक दिइरहे । प्रियंकालाई एकपटक उनको जन्मदिनमा आयुष्मानले टाँगामा राखेर शहर परिक्रमा पनि गराएका थिए । सामाजिक सञ्जालमा उनीहरुका अन्तरंग तस्वीरहरु लगातार आइरहे । फिल्म करिअर ओरालो लाग्दै गए पनि प्रियंकालाई यही लभ अफेयरले गसिपमा टिकायो ।

यो सम्वन्धबाट आयुष्मानलाई पनि फाइदै भयो । उनको फिल्म करिअर वामे सर्ने अवस्थामै थियो । तीन-चारवटा फिल्ममा अभिनय गरे पनि कुनै चर्चा कमाउन सकेका थिएनन् । प्रियंकासँग नाम जोडिएपछि उनले पनि मिडियामा स्थान पाउन थाले । प्रियंकाको सिफारिसमा केही म्युजिक भिडियोहरुमा खेल्ने पनि अवसर पाए । तथापि उनको फिल्म करिअरले भने कुनै गति लिएको छैन र लिने संकेत पनि छैन ।

सामाजिक सञ्जालमा चाहिँ यो जोडीलाई लिएर अनेक ट्रोल बन्दै आएका छन् । आयुष्मानलाई ‘चुसेको आप’को संज्ञा दिनेदेखि प्रियंकाको अघिल्लो श्रीमानसँगको तस्वीर र अन्तरवार्ताहरु सेयर गरेर फ्यानहरुले उनीहरुलाई जिस्क्याइरहे । तर, जति जिस्क्याए पनि प्रियंका-आयुष्मानको शैली फेरिएन । बरु उनीहरु ट्रोलमै रमाए र फन्डाहरुको सिलसिला जारी राखे ।

बिहेको केही दिन अगाडि प्रियंका आफ्ना ५-६ जना साथीहरुलाई लिएर ‘ब्याचलर पार्टी’ गर्न थाइल्यान्ड पुगिन् । उनको यो ब्याचलर पार्टीलाई प्रायोजन गरेको थियो रक्सी कम्पनीले । यता, डिभोर्सी महिलाले उछृङ्खल तरिकाले ‘ब्याचलर’ पार्टी मनाएको भन्दै उनको थप ट्रोल भयो । प्रियंका आफैंले इन्स्टामा सार्वजनिक गरेका ब्याचलर पार्टीका उत्तेजक तस्वीर एवं भिडियोहरुले पनि ट्रोल गर्नेलाई खजाना प्राप्त भइरह्यो ।

आयुष्मान पनि के कम ? उनले प्रियंकाका केटी साथीहरुकै पोज र ड्रेसअपमा आफ्ना केटा साथीहरुसित फोटोसेसन गरेर सार्वजनिक गरिदिए । विवाहको अघिल्लो दिन कोर्ट म्यारिज गर्नु पनि यो जोडीको ‘एटेन्सन सिकिङ’ कै प्रतिबिम्ब थियो ।

जे होस्, यी सबै सिलसिलाहरुको पटाक्षेप गर्दै प्रियंका र आयुष्मान श्रीमान-श्रीमती बनिसकेका छन् । पहिलो वैवाहिक सम्वन्ध दुई वर्षको अल्पायूमै टुक्रिए पनि प्रियंकाको दोस्रो दाम्पत्य जीवन लामो समय टिकोस् भनेर धेरैले शुभकामना दिइरहेका छन् ।

भारतीय संस्कारको मोह

प्रियंकाले २२ वर्षको उमेरमा रोचक मैनालीसँग प्रेम विवाह गरेकी थिइन् । त्यतिबेला सामान्य तरिकाले वैवाहिक जीवनमा बाँधिएकी उनले दोस्रो विवाहचाहिँ निकै धुमधामले गरेर धोको पूरा गरिन् । यो उनको निजी विषय भयो ।

तर, प्रियंकाको विवाहमा भारतीय पहिरन र संस्कार हावी हुनुले चाहिँ धेरैलाई आश्चर्यमा पारेको छ । विहेमा प्रियंका र आयुष्मान दुवै भारतीय पहिरन र श्रृंगारमा देखिएका थिए । प्रियंकाले बिहेमा लेहेंगा लगाएकी थिइन् । सेरवानी लगाएका आयुष्मानले टाउकोमा पगडीसमेत भिरेका थिए । आयुष्मानका भाइ आशिरमान देशराजले समेत भारतीय पहिरन लगाएका थिए ।

उनीहरुको वैवाहिक संस्कारचाहिँ खिचडी थियो । विवाहको दुई दिन अगाडि ‘मेहेन्दी समारोह’ प्रियंकाले भारतीय शैलीमा गरिन् । बिहेअघि मेहेन्दी लगाउने प्रचलन नै भारतीय हो, जुन पछिल्लो समयमा नेपालीहरुले शहरदेखि गाउँसम्म पछ्याइरहेका छन् । तर, मेहेन्दी लगाउने कार्यक्रममा दुलाहा पनि उपस्थित हुने प्रचलनचाहिँ नेपालमा भित्रिन भ्याएको थिएन । प्रियंकाले भित्र्याइन् । प्रियंकाको मेहेन्दी समारोहमा आयुष्मान पनि उपस्थित भए ।

त्यसैगरी, प्रियंकाले अर्को भारतीय संस्कार नक्कल गरिन्- म्युजिक सेरिमोनी । बिहेको केही दिन अगाडि संगीत समारोहका नाममा केटीको घरमा नाचगान गर्ने चलन भारतीय समाजमा छ, नेपालमा छैन ।

विवाहको संस्कारको कुरा गर्दा भारत र नेपालमा धेरै समानता पनि छन् । प्रियंकाको बिहेमा उपस्थित भएकी नायिका ऋचा शर्माले भारतीयसँगै नेपाली र नेवारी मिश्रित संस्कारमा बिहे भएको बताइन् ।

‘भारतीय पहिरनको विषयमा उहाँहरुलाई नै सोध्दा राम्रो हुन्छ, बिहेमाचाहिँ सबै कल्चर मिक्स्ड गरिएको थियो,’ उनले भनिन् ।

भारतीय संस्कृतिप्रति यो जोडीको मोहको कारण के हो त ?

प्रिय‌ंका दुई आमा छन् । उनीहरु दुवैको माइती भारतको पञ्जाबमा पर्छ । रमाइलो के भने प्रियंकाकी आफ्नी आमा र सौतेनी आमा नातामा दिदी-बहिनी पनि हुन् । प्रियंकाले भारतीय संस्कार रोज्नुमा मावली परिवारको प्रभाव हुन सक्छ । यता, आयुष्मानकी आमा रवीनाले लामो समय भारतमा बसेर पढेकी हुन् ।

बाबु भने दुवैका नेपाली नै हुन् । प्रियंका र आयुष्मानको विवाहमा आमाहरु हावी भएको हुनाले भारतीय संस्कार नक्कल गरिएको हुन सक्छ ।

यो विषयलाई व्यक्तिगत रुचि र चाहनाको कुरा ठानेर नजरअन्दाज गर्न पनि सकिन्थ्यो, यदि प्रियंका-आयुष्मान पब्लिक फिगर नभएका भए । उनीहरु त धेरैले चिनेका सेलिब्रिटी हुन् । सेलिब्रिटीले जे गर्छन्, त्यसलाई पछ्याउने धेरै हुन्छन् ।

नेपालमा केही समययता भारतीय संस्कृतिको अतिक्रमण बढ्दो छ । यस्तोमा नेपाली कला-संस्कृतिको प्रवर्द्धन गर्ने जिम्मेवारी बोकेका कलाकारहरु नै विदेशी संस्कृतिको पछि दगुरे भने अरुले के गर्लान् ? भोलि उनीहरु कुन मुखले ‘नेपाली कला-संस्कृतिलाई माया गरिदिनुस्’ भन्दै आफ्नो फिल्मको प्रचारमा हिँड्न सक्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment