Comments Add Comment

कोरोना रोकथाममा सतर्कता अपनाउन सांसदको आग्रह

१९ फागुन, काठमाडौं । सांसदहरुले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहे पनि सतर्कता नअपनाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले कोरोना भाइरस संक्रमण फैलिएको देशबाट आउने यात्रु पनि विना चेकजाँच नेपाल प्रवेश गरिरहेको भन्दै भयावह स्थिति आउनेतर्फ सचेत गराएका छन् ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको भनेर चेतावनी दिइसकेको अवस्थामा सरकारले संसदलाई आश्वस्त पार्ने ढंगले जवाफ दिनुपर्ने बताए ।

उपप्रधानमन्त्रीको अध्यक्षतामा कोरोना संक्रमण रोकथामका लागि समिति निर्माण गरेको सुनिए पनि त्यसले के काम गर्ने हो भन्ने विषयमा पनि सरकारको जवाफ चाहिने उनले बताए ।
कोराना संक्रमण फैलिएको देशबाट १ लाख ७६ हजार मानिस नेपाल प्रवेश गरेको भन्दै सांसद बडुले विमानस्थलमा असावधानी देखिएको बताए ।

नेकपा सांसद कृष्णभक्त पोखरेलले खुला सीमानामा चेकजाँचमा कडाइ गर्न माग गरे । उनले प्रभावित क्षेत्रमा उडान स्थगित गर्न, प्रभावित क्षेत्रमा नजान ट्राभल एडभाइजरी जारी गर्न, ल्याब र औषधीको पर्याप्त सञ्चय गर्न, रोग देखा परेमा उपचार केन्द्रको प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद उमा रेग्मीले सीमा नाकामा चेकजाँचको व्यवस्था गर्न माग गरेकी छन् । आवश्यक परेमा आवतजावत पनि बन्द गर्नुपर्ने बताइन् ।

सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले प्रभावित देश र विज्ञहरुको सल्लाह लिएर अघि बढ्नुपर्ने बताए ।

नेकपा सांसद शान्ता चौधरीले सरकारले ठोस कदम चालेर कोरोना भाइरस नेपाल छिर्न नदिने वातावरण बनाउनुपर्ने बताइन् । उनले कोरोना भाइरस नियन्त्रणका लागि हात मिलाउन छाडेर नमस्कार गर्ने प्रचलनलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment