Comments Add Comment

भ्रमण वर्षको दोस्रो महिनामा पनि घट्यो पर्यटक आगमन

१९ फागुन, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०को दोस्रो महिनामा पनि पर्यटक आगमन खस्किएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार फेब्रुअरी महिनामा ०.९९  प्रतिशतले पर्यटक आगमन ओरालो लागेको छ ।

सन् २०१९ को दोस्रो महिनामा १ लाख २ हजार ४ सय २३ जना पर्यटक नेपाल आएका थिए । तर, फेब्रुअरी २०२० मा कूल १ लाख १ हजार ४ सय जना पर्यटक नेपाल आएका छन् ।

जनवरी महिनामा पनि पर्यटक आगमन १ हजार ५८७ जनाले खस्किएको थियो । कोरोना भाइरसको संक्रमणले चीनसहितका देशहरु प्रभावित बनेपछि पर्यटक आगमन खस्किन पुगेको पर्यटन बोर्डले जनाएको छ ।

चिनियाँ पर्यटक उल्लेख्य घटे

कोरोना प्रभावित मुलुक चीनबाट भने नेपाल आउने पर्यटक उल्लेख्य घटेका छन् । एक महिनाको अवधिमा मात्र ३ हजार २ सय ८५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।

यी मध्ये पनि अधिकांश कामदार, प्रशासनिक तथा कूटनीतिक कामका लागि आएका व्यक्तिहरु धेरै छन् ।

सन् २०१९ मा १४ हजार १ सय ६१ जना चिनियाँ पर्यटक नेपाल आएका थिए । चीनबाट पर्यटक आगमन उल्लेख्य घट्दा समग्र पर्यटक आगमन प्रभावित भएको छ ।

७७ हजार हवाई यात्रु

फेब्रुअरीमा हवाई यात्राबाट ७७ हजार ६४ जना पर्यटक आएका छन् । गत वर्षभन्दा यो वर्ष हवाई यात्रु केही बढेका छन् । स्थलमार्गबाट भने २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल आएको अध्यागमन विभागलाई उद्धृत गर्दै पर्यटन बोर्डले जानकारी दिएको छ ।

यो महिनामा दक्षिण एसियाली क्षेत्रबाट पर्यटक आगमन बढेको छ । अन्य क्षेत्रबाट आउने पर्यटक घटेका छन् ।

समग्रमा पर्यटक आगमन खस्किएपनि म्यानमार, श्रीलंका र थाइल्याण्डबाट आउने पर्यटक बढेका छन् । उद्घाटनमा म्यानमारबाट पर्यटनमन्त्रीको संयोजकत्वमा प्रतिनिधित्व भएको थियो । यसबाट नेपाल आउने म्यानमारका पर्यटकमा सकारात्मक प्रभाव देखिएको दावी सरकारको छ ।

म्यानमार, श्रीलंका र थाइल्याण्डबाट अघिल्लो वर्षको यसै महिनाको तुलनामा क्रमशः ४५९५.६, ११२६.८ र ५६५.५ प्रतिशतले वृद्धि भएको छ । म्यानमारबाट फेब्रुअरी २०२० मा ५ हजार ३ सय ५३ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ को यो महिनामा १ सय १४ जना मात्र म्यानमारबाट पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका प्रवन्धक मणिराज लामिछानेका अनुसार बौद्धमार्गी गन्तब्यमा गरिएको प्रवर्द्धन र यसबीचमा भएका उच्चस्तरीय भ्रमणले पर्यटन आगमनमा सकारात्मक प्रभाव परेको प्रतिक्रिया दिए ।

श्रीलंकाबाट यस महिना ३ हजार २ सय २ जना पर्यटक नेपाल आएका छन् । गत वर्ष यो महिनामा मात्र २ सय ६१ जना पर्यटक आएका थिए । थाइल्याण्डबाट यो महिनामा ५ हजार ८ सय २ जना पर्यटक आएका छन् । गत वर्ष ८ सय ७२ जना मात्र पर्यटक नेपाल आएका थिए ।

फेब्रुअरी २०२० मा कुन मुलुकबाट कति आए ?

मुलुक सन् २०२० फेब्रुअरी सन २०१९ फेब्रुअरी परिवर्तन
भारत १६५५८ १७६१५ -६ प्रतिशत
चीन ३२८५ १४१६१ -७६.८ प्रतिशत
अमेरिका ६४४२ ६२२६ ३.५ प्रतिशत
थाइल्याण्ड ५८०२ ८७२ ५६५.४ प्रतिशत
म्यानमार ५३५३ ११४ ४५९५.६ प्रतिशत
बेलायत ४७३२ ४८३५ -२.१ प्रतिशत
श्रीलंका ३२०२ २६१ ११२६.८ प्रतिशत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment