Comments Add Comment

कोरोनाको त्रास : सुरक्षाको लागि स्यानिटाइजर कि हात धुनु उपयुक्त ?

विदेशबाट नेपाल आउने यात्रुहरुको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्यानिटाइजरको प्रयोगबाट सुरु हुन्छ आतिथ्यता । कुनैपनि व्यक्तिको शरीरमा रहनसक्ने सम्भावित किटाणुहरुलाई मार्नको लागि ४ जना चिकित्सकहरुको टोलीले त्यहाँ स्यानिटाइजर छर्किने गर्छन् । त्यहाँ हरेक सिफ्टमा काम गरिरहेका चिकित्सकहरुको टोलीले स्प्रे गर्ने खालको स्यानिटाइजर छर्किने गरेका छन् ।

यतिबेला कोरानाको त्रास बढिरहेको छ । यसबाट बच्नको लागि विभिन्न किसिमका सावधानी अपनाउँदा पनि विकसित मुलुकहरुमा कोरोनाको संक्रमण बढ्दो मात्रामा रहेको छ । तर, अझैसम्म पनि यसको औषधि पत्ता लागिसकेको छैन ।

नेपालमा पनि कोरोनाबाट बच्नको लागि सतर्कता अपनाउने गरिएको छ । अहिलेसम्म नेपालमा कुनैपनि संक्रमित व्यक्ति पत्ता नलागिसकेको भएपनि सम्भावित जोखिमको लागि सरकारी निकाय समेत यसबाट बच्ने उपायको खोजीमा छ ।

पछिल्लो समय विश्व स्वास्थ्य संगठनले पनि कुनैपनि जनावरको नजिक नजान र मासु राम्रोसँग मात्रै पकाएर खान आग्रह गरेको छ । सरकारहरुले यसको बारेमा सतर्कता अपनाउनको लागि आग्रह गर्दै अनावश्यक रुपमा भीडभाडमा नजान र भीडभाड नगर्न समेत आग्रह गरेको छ ।

अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरिँदै आएकोछ । सम्भव भएसम्म समय समयमा हात धुन समेत आग्रह गरिएको छ । विमानस्थल जस्ता क्षेत्रमा पटक पटक हात धुन सम्भव नभएको कारणले त्यहाँ स्यानिटाइजरको प्रयोग गरिएको पाइन्छ । तर, स्यानिटाइजरमात्रै कोरोनाबाट जोगिनको लागि कति प्रभावकारी छ त ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान ईकाई संयोजक डा. शेरबहादुर पुन सम्भव भएसम्म स्यानिटाइजरभन्दा साबुन पानीले हात धुनु नै स्वास्थ्यको लागि लाभदायक रहेको बताउँछन् । तर, विमानस्थल जस्तो पानीको व्यवस्थापन गर्न नसकिने क्षेत्रमा भने स्यानिटाइजरबाट पनि हात सफा गर्न प्रभावकारी हुने उनको बुझाई छ ।

अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई किसिमले स्यानिटाइजरको प्रयोग गर्ने गरिएको छ । जसमा कर्मचारीहरु ह्याण्ड स्यानिटाइजर प्रयोग गर्ने गर्छन् । जुन समय समयमा हातमा लगाउने गरिन्छ ।

दोस्रोमा यात्रुहरुको लागि स्प्रे गरेर स्यानिटाइजर शरीरमा छर्किने गरिएको छ । यो दुबैको उपयोगिता एकै किसिमको रहेको पुनले जानकारी दिए । कोरोनाको संक्रमण सुरु हुनसक्ने उच्च जोखिमको क्षेत्र यही रहेकोले पनि यहाँ उच्च सतर्कता अपनाइएको छ ।

कसैसँग भेटेपछि वा खानेकुरा खानु अघि नियमित रुपमा स्यानिटाइजरको प्रयोग गर्न चिकित्सकहरु सुझाव दिन्छन् । कोरोनाको संक्रमण हावाबाट भन्दा हात मिलाउँदा छिटो सर्ने भएकोले अहिले हात मिलाउने काम पूर्णत: बन्द गरिएको पाइन्छ ।

पुन सम्झन्छन् चीनबाट नेपाल आउनेहरु अस्पतालमा उपचार गर्न जाँदा पनि हातमा प्लास्टिकको पञ्जा लगाएर आउने गर्छन् । त्यो उच्च सर्तकताको एउटा नमुना हो ।

स्यानिटाइजरको बारेमा भ्रम

स्यानिटाइजरको बारेमा केही भ्रमहरु समेत रहेको पाइन्छ । चिकित्सकहरुका अनुसार सामान्यतया स्यानिटाइजरको एक थोपा हातमा लगाउँदैमा सबै किटाणुहरु मर्छन् भन्ने सोच्नु भने गलत कुरा हो ।

चिकित्सकहरुका अनुसार स्यानिटाइजरको मात्रै प्रयोगभन्दा प्रभावकारी त साबुन पानीले हात धुँदा हुन्छ । तर, यसले पनि भाइरस नियन्त्रणमा कामै गर्दैन भन्नु भने गलत रहेको चिकित्सकहरु बताउँछन् ।

स्यानिटाइजर प्राय: ६० प्रतिशत अल्कोहलको मात्रा समेत हुने गरेको मानिन्छ । त्यो मात्रै किटाणु मार्नको लागि पर्याप्त नरहेको जानकारहरु बताउँछन् ।

ह्यान्ड स्यानिटाइजरको नियमित प्रयोगले छालामा समस्या निम्त्याउन सक्ने भएकोले पनि स्यानिटाइजरभन्दा धेरै उपयोगी हात धुनु नै हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरु स्यानिटाइजरको प्रयोगलगत्तै ह्यान्ड लोसन लगाउने सल्लाह दिइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment