Comments Add Comment

ठूला समारोह र भोजभतेर नगर्न सरकारको आग्रह

१८ फागुन, काठमाडौं । सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेका हुन् ।

मन्त्री ढकालले अप्ठेरो अवस्था आएमा अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने बताए । उनले विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।

मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताए ।

‘पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको छ, दोस्रो चरणको तयारी अन्तर्गत संक्रमित नेपालीलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको छ ।’

मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणले भयावह रुप लिए सबै अस्पताललाई उपचारका लागि प्रयोग गर्न सकिने बताए ।
चीनमा कोरोना भाइरसको सकंम्रण घटदै गए पनि कोरिया, खाडी मुलुक र भारतमा कोरोनाको सकंम्रण देखिए नेपालमा भयावह स्थिति आउने ढकालले बताए ।
उनले भने्, ‘छिमेकी देशमाहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको छ । हामीले पनि केही देशसँगको उडान तत्काल कटौती गर्ने विषयमा छलफल गरिरहेका छौं ।’

विमानस्थलमा थप जनशक्ति र मेसिन

सरकारले त्रिभुवन विमानस्थलको स्वास्थ्य कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेसिन राख्ने भएको छ । थप जनशक्ति र ६ वटा मेसिन राखेर कोरोना संक्रमण देखिएको देशबाट आउने सबै यात्रुको जाँच गरिने मन्त्री ढकालले बताए ।

यसैगरी मन्त्रालयले तातोपानी र रसुवागढी नाकामा पनि चिकित्सक खटाइएको छ ।

मन्त्री ढकालको सय दिन

मन्त्री ढकालले कोरोना भाइरसको कारण स्वास्थ मन्त्रालयले सोचेजस्तो उपलब्धी हासिल गर्न नसकेको बताएका छन् । कोरोना भाइरस संक्रमण अपर्झट आइलागेको काम भन्दै यसमा ध्यान केन्द्रित गर्दा अरु काम छुटेको बताए ।

उनले स्वास्थ्य मन्त्रालयले गरेको कामको सकारात्मक प्रतिक्रिया नदिएको गुनासो पनि गरे । ‘चीनबाट १७५ जना नेपालीलाई उद्धार गरेर ल्याउदा पनि अपजसमात्रै आयो’ मन्त्री ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment