+
+
Shares

बैतडीको पञ्चेश्वर कांग्रेसको निर्णय- पार्टी एकढिक्का नभएसम्म अधिवेशन गर्दैनौं

नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १५:५९

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको छ ।

कार्यसमितिको शनिबार बसेको बैठकले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको हो ।

‘नेपाली कांग्रेस पूर्णरूपमा एकढिक्का भएर नआएको खण्डमा कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय सर्वसम्मत पारित गरियो,’ बैठकले गरेको निर्णय पुस्तिकामा लेखिएको छ ।

पालिका सभापति रामबहादुर चन्दले कार्यसमिति बैठकबाट पार्टी एकढिक्का नभएसम्म कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय गरिएको प्रतिक्रिया दिए ।

उनले चार वडाका सभापतिहरू, स्थानीय तह निर्वाचन २०७९ र २०७४ मा पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका नेतासहितको बैठकले उक्त निर्णय गरेको पनि बताए ।

‘१ र २ नम्बर वडाको प्रतिनिधित्व थिएन । ३, ४, ५ र ६ का वडा सभापतिजीहरू हुनुहुन्थ्यो । दुई–चार जना अन्य क्रियाशील सदस्यहरू थिए,’ सभापति चन्दले भने, ‘०७९ र ०७४ का उम्मेदवार थिए । बैठकमा बोलाएको पति त्यत्ति हो । निर्णय सर्वसम्मत गर्‍यौं ।’

कांग्रेसको १५ औं महाधिवेशनका लागि संस्थापन र संस्थापन इतर समूहले छुट्टाछुट्टै कार्यतालिका ल्याएका छन् । संस्थापनले असोज ३ र ४ गते वडा अधिवेशन तोकेको छ ।

यस्तै, पूर्वसभापति शेरबहादुर देउवाको समूहले आगामी असोज १५ मा वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।

शुक्रबारमात्रै कांग्रेसका दुई दर्जन नेताहरूले अपिलमार्फत दुवै समूहलाई कार्यतालिका स्थगित गरेर एकताका लागि वार्ता गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?