Comments Add Comment

कोरोना रोक्न यस्तो छ विमानस्थलमा तयारी

१९ फागुन, काठमाडौं । सोमबार जापानबाट काठमाडौं आएका दुई यात्रुको स्वास्थ्य परीक्षणको क्रममा ज्वरोको मात्रा ९९ दशमलव ५ डिग्री रहेको पाइयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थर्मल गनले स्वास्थ्य परीक्षण गर्दा उनीहरुको शरीरको तापक्रम सामान्यभन्दा धेरै भेटिएपछि केहीबेर उनीहरुलाई स्वास्थ्य निगरानी कक्षमा राखेर थप परीक्षण गरियो ।

विमानस्थलका कर्मचारीहरुका अनुसार थर्मल गनले रातो संकेत देखाएपछि चिकित्सकहरुको टोलीले थप परीक्षण गरी उनीहरुलाई आइसोलेसनमा राख्नु नपर्ने देखायो । र, सम्पर्कमा रहने गरी छाडिएको विमानस्थल कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको विश्वव्यापी त्रासपछि अहिले त्रिभुवन विमानस्थलमा यस्तै सतर्कता अपनाइएको छ । यस अघि थर्मल स्क्यानरबाट सबै यात्रुको परीक्षण गर्ने गरिएकोमा आइतबारदेखि थर्मल गन मार्फत् एक/एक गरेर प्रत्येक यात्रुका शरीरको तापक्रम नापिन्छ ।

कार्यालयकाअनुसार त्रिभुवन विमानस्थलमा उत्रिने यात्रुहरुलाई विमानबाट ओर्लनुपूर्व नै उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया  सुरु गरिन्छ ।

सुरुमा विमान भित्रै उनीहरुमा कुनै स्वास्थ्य समस्या भए नभएको जानकारीका लागि एउटा फारम भर्ने गरिन्छ । त्यसमा आफूलाई स्वास्थ्य समस्या भएको उल्लेख गरेकाहरुलाई सिधै स्वास्थ्य सहायता कक्षमा लगिन्छ भने कोरोनाको लक्षण नदेखिएकाहरुलाई समेत एक/एक गरेर स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।

यात्रुहरु विमानबाट ओर्लिएर भवनभित्र प्रवेश गरेलगत्तै प्यासेन्जरहरुको शरीरमा स्यानिटाइजर छर्ने गरिएको छ । यात्रुहरुको शरीरमा हुनसक्ने सम्भावित हानिकारक जीवाणुहरु त्यहाँबाट बाहिर नआओस् भन्नको लागि यस्तो गर्ने गरिएको विमानस्थल कार्यालयका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए ।

स्यानिटाइजर छरेका बिरामीहरुलाई त्यसभन्दा अघि गएपछि थर्मल गनले शरीरको तापक्रम परीक्षण गर्ने गरिन्छ । सामान्य तापक्रम १०० डिग्री फरेनहाइटभन्दा माथि तापक्रम हुने बिरामीहरुलाई थप स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता कक्षमा पठाउने गरिएको छ ।

विमानस्थलमा भीड कम गर्न पास रद्द

विमानस्थलमा भीड कम गर्नको लागि विमानस्थल कार्यालयले अत्यावश्यक बाहेक विशेष पास दिन बन्द गरेको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले सार्वजनिक रुपमा नै जतिसक्दो भीडभाड कम गर्न आग्रह गरे अनुसार नै विमानस्थलमा समेत अत्यावश्यक बाहेक अरुलाई प्रवेश पास दिन बन्द गरिएको प्रवक्ता कर्णले जानकारी दिए ।

विमानस्थलमा आउनेहरुलाई अनिवार्य रुपमा मास्कसहित आउन आग्रह गरिएको छ । उनले विमानस्थल कार्यालय कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्नको लागि गम्भीर रहेको भन्दै विकसित मुलुकहरुले प्रयोग गर्ने सबै प्रविधिहरुको नेपाली विमानस्थलमा समेत प्रयोग गरिएको दाबी गरे ।

उनले सबै विकसित मुलुकको विमानस्थलमा पनि यही प्रविधि बाहेक थप सतर्कता अपनाउने नगरेको उनको दाबी छ । त्यसैले नेपालमा कोरोनाको संक्रमण धेरै हुन्छ भनेर अफवाह नफैलाउन समेत उनले सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

दैनिक १५ सय जनाको दरमा घटे बाहिरिने यात्रु

विमानस्थलका अनुसार पछिल्लो एक हप्तामा दैनिक १५ सय जनाको हाराहारीमा नेपालबाट बाहिरिने यात्रुहरुको संख्या घटेको छ ।

दैनिक साढे ६ हजार जनाले विमानस्थलबाट विदेशिने गरेकोमा पछिल्लो एक हप्तादेखि दैनिक ५ हजारको हाराहारीमा मात्रै यात्रुहरु विदेशिने गरेका छन् । यो गतिमा दैनिक कति जना विदेशिनेहरुको संख्या घटिरहेको छ ? भन्ने विषयमा भने विश्लेषण गर्न बाँकी रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment