
काठमाडौं । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ले दोस्रो हिमालयन क्रिकेट लिग यू-१९ दुई दिवसीय क्रिकेटको उपाधि जितेको छ । रोमाञ्चक बनेको फाइनलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसीटीसीलाई १ विकेटले हराउँदै जिएचसीए च्याम्पियन बनेको हो ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा जिएचसीएलाई दोस्रो दिन जितका लागि ७० रन आवश्यक थियो । ११५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको जिएचसीएले पहिलो दिनको समाप्तीमा ४ विकेट गुमाएर ४५ रन बनाएको थियो । जिएचसीले दोस्रो दिन थप ५ विकेट गुमाएर ७० रन जोड्दै खेल जितेको हो ।
आयुश बस्नेत (२१) र संगित बुढाथोकी (०) ले जिएचसीएको इनिङ्स अगाडि बढाएका थिए । दोस्रो दिन ४ रन थपेका आयुश जिएचसीएका सर्वाधिक रनकर्ता बने । यस्तै संगितले १६ रन योगदान गरे । कप्तान रसिद खानले १८ र सोनु देवकोटाले १३ रन जोडे । प्रशन सिंहले अविजित १६ रन बनाए । बलिङमा केसीटीसीका तिलक भण्डारीले ६ र सूर्य तामाङले २ विकेट लिए ।
पहिलो इनिङ्समा केसीटीसीले ८० रन बनाएकव थियो भने जिएचसीएले ६२ रन मात्र जोडेको थियो । यस्तै केसीटीसीले दोस्रो इनिङ्समा ९६ रन जोडेको थियो ।
प्रतियोगिताको च्याम्पियन जिएचसीएले ट्रफीसँगै नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । यस्तै उपविजेता केसीटीसीले नगद ७५ हजार रुपैयाँ पायो ।
केसीटीसीका बलर सूर्य तामाङ प्लेअर अफ दि सिरिज घोषित भए । उनले नगद २५ हजार रुपैयाँ र ट्रफी पाए । यस्तै बेस्ट ब्याट्सम्यान जिएचसीएका आसिफ शेख तथा बेस्ट बलर केसीटीसीका तिलक भण्डारी घोषित भए । यस्तै इमर्जिङ प्लेअर जिएचसीएका अरियौ पौडेल घोषित भए ।
हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4