News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधाम–१७ तेतरिया पुलमा दुई मोटरसाइकल ठोक्किँदा जनकपुरधाम–१७ निवासी सुजित यादवको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
- घाइतेमध्ये बलराम यादवको प्रादेशिक अस्पताल जनकपुरमा र रामपुकार यादव तथा अखलेश यादवको जनकपुर न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
- दुर्घटनापछि उपचारमा ढिलाइ भएको भन्दै मृतकका आफन्तले प्रादेशिक अस्पतालमा तोडफोड र ढुङ्गा प्रहार गर्दा गणेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
१ कात्तिक, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार शनिबार राति करिब १० बजे पौडेश्वरबाट तेतरियातर्फ आउँदै गरेको ज ११ प ३०५८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको म.प्र.०२–००९ प ११५७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा ज ११ प ३०५८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम–१७ निवासी सुजित यादवको मृत्यु भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी खनालले बताए ।
सोही मोटरसाइकलमा सवार स्थानीय २५ वर्षीय बलराम यादव घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको र प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ निवासी शिवदयाल यादवका २० वर्षीय छोरा रामपुकार यादव र ३४ वर्षीय अखलेश यादव गम्भीर घाइते भएका छन् । उनीहरूको जनकपुर न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उपचारमा ढिलाइ भएको भन्दै मृतकका आफन्तले प्रादेशिक अस्पतालमा तोडफोड गरेका छन् । करिब १५ देखि २० जनाको समूहमा आएका उनीहरूले ढुङ्गा प्रहारसमेत गरेको प्रहरीले जनाएको छ ।
ढुङ्गा प्रहार गरेको आरोपमा जनकपुरधाम–१७ निवासी २० वर्षीय गणेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिलाई सामान्य बल प्रयोग गरी तितरबितर पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया 4