Comments Add Comment
कांग्रेसको बदलिँदो शक्ति सन्तुलन :

‘तेस्रो धार’का कृष्ण सिटौला देउवातिर ढल्केकै हुन् ?

पौडेल समूह दबावमा, देउवाले मारे बाजी !

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ वटा विभागका प्रमुख तोक्दा १३ औं नम्बरमा काभ्रेका शिव हुमागाईको नाम अटायो । उनलाई श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, पाँचजना आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्दा झापाका सुधीरकुमार सिवाकोटीको पनि नाम अटाएको छ ।

हुमागाई र शिवाकोटी दुबै नेपाली कांग्रेसमा ‘तेस्रो धार’ बनाउन संघर्षरत पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहमा आवद्ध नेता हुन् । देउवाको यो निर्णयले सिटौला पार्टी सभापति देउवातिर नजिकिएको प्रष्ट भएको छ ।

कहिले यता, कहिले उता

लामो समय पार्टीको संस्थापन समूहमा रहेर काम गरेका सिटौला कांग्रेसको १३ औं महाधिवेशनमा सभापति लडेका थिए । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेललाई नेता मान्न सक्दिनँ भन्दै उनले उम्मेदवारी घोषणा गरेका थिए ।

महामन्त्रीमा गगन थापा र कोषध्यक्षमा उमाकान्त चौधरीलाई लिएर तेस्रो समूह बनाएका सिटौला सभापतिको चुनावमा पनि तेस्रो नै भए ।

त्यसयता सिटौला कहिले सभापति देउवासँग नजिक देखिए त कहिले वरिष्ठ नेता पौडेलसँग ।

निकतवर्तीहरुका अनुसार सिटौला समूहमा देउवाको पक्ष कि विपक्षमा उभिन्ने भन्ने बहस चल्दै आएको थियो । शिव हुमागाईँ, भीमसेनदास प्रधान लगायतका नेताहरु सभापति देउवातिरै जानुपर्छ भन्ने मत राख्थे भने गगन थापा, प्रदीप पौडेल लगायतका नेताहरु विपक्षमा थिए ।

यद्यपि नेवि संघ, महिला संघ लगायतका भ्रातृ संगठनहरुमा सिटौला समूहले देउवासँग मिलेर महत्वपूर्ण पदहरु हात पार्‍यो ।
तर, यसवीचमा देउवा र सिटौला समूहबीच क्रमशः दुरी देखियो । कांग्रेसमा देउवाको पक्ष र विपक्षमा ध्रुवीकरण हुन थालेपछि सिटौला विपक्षतिर ढल्किएका थिए । खासगरी गगन, प्रदीपहरु हावी भएका कारण सिटौला देउवाविरोधी खेममा उभिन पुगेका थिए ।

२६ मंसिरमा सुरु भएको केन्द्रीय समितिको बैठक बहिस्कार गर्दा पनि सिटौला भने बैठकमा सहभागी हुने मुडमै थिए । तर, बैठक समयमा सुरु नभएपछि सिटौला गृहजिल्ला झापातिर गए । गगन र प्रदीप बैठकमा सहभागी भएनन् । सिटौला काठमाडौं आइपुग्दा ध्रुवीकरण तीव्र भइसकेको थियो, त्यसैले सिटौला बहिस्कारतिरै लागे ।

त्यसैगरी ११ पुसमा संस्थापन पक्षले बहुमतबाट एकलौटी निर्णय गरेको भन्दै सिटौला देउवाविरोधी खेमातिरै उभिए । तर, उनले निरन्तर सहमतिका लागि जोडबल गरे । आफ्नो मध्यस्थतामा दुई पक्षको वार्तासमेत गराए । ‘१० माघमा सहमति गर्दा पनि उहाँकै कारण कतिपय विषयमा हामीले कम्प्रोमाइज गरेका थियौं’ रामचन्द्र पौडेल समूहका एक नेता भन्छन् ।

त्यो सहमतिमा विभागहरुको विषय टुंगिएको थिएन । देउवा एकपक्षीय रुपमा बढाइएको ४७ वटै विभागमा प्रमुखहरु तोक्न चाहन्थे भने पौडेल रोक्न । सिटौला चाहिँ विधान संशोधन गर्नुपूर्व भएको व्यवस्थाअनुसार २८ वटा विभागहरु बनाए मान्ने मुडमा थिए ।

त्यसयता देउवासँग निरन्तर सम्वादमा रहेका सिटौलाले अन्ततः विभागहरु बनाउने पार्टी सभापतिको चाहनामा साथ दिए, जसमा उनकै समूहका कतिपय नेताहरु अहिले असन्तुष्ट बनेका छन् ।

शक्ति आर्जन कि विलय ?

कांग्रेसको १४ औं महाधिवेशन आउन अझै एक वर्ष छ । तर, नेताहरुले चुनाव लागिसकेको छ । प्रमुख नेताहरुले आफ्नो स्थान कहाँ भनेर हेर्न थालेका छन् ।

आगामी महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको उम्मेदवार देउवा नै हुने पक्का छ । विमलेन्द्र निधि समूहले देउवाले छाडिदिए हुन्थ्यो भन्ने चाहे पनि चुनौती दिन सक्ने अवस्था छैन ।

तर, देउवा इत्तर समूहबाट सभापतिको उम्मेदवार को भन्ने टुंगो लागेको छैन । आकांक्षी भने धेरै छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल स्वाभाविक दाबेदार हुन् । महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लगायतका आकांक्षीहरु पनि छन् ।

त्यसो त कृष्ण सिटौला पनि सभापतिका दाबेदार हुन् । भलै, उनी देउवा इत्तर समूहबाट सर्वसम्मत उम्मेदवार हुने सम्भावना कम छ । सिटौलाले अलग्गै समूह बनाएर लड्ने र चुनाव जित्ने अवस्था पनि छैन । त्यसैले उनले देउवा समूहमा आफू र केही नेताहरुको सुरक्षित अवतरण -विलय) खोजेको हुन सक्ने कतिपयको विश्लेषण छ ।

कतिपयले भने सिटौलाले अहिले सभापतिसँग मिलेर शक्ति आर्जन गर्ने र महाधिवेशनका बेला बार्गेनिङ गर्ने सम्भावना पनि देखेका छन् । तर, सिटौला भने यसबारे मौन बसेका छन् ।

देउवाले फेरि बाजी मारे

सिटौलाको रणनीति जे भए पनि पार्टीभित्र भने फेरि एकपटक देउवाले बाजी मारेका छन् ।

प्रथमतः देउवाको सबैभन्दा ठूलो सफलता भनेको आफ्नो विरोधी खेमामा ल्याएको फुट नै हो । केही दिन अघिसम्म देउवा इत्तरको खेमामा रहेका सिटौलालाई आफ्नो समूहमा ल्याएर उनी आफ्नो विरोधी खेमामा फुटको सन्देश दिन सफल भएका छन् ।

दोस्रो, १४ औं महाधिवेशनको मिति तय भइसकेको अवस्थामा पौडेल समूहले नाम नदिने मात्र होइन, अस्वीकार नै गर्ने घोषणा गरेका कारण अहिले बनेका विभागहरु प्रभावकारीरुपमा सक्रिय हुनेमा आशंका छ । तर, देउवाले विरोधीलाई पेलेर अगाडि बढ्न सक्छु भन्ने सन्देश आफ्नो समूहलाई दिन सफल भएका छन् ।

तेस्रो, १३ औं महाधिवेशनमा पहिलो चरणको चुनावमा देउवाले पाएको मत ४९.८६ प्रतिशत हो । पौडेलले पाएको मत करिव ३७ र सिटौलाको १० प्रतिशत हाराहारीमा थियो । सिटौला रिङआउट भएपछि दोस्रो चरणमा देउवा करिव ५८ प्रतिशत मतका साथ विजयी भएका थिए ।

तर, यो चार वर्षमा देउवाले आफ्नो त्यो भोट गुमाएका छैनन्, बरु बढाउँदै लगेका छन् । २०७४ को आम चुनावअघि लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका विजयकुमार गच्छदार समूह देउवातिरै लागेका छन् भने पौडेल समूहका नेताहरु पनि आफूतिर तान्न सफल भएका छन् ।

वित्तीय विभाग प्रमुखको जिम्मेवारी पाएको आनन्दप्रसाद ढुंगाना, जनसम्पर्क समितिको प्रमुख बनेका गोविन्द भट्टराई, उद्योग विभाग, प्रचार विभाग प्रमुख बनेका प्रवक्ता विश्वप्रकाश शर्मा १३ औं महाधिवेशनमा पौडेल समूहमा थिए । उनीहरु क्रमशः देउवासँग नजिक भए र विभागको जिम्मेवारी पाएका छन् ।

देउवासँग असन्तुष्ट बनेका तनहुँका ध्रुव बाग्लेलाई पनि आमन्त्रित केन्द्रीय सदस्य बनाएर आफैंतिर राख्न सफल भएका छन् । योवीचमा मोरङका डिगबहादुर लिम्बु देउवासँग असन्तुष्ट बनेका थिए । देउवाले आमन्त्रित केन्द्रीय सदस्य बनाएर धनकुटाका मनोहरनारायण श्रेष्ठलाई उनको विकल्पमा उभ्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment