२० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले एसीसी इस्टर्न रिजन टी२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्डमा छ । नेपालमा भने अब केही दिनपछि नै घरेलु क्रिकेटको ठूलो टी २० प्रतियोगिता शुरु हुँदैछ ।
ईपीएल प्रालिको आयोजनामा एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी २० को चौथो संस्करण यही मार्च १४ (चैत) १ देखि शुरु हुँदैछ ।
राष्ट्रिय टिमका खेलाडी प्रतियोगिता खेल्न गएकोले ईपीएलको सहभागी टिमले एक साथ तयारी शुरु गर्न पाएका छैनन् । तर कीर्तिपुरस्थीत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने ईपीएलमा खेल्न आउने विदेशी खेलाडीको नामले भने धेरै नै चर्चा पाएको छ ।
ईपीएलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्छन् । त्यसमा प्रत्येकले ३ विदेशी खेलाडी अनिवार्य राख्नै पर्ने नियम छ । यस्तै सहभागी टिमले ४ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् ।
अहिले फ्रेन्चाइजहरु स्टार विदेशी खेलाडी राख्ने होडमा छन् ।
यसपटक आयोजकले टेष्ट मान्यता प्राप्त देशबाट एक खेलाडी हरेक टिममा हुने पनि जनाएको थियो । त्यसै अनुसार टिमले खेलाडी पनि राखेका छन् । टी २० का किङ उपनाम पाएका क्रिस गेलदेखि न्यूजिल्याण्डका कोरे एण्डरसनसम्म नेपाल आउने पक्का भइसकेको छ ।
यसबाहेक आयरल्याण्डमा केभिन ओ’ब्रायन र पउल स्ट्रलिङ, अफगानिस्तानका मोहमद शाहजाद, श्रीलंकाका उपुल थरंगा, वेष्ट इन्डिजकै ड्वाने स्मिथ र केसरिक विलियम्स जस्ता खेलाडी नेपाल आउने भएका छन् ।
सहभागी ६ मध्ये ५ टोलीले विदेशी खेलाडीको नाम सार्वजनिक गर्दा दोस्रो संस्करणको विजेता विराटनगर वारियर्सले भने अहिलेसम्म विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन । छिटै विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने विराटनगर वारियर्सले जनाएको छ । अहिले कोरोना भाइरसको संक्रमणको कारण फ्लाइटको सेड्युल मिल्न बाँकी रहेकोले विदेशी खेलाडीको नाम सार्वजनिक हुन ढिलाइ भएको फ्रेन्चाइजले जनाएको छ ।
राष्ट्रिय टिमका अलराउण्डर पारस खड्का कप्तान र मार्की खेलाडी रहेको विराटनगरले २०१७ मा ईपीएलको उपाधि जितेको थियो । पारससंगै राष्ट्रिय टिमका करण केसी र बस्नत रेग्मी पनि विराटनगरको टिममा छ । पछिल्लो पटक विराटनगरबाट हङकङका बाबर हायत,नेदरल्याण्ड्सका पउल भान मिकेरेन र रोलोफ भान डेर मर्वे अनी भारतका स्मिथ पटेलले खेलेका थिए । तर यस पटक बाबार हायत ईपीएलमा हुने छैनन् । नेदरल्याण्ड्सका दुई खेलाडी पनि सिरिजमै व्यस्त हुने भएकोले विराटनगरले नयाँ विदेशी खेलाडी ल्याउने जनाएको छ ।
ईपीएलको आयोजकले यस पटक विदेशी खेलाडीको हकमा नयाँ व्यस्था लागु गरेकोले पनि नयाँ नयाँ विदेशी खेलाडीहरु नेपाल आउन लागेका हुन् । २०१८ मा ईपीएल खेलेपछि नेपालमै अन्य लिग खेलेको विदेशी खेलाडीले यस पटक ईपीएल खेल्न नपाउने आयोजकले नियम बनाएको छ । साथै यस पटक आयोजकले आफैं पनि फ्रेन्चाइजलाई विदेशी खेलाडी ल्याउन सहयोगी भूमिका खेलिरहेको छ ।
बाबर हायतले यस बीचमा नेपालमा अन्य लिग पनि खेलेका थिए । हायतसंगै नेपालमा आयर यसअघि खेलिसकेका युएईका रोहन मुस्ताफा, भारतका रवी इन्रदर सिंह, सन्नी पटेल, जयकिसन कोल्सावाल, गौरव तोमार जस्ता खेलाडी नयाँ नियमका कारण यस पटक ईपीएलमा खेल्न आउने छैनन् ।
यस पटक टेष्ट खेलिसकेका खेलाडीहरु समेत नेपाल आउँदैछन् । यसले नेपाली क्रिकेट खेलाडीदेखि समर्थक सबै उत्साहित छन् । विदेशी खेलाडी पनि नेपाल आएर खेल्ने प्रतीक्षामा छन् ।
अहिलेसम्म सहभागी ५ फ्रेन्चाइजले गरी कूल १६ विदेशी खेलाडीको नाम घोषणा भइसकेको छ । दुई फ्रेन्चाइजले ४-४ र दुई प्रनेच्इजले ३-३ विदेशी घोषणा गरिसकेका छन् । यस्तै एक टिमले २ जना मात्र घोषणा गरेको छ । सबै ट टिमले ४-४ जना विदेशी ल्याएमा यस पटक कूल २४ विदेशी खेलाडी हुनेछ ।
पोखराले टेष्ट राष्ट्र वेष्ट इन्डिजबाट गेल र केसरिक विलियम्सलाई अनुबन्ध गर्दा साविक विजेता ललितपुरले श्रीलंकन टिम पूर्व कप्तान उपुल थरंगालाई अनुबन्ध गरेको छ । यस्तै साविक उपविजेता भैरहवाले वेष्ट इन्डिजकै ड्वाने सम्थ र श्रीलंकन जीवन मेन्डिसलाई अनुबन्ध गरेको छ । काठमाडौं किंग्स ११ ले दुई टेष्ट नेशनबाट खेलाडी अनुबन्ध गरेको छ । चितवनले आयरल्याण्डबाट पउल स्ट्रलिङलाई अनुबन्ध गरेको छ ।
विदेशी खेलाडी घोषणा गर्न बाँकी रहेको विराटनगर वारियर्सले पनि टेष्ट नेशकै खेलाडी आउने पक्का भइसकेको र तीन जनाको नाम पक्का भइसकेको जनाइसकेको छ ।
आयोजक ईपीएल प्रालिका म्यानेजिङ डिरेक्टर आमिर अख्तरको भनाई सापटी लिने हो भने विदेशी स्टार खेलाडीको आगमनले ईपीएल अझै ठूलो र भव्य हुनेछ । नेपाली खेलाडीहरुले पनि विदेशी खेलाडीबाट सिक्न पाउने अख्तरको भनाइ छ ।
दक्षिण अफ्रिकाका पूर्व कप्तान हासिम अमला पनि इपीएल खेल्न आउने भनिएको छ । तर उनी कुन टिमबाट खेल्ने भन्ने पक्का भइसकेको छैन । अन्य खेलाडी भन्दा अघि नै अमला नेपालमा खेल्न आउने आयोजकले नै जनाएको थियो ।
यस पटक नेपाल बउन लागेका विदेशी खेलाडीहरु टेष्ट देखि ओडीआई खेलेकासम्म छन् । यस्तै विश्वका अन्य विभिन्न लिगमा खेलिसकेका खेलाडी पनि छन् । क्रिस गेल, केभिन ओब्रायन, कोरे एन्डरसन ब्याटिङमा कीर्तिमान बनाइसकेका खेलाडी हुन् । गेलले टि२० मा एकै खेलमा १७५ रन प्रहार गर्दै कीर्तिमान समेत बनाएका छन् ।
अहिलेसम्म घोषणा भएका विदेशी खेलाडी
ललितपुर प्याट्रिओट्स : ४ जना
उपुल थरंगा : श्रीलंका
हम्मद अजाम : पाकिस्तान
हसन खान : पाकिस्तान
मिर हम्जा : पाकिस्तान
भैरहवा ग्लाडिएटर्स
ड्वाने स्मिथ : वेष्ट इन्डिज
जिवन मेन्डिस : श्रीलंका
मिलिन्दा श्रीवार्दाना : श्रीलंका
बिलाल खान : ओमान
पोखरा राइनोज
क्रिस गेल: वेष्ट इन्डिज
केसरिक विलियम्स : वेष्ट इन्डिज
जर्ज मुनसे : स्कटल्याण्ड
काठमाडौं किंग्स ११
केभिन ओ ब्रायन आयरल्याण्ड
कवरे एण्डरसन न्युजिल्याण्ड
चितवन टाइगर्स
पउल स्ट्रलिङ बयरल्याण्ड
जेम्स पुलर दक्षिण अफ्रिका
टिम डेभिड सिंगापुर
विराटनगर : घोषणा हुन बाँकी
प्रतिक्रिया 4