Comments Add Comment

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा आएको उतार–चढाव

१८ फागुन, काठमाडौं । १२ वर्ष पहिले भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो प्रत्यारोपण स्वदेशमै गराउने निर्णय गरेका छन् ।

दोस्रो प्रत्यारोपणमा पहिलोभन्दा केही जोखिम हुने थाहा पाएका उनले आउँदो बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महराजगञ्जमै प्रत्यारोपण गराउने निर्णय गरेका हुन् ।

विगत १२ वर्षमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर उतार–चढाव आएको छ । पटक–पटक अस्पताल भर्ना र अपरेशन गराइरहेका ओली आत्मविश्वासी देखिन्छन् । नेपालकै सरकारी अस्पतालमा दोस्रो प्रत्यारोपण गराउने निर्णय गरेपछि उनलाई नजिकबाट नियालिरहेका चिकित्सकहरुले ‘यो अवस्थामा नेपालमै प्रत्यारोपण गर्ने निर्णय गर्नु अत्यन्तै सकारात्मक हो, उहाँको निर्णयलाई सम्मान गर्नुपर्छ’ भनेका छन् ।

चिकित्सकहरुका अनुसार पहिलो प्रत्यारोपणपछि प्रम ओलीको स्वास्थ्य सामान्य अवस्थामा छैन । किनकी, मिर्गौला प्रत्यारोपण गराएका बिरामीले जीवनभर औषधि सेवन गर्नुपर्छ । मानिसको उमेर र स्वास्थ्य अवस्थाअनुसार औषधिको ‘डोज’ भने फरक–फरक हुन्छ । औषधिको साइड इफेक्ट भने उस्तै ।

चिकित्सकहरुका अनुसार औषधिको ‘डोज’ ‘ट्रयाक रेकर्ड भेरिफिकेसन’ का आधारमा तय गरिन्छ । त्यसैले ट्रान्सप्लान्ट गरेको सुरुवातमा हप्तैपिच्छे ‘ट्रयाक लेभल भेरिफिकेसन’ गर्नुपर्छ । प्रत्यारोपण पुरानो भएपछि भने तीन महिनामा एकपटक गर्नुपर्छ । ट्रयाक लेभल जाँच नगरी औषधिको ‘डोज’ तलमाथि भयो भने मानिस गम्भीर अवस्थासम्म पुग्न सक्छ ।

गएको १२ वर्षमा प्रम ओलीको स्वास्थ्यमा के कस्तो उतार–चढाव आयो त ?

मेनिन्जाइटिस बिग्रेपछि बैंककमा उपचार

पहिलोपटक मिर्गौला प्रत्यारोपणपछि पनि राजनीतिमा सक्रिय रहेका ओलीलाई सन् २०१३ ‘मेनिन्जाइटिस’ भएर शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुपर्‍यो । त्यहाँ उपचार गरेको केही दिनमै उनलाई ग्राण्डी अस्पताल रिफर गरियो ।

तर, ग्राण्डीमा पनि मेनिन्जाइटिस ठीक भएन । त्यसपछि ओली उपचारकै लागि बैंकक पुगे । बैंककमा महिना दिन भन्दा लामो उपचार गराएपछि ओलीको अवस्था खतरामुक्त बन्यो ।

त्यतिबेला ओलीलाई कडा खालको ‘मेनिन्जाइटिस’ सँगै निरन्तर लामो समयसम्म टाउको दुख्ने समस्या थियो । स्वास्थ्यमा हेलचेक्र्याइँ र चिकित्सकको सल्लाहबिना औषधि खाएकाले उनी सिकिस्त भएका थिए ।

निमोनियाको संक्रमणले ५ दिन अस्पताल भर्ना

गत वर्षको कात्तिक १२ गते प्रम ओलीलाई छातीमा निमोनियाको जटिल संक्रमण भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना गरियो । चिकित्सकहरुका अनुसार त्यतिबेला प्रम ओलीलाई इम्युनिटी बढाउने औषधिले सुगर लेभल बढाएको थियो ।

दशैँमा टीकाको धपेडी र मौसमी रुघाखोकीका कारण छातीमा संक्रमण भएको थियो । पाँच दिन अस्पताल बसेपछि उनलाई डिस्चार्ज दिइएको थियो ।

एक महिनामा दुई पटक सिंगापुर

मिर्गौलामा समस्या आएपछि गत साउन १८ गते प्रम ओली सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल पुगे । उनी सिंगापुर पुग्नासाथ दोस्रो प्रत्यारोपण गर्न गएको भन्ने चर्चा चल्यो । तर, सामान्य उपचार गरेर ९ दिनपछि उनी स्वदेश फर्किए ।

महिना दिन नबित्दै प्रधानमन्त्री ओली फेरि सिंगापुरको सोही अस्पताल जाने खबर बाहिरियो । प्रधानमन्त्री दोस्रो प्रत्यारोपणका लागि सिंगापुर जाँदैछन् भन्ने सुनियो । एक महिनाभित्रै दोस्रो पटक सोही अस्पताल जादाँ दोस्रो प्रत्यारोपणको चर्चा चल्नु स्वाभाविक पनि थियो ।

तर, चर्चा चर्चामै सीमित भयो । प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले मिर्गौलासम्बन्धी एण्टिबडीको मात्रा बढेका कारण त्यसलाई शरीरबाट निष्काशन गर्ने र मिर्गौलाको क्षमता बढाउने उपचार प्रक्रियाका लागि प्रधानमन्त्री जान लागेको भन्दै विज्ञप्ति नै जारी गरिन् ।

त्यतिबेला सिंहले भनेकी थिइन्, ‘पहिलोपटक सिंगापुरमा स्वास्थ्य परीक्षण गराउँदा रगतमा क्रियाटिनिनको मात्रा २ हाराहारीमा रहेको र एण्टिबडीको मात्रा बढी देखिएको थियो । क्रियाटिनिनको मात्रा सन्तुलित राख्न र एण्टिबडी हटाउन प्रधानमन्त्रीलाई सिङ्गापुर लैजान आँटिएको हो ।’

डाक्टर दिव्याको विज्ञप्तिमा अगाडि भनिएको थियो, ‘मिर्गौला प्रत्यारोपण गराएका बिरामीको शरीरमा भएको विकारयुक्त एण्टिबडी हटाउने विधि ‘प्लाज्माफेरेसिस’ गरिने अत्याधुनिक मेसिन नेपालमा छैन । प्रम ओली पहिलोपटक सिङ्गापुर जाँदा एण्टिबडी निष्काशन गर्ने उपचार विधि शुरु भएको थियो । त्यही उपचारको निरन्तरता, औषधि प्रयोगपछिको मिर्गौलाको अवस्था तथा आगामी दिनमा कुन औषधि कुन मात्रामा चलाउने भन्ने विषयमा थाहा पाउन उहाँलाई सिंगापुर लैजान आँटिएको हो ।’

भदौ ५ गते सिंगापुर गएका ओली ‘प्लाज्माफेरेसिस’ गरेर १५ दिनपछि स्वदेश फर्किएका थिए । तर, ‘प्लाज्माफेरेसिस’ गरेपछि पनि उनको स्वास्थ्य सुधार आएन ।

प्लाज्माफेरेसिस गर्ने अवस्था कसरी आउँछ ?

चिकित्सकहरुका अनुसार शरीरको प्रतिरक्षा प्रणालीले अरुबाट ल्याएर राखिएको मिर्गौलालाई सजिलै चिन्दैन । अरुको मिर्गौलालाई आक्रमण गरेर नष्ट पार्न खोज्छ । त्यसैले मिर्गौला नष्ट हुन नदिन शरीरको प्रतिरक्षा प्रणालीलाई औषधि दिएर लठ्याइन्छ ।

औषधि खाएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ । औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको हुन्छ ।

प्रतिरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा ब्याक्टेरियाले शरीरका अन्य प्रणालीमा आक्रमण गर्न सक्छ । त्यसैले, प्रत्यारोपणपछि औषधि खाइरहँदा पनि खतरा हुन्छ भने नखाँदा झनै खतरा ।

साइन्स डाइरेक्ट डटकमका अनुसार मानव शरीरमा आक्रमण गरी हानी पुर्‍याउन सक्ने जीवाणुविरुद्ध लडेर शरीरको बचाउ गर्ने एक प्रकारको प्रोटिनजन्य रसायनलाई एण्टिबडी (इम्युनोग्लोबुलिन) भनिन्छ ।

एण्टिबडीले शरीरलाई सम्भावित हानी गर्न सक्ने बाह्य तत्वलाई नष्ट गर्छ । शरीरमा संक्रमण रोक्न पर्याप्त एण्टिबडी हुनु राम्रो मानिन्छ । एण्टिबडी शरीरको प्रतिरक्षाका लागि बनेका हुन्छन् । तर, मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि ‘एण्टिबडी’ घातक मानिन्छ । किनकि, एण्टिबडीले दाताबाट लिएको मिर्गौलालाई निरन्तर आक्रमण गर्छ ।

चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई एण्टीबडीको निरन्तर आक्रमणले गर्दा छोटो समयमा नै प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोड्छ, जसलाई ‘रिजेक्सन’ भनिन्छ । यसरी रिजेक्सन नहोओस् भन्नाका लागि मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिले आजीवन औषधि सेवन गर्नुपर्ने हुन्छ ।

तर, औषधिले पनि मानिसको प्रतिरक्षा शक्ति पूर्णरुपमा कम नहुने फ्यासिफिक इम्युनोलोजीले लेखेको छ । ‘प्रतिरक्षा शक्तिलाई सन्तुलनमा राख्न शरीरमा इम्युनोसुप्रेसर औषधि प्रयोग गरिन्छ । यस्ता औषधि नियमित सेवन गरिरहेता पनि बिरामीको शरीरमा प्रत्यारोपित मिर्गौला विरुद्ध एण्टिबडी बन्न सक्छ, जसले मिर्गौलालाई आक्रमण गर्छ’ भनेर प्यासिफिक इम्युनोलोजीले लेखेको छ।

प्रत्यारोपण गरिएको मिर्गौलालाई एण्टिबडीका कारण शरीरले अस्वीकार गर्नु भनेको मिर्गौलाको काम घट्दै जानु हो। चिकित्सकहरुको अनुसार प्रधानमन्त्री ओली अहिले मिर्गौलाको यही यही अवस्थासँग संघर्ष गरिरहेका छन् ।

प्रत्यारोपण गरिएका बिरामीको शरीरले मिर्गौला अस्वीकार गर्न थालेपछि रगतमा क्रियाटिनिनको मात्रा घट्दै जान्छ। थकान पनि महसुश हुन्छ। सोही कारण मानिसको सक्रियता घट्दै जान्छ भने प्रत्यारोपण गरिएको मिर्गौलाको लागि एण्डीबडी घातक प्रमाणित हुदै जान्छ ।

नेशनल किड्नी फाउण्डेशनका अनुसार एण्टिबडीका कारण शरीरमा निम्तिन सक्ने क्षतिलाई प्लाज्माफेरेसिस विधिबाट उपचार गरेर कम गर्न सकिन्छ। मिर्गौलाको काम गर्ने क्षमतामा सुधार ल्याउने उद्देश्यले एण्टिबडी निकाल्न प्लाज्माफेरेसिस गरिन्छ ।

एण्टिबडीले मानव शरीरका अङ्गमा क्षति पुर्‍याउन थाल्यो भने तिनलाई हटाउन र नयाँ बन्न नदिन औषधि दिइन्छ । प्लाज्माफेरेसिसबाट एण्टिबडी घटेन भने अन्य केही वैकल्पिक औषधि चलाउने गरिएको छ ।

प्लाज्माफेरेसिसले काम नगरे प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गर्ने क्रम यथावत् रहन्छ। जसले गर्दा मिर्गौलाले काम नै नगर्ने समस्या आउँछ। सोही कारण डायलासिस वा दोस्रो प्रत्यारोपणको लागि चिकित्सहरुले सुझाव दिने गर्छन् ।

नियमित डायलासिस

स्वास्थ्यमा समस्या आएपछि कात्तिक १३ गते ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको त्यही दिन डायलासिस गरियो । त्यही दिनदेखि चिकित्सकहरुले नियमित डायलासिस वा पुनः प्रत्यारोपणमध्ये एउटा रोज्नुपर्ने सुझाव दिए ।

त्यसयता नियमित डायलासिस गर्न सुरु गरियो । साथै, दोस्रो प्रत्यारोपणका लागि चिकित्सकहरु जुटे ।

प्रधानमन्त्रीले हप्तामा तीन दिन चार/चार घण्टा मिर्गौलाको डायलासिस गर्दै आइरहेका छन् ।

एपेन्डिसाइटिसको अपरेसन

गत मंसिर १३ गते प्रधानमन्त्री ओली आकस्मिक रुपमा मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भए । लगत्तै उनको एपेण्डिसाइटिसको अपरेशन गरियो । चिकित्सकका अनुसार जटिल अवस्थामा उनलाई अस्पताल पुर्‍याइएको थियो ।

त्योबेला १० दिन अस्पताल बसेर डिस्जार्ज गरियो । त्यसबेला पनि चिकित्सकहरुले प्रधानमन्त्रीलाई दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिए । र, सोही सुझावअनुसार ओलीले आउँदो बुधबार दोस्रो प्रत्यायारोपण गर्ने निर्णय गरेका हुन्।

दोस्रो प्रत्यारोपण पनि सफल हुन्छ : चिकित्सक

चिकित्सकहरु भन्ने गर्छन्, ‘दोस्रो प्रत्यारोपण पनि सफल हुन्छ । तर, त्यसमा केही शर्तहरु लागू हुनेछन् ।’

चिकित्सकहरुले भन्ने गरेका शर्तहरु भने प्रत्यारोपण गर्ने व्यक्ति र उसलाई अंग दिने दाताको स्वास्थ्य अवस्था हो । त्यस्तै उमेर, खानपान र शारीरिक सक्रियता पनि दोस्रो प्रत्यारोपणकै शर्तभित्रै पर्छन् । यदि पहिलो प्रत्यारोपण गरेको ५ वर्षभित्रमा दोस्रो प्रत्यारोपण गरिन्छ भन्ने त्यस्को सफलताको दर उच्च हुन्छ । अनि किड्नी दिने व्यक्ति ४० वर्ष भन्दा कम उमेरको छ भने पनि दोस्रो प्रत्यारोपणको लागि राम्रो मानिन्छ ।

अमेरिकाको नेशनल किड्नी फाउण्डेशनको विभिन्न अनुसन्धानले दोस्रो प्रत्यारोपणको जटिलता, मानिसको सक्रियता र प्रत्यारोपणपछिको बाँच्ने उमेर पहिलो प्रत्यारोपणसँग तुलना गरेको छ ।

त्यो अनुसन्धानको निष्कर्षले दोस्रोपटक प्रत्यारोपण गर्ने तयारी गरिरहेको मानिसहरुलाई निराश बनाएको छैन । अनुसन्धानको अनुसार पहिलेजस्तै दोस्रो प्रत्यारोपणलाई जोखिमको रुपमा लिनुपर्ने अवस्था छैन । अहिले दोस्रो प्रत्यारोपणको सफलताको दर बढेको छ ।

प्रत्यारोपणका लागि किड्नी दिने र लिने व्यक्तिको स्वास्थ्य अवस्था र उमेरको अवस्था मिलेमा पहिलो र दोस्रो प्रत्यारोपणको जटिलता खासै फरक नहुने अनुसन्धानमा देखिइएको छ ।

सामान्यतया पहिलो प्रत्यारोपण असफल भएको अवस्थामा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिन्छ । यसैलाई आधार मानेर चिकित्सकहरुले भनेका छन्, ‘पहिलो प्रत्यारोपण असफल भयो भन्दै दोस्रो पनि असफल हुन्छ भन्ने हुँदैन । दोस्रो प्रत्यारोपण सफल हुने सम्भावना कायमै रहन्छ ।’

अमेरिकाको नेशनल किड्नी फाउण्डेशनको अनुसन्धान अनुसार प्रत्यारोपण गरिएको मिर्गौला, संक्रमण दर र व्याक्तीको सक्रियताको आधारमा पहिलो र दोस्रो प्रत्यारोपणबीच कुनै खास भिन्नता हुँदैन । दुई प्रत्यारोपणबीच तुलना गर्दा एक र पाँच वर्षको किडनी सक्रियताको दर समान थियो । त्यस्तै पहिलो प्रत्यारोपणमा झै दोस्रोमा ब्याक्टेरिया र भाइरल संक्रमणको कुनै घटना भएन ।

केही अनुसन्धानहरुले दोस्रो प्रत्यारोपणलाई उच्च जोखिमका रुपमा चित्रण गरेको छ । तर, ती अनुसन्धानहरुलाई नेशनल किड्नी फाउण्डेशनले परम्परागत अनुसन्धान भनेको छ । दोस्रो प्रत्यारोपण सफल भएका मानिसहरु धेरै रहेको बताउँदै उसले लेखेको छ, ‘हाम्रो अध्ययनले दोस्रो प्रत्यारोपण पनि पहिलो झैं सफल हुने देखाएको छ ।’

नेशनल किडनी फाउन्डेशनले थपेको छ, ‘पहिलो प्रत्यारोपण असफल भएर दोस्रो प्रत्यारोपण गराउनेहरु आत्तिनुपर्दैन । उनीहरु पहिलो प्रत्यारोपणझैं जिन्दगीको आशा गरेर अस्पताल पुग्न सक्छन् ।’

मेरो शरीर रेडियोको बेट्रीजस्तो : प्रधानमन्त्री

गत फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओली झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै थिए । आफ्नै चुनाव क्षेत्रमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यका बारेमा दिएको अभिव्यक्ति यस्तो थियो–

०६४ सालमा मैले किड्नी बदलेको थिएँ । …मेरो जिन्दगी रोगसँग लडेर, प्रतिक्रियावादी शक्तिहरुसँग लडेर, जनविरोधी शक्तिहरुसँग लडेर यत्तिकै बित्या छ ।… ४६ वर्ष भो बिमारीका बिमारी लडेको । विरोधीहरु मुकाबिला गर्न सक्दैनन्, मनलाग्दी भनेर आश गर्छन् । मर्न त मर्छ एक दिन, तर अलि पछि । अस्ति झण्डै गा’को ! डाक्टरसापले चिरफार गरेर फेरि ठाकठीक ।

मेरो पेट चारपल्ट राम्रैसँग चिर्‍या छ । केही अंग फालिया छन्, केही अंग काटिया छन् । केही अंग फेरिया छन् । मेरो बानी पर्‍या छ शरीरभित्र तार, यन्त्रसन्त्र राखेर चल्नुप¥यो भने पनि चल्ने । यो बानी पर्‍या छ । रेडियोको बेट्रीजस्तो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment