Comments Add Comment

पारमाणविक विधेयकबाट आणविक प्लान्ट हटाउन संशोधन दर्ता

२० फागुन, काठमाडौं । आणविक प्लान्टमा जान हुन्न भन्दै पारमाणविक विधेयकमा संशोधन परेको छ ।

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमाथि राष्ट्रिय सभा सदस्यहरुले संशोधन प्रस्ताव दर्ता गरेर रेडियो आइसोटप्स मात्रै बनाउने प्रावधान राखेर सच्याउनुपर्ने बताएका छन् ।

सरकारले सुरुमा आणविक भट्टी नै सञ्चालन गर्न सक्ने गरी विधेयक ल्याएको थियो । तर, प्रतिनिधि सभाले पारमाणविक पदार्थ उत्पादनसम्बन्धी सबै प्रावधान झिकेर रेडियो आइसोटप्स मात्रै बनाउन सक्ने गरी विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको थियो ।

प्रतिनिधि सभाले पास गरेको विधेयकको प्रतिवेदनमा रेडियो आइसोटप्स बनाउन आणविक प्लान्ट स्थापना गर्नेसम्बन्धी प्रावधान रहेको र त्यो आवश्यक नरहेको भन्दै राष्ट्रिय सभा सदस्यहरु विमला राई पौडेल र ठगेन्द्र प्रकाश पुरीले संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

पौडेल राष्ट्रपतिबाट मनोनित सांसद हुन् भने पुरी सत्तारुढ दल नेकपाका सांसद हुन् ।

संशोधनकर्ता पौडेलका अनुसार दुई वटा प्रविधिमार्फत रेडियो आइसोटप्स उत्पादन गर्न सकिन्छ । एउटा साइक्लोटन प्रविधि र अर्को आणविक प्लान्ट ।

‘साइक्लोटन प्रविधिमा सुरक्षा, वातावरण लगायतको जोखिम कम हुन्छ’ संशोधनकर्ता पौडेलले अनलाइखबरसँग भनिन्, ‘आणविक प्लान्ट स्थापना गरेर रेडियो आइसोटप्स उत्पादन गर्ने विधिमा जान नेपाल तयार छैन । सुरक्षा, वातावरण प्रदुशण, विकिरणको व्यवस्था, प्लान्ट निर्माणका लागि बजेट लगायतको दृष्टिले यो प्रविधि जोखिमपूर्ण छ ।’

‘यो विधेयकले साइक्लोटन प्रविधिबाट मात्र रेडियो आइसोटप्स बनाउने प्रावधान समेट्नुपर्छ । अन्य प्रविधि प्रयोग गर्न हाललाई विधेयकले बन्देज लगाउनुपर्छ’ पौडेल र पुरीले संयुक्त रुपमा हालेको संशोधन प्रस्तावमा उल्लेख छ ।

सांसद रामनारायण बिडारीले रेडियो आइसोटप्स उत्पादनसम्बन्धी बन्ने नियमावली, निर्देशिका जनताले थाहा पाउने गरी सार्वजनिक हुनुपर्ने माग गरेका छन् ।

विधेयकमाथि ६ जना सांसदले तीन समूहमा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिनिधिसभाबाट गएको पारमाणविक विधेयकमाथि दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment