Comments Add Comment

नागरिकलाई देश नछाड्न भन्ने सरकारका अधिकारीहरु विदेश सयरमा

जापान घुमघाममा रहेको अर्थ समिति सभापति कृष्ण दाहालसहित टोलीका केही सदस्य एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टसँग तस्वीर खिचाउँदै ।

२१ फागुन, काठमाडौं । सरकारले गत हप्ता नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गर्‍यो ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको सरकारले आफ्ना अधिकारीहरुलाई भने विदेश सयर गर्नबाट रोकेको छैन ।

यतिबेला पनि थुप्रै सरकारी टोली विदेश भ्रमणमा छन्, बाँकी टोलीहरु उड्ने तरखरमा छन् ।

ट्राभल एड्भाइजरी जारी भएपछि विदेशमा रहेकाहरु पनि धमाधम फर्कन थाल्नुपर्ने हो । तर विदेश घुमघाममा रहेका सरकारी टोलीले भ्रमण अवधि छोट्याउने त परै जाओस्, थप टोली विदेश जान लाइन लागेका छन् । यो प्रवृत्तिले कोरोना रोकथामको लागि सरकारले देशवासीलाई गरेको आह्वान ढाँटको कुरा बन्न पुगेको छ ।

कतिपय सरकारी अधिकारीहरुको टोली पूर्वनिर्धारित कार्यक्रम भन्दै कोरोना प्रभावित देशहरुमै पुगिरहेको छ । यसले कोरोना रोकथाम होइन, नेपालमा यो भाइरस भित्रिने जोखिम बढेको छ ।

परारष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न सुझाए अनुरुप नेपालले अनुरोध गरेको तर, कसैलाई रोक्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘सरकारी टोलीले विदेशका कार्यक्रम स्थगित गरेको हाम्रो जानकारीमा छ,’ उनले भने, ‘कतिपय अत्यावश्यक भ्रमण भने भएको हुन सक्छ ।’

जापान घुम्दैछ सांसदसहितको टोली

फागुन १८ गते सांसदहरुसहित जम्बो टोली जापान पुगेको छ । जापान कोरोनाबाट बढी प्रभावित हुने देशको सूचीमा तेस्रो स्थानमा छ । तर ‘नेपाल एयरलाइन्सले नारिता सहरमा उडान थालेको अवसरमा’ संसदको अर्थ समिति सभापति कृष्णप्रसाद दाहालसहितको ठूलो टोली जापानमा सयरमा छ ।

टोलीमा सांसदहरु पुष्पा भुषाल, बोधमाया यादव, गणेश पहाडी, सरला यादव, बलबहादुर साम्बाहाम्वे रहेको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । एयरलाइन्सका उप–महाप्रवन्धक गणेशबहादुर चन्द, संचालक समिति सदस्य अच्युतराज पहाडी, व्यापार विभाग प्रमुख टंकनिधि दाहाल पनि यो टोलीमा छन् ।

टोलीमा प्रधानमन्त्री कार्यालयका दीपेन्द्र दाहाल र प्रधानमन्त्री सचिवालयका रामशरण बजगाईसहित पत्रकारहरु निमा कुमारी काफ्ले, कालिका खड्का, वेन्जुकुमारी सुवेदी र खगेन्द्र अधिकारी पनि छन् । पर्यटन मन्त्री योगेश भट्टराईका निजी सचिव प्रेम गुरागाई र सञ्चार संयोजक राजेश राई पनि यही टोलीमा जापानमा छन् ।

यो जम्बो टोलीको जाने–आउने टिकट नेपाल एयरलाइन्स र बस्ने–घुम्ने खर्च नेपाल पर्यटन बोर्डको नेपाल भ्रमण वर्ष २०२० को बजेटबाट व्यहोरेको छ ।

नेपाल वायुसेवा निगमले उडान गन्तव्य बिस्तार गर्दा कम्पनीको व्यापार विभाग प्रमुख जानु सामान्य कुरा हो । तर प्रधानमन्त्री र पर्यटनमन्त्री निकट पत्रकारदेखि असम्बन्धित कर्मचारीसम्मले यो टोलीलाई जम्बो बनाएको छ । ‘असम्बन्धितहरुलाई जापान सयर गराउने तारतम्य पर्यटन मन्त्रालयको जोडबलमा मिलाईएको हो’, नेपाल एयरलाइन्सका एक कर्मचारी भन्छन्, ‘यो कामले ‘उल्फाको धन फुपुको श्राद्व’ भन्ने उखान सम्झाएको छ ।’

घुमघाममा श्रममन्त्री यादव

पर्यटनमन्त्री भट्टराईले आर्थिक रुपमा डुब्दै गरेको नेपाल एयरलाइन्सले एउटा अन्तर्राष्ट्रिय उडान गन्तव्य थपेको अवसरलाई आफूनिकट पत्रकारहरु खुशी पार्ने मौका बनाए भने श्रममन्त्री रामेश्वर राय यादव मौकामा आफैंले चौका हानेर आलोचना खेपिरहेका छन् । उनी एकजना सह–सचिव जाँदा हुने मोरिससको कार्यक्रममा आफैं टोली नेता भएर सोमबार साँझ मात्रै फर्किए ।

मन्त्री लाई विदाई गर्दै म्यानपावर व्यवसायीहरु विमानस्थलको विशिष्ट कक्षमा

कोरोना प्रभावित कोरिया, मलेसियादेखि खाडी राष्ट्रसम्म रहेका ३० लाखभन्दा बढी नेपालीमा त्रास सिर्जना गरिरहँदा उद्धार तथा सचेतना योजना बनाउन व्यस्त हुनुपर्ने नेपालका श्रममन्त्री फागुन १४ गते मरिसस भ्रमणमा श्रीमतिसहित निस्कएका थिए ।

श्रम समझदारी सम्बन्धि संयुक्त कार्य समूहको बैठकमा भाग लिन मन्त्री यादव र सचिव विनोद केसी नै त्यहाँ पुगेका थिए । सह–सचिवको नेतृत्वमा रहेको संयुक्त कार्यसमूहको बैठकमा गएर मोरिसस गएर मन्त्री यादवले मन्त्रीस्तरीय सहमति वा समझदारी गर्ने कुरै भएन । उनले त्यहाँका प्रधानमन्त्री, श्रममन्त्री र कृषिमन्त्रीसँग भेट गरेको भ्रमणपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री यादव यतिमै सिमित छैनन्, उनले फागु पूर्णिमापछि जापान भ्रमण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका छन् । जापान–नेपाल सहकार्यसम्बन्धी समझदारीले नेपाली कामदार आपूर्तिमा निजी क्षेत्रलाई लगाएको रोक फुकाउन उनी आफैं जापान जान चाहन्छन् ।

बजार हेर्ने बेला वाणिज्य टोली बंगलादेश

सरकार कै नीतिलाई गिज्याउँदै विदेश सयरमा मग्न सरकारी टोलीहरुले देशभित्र गर्नुपर्ने आन्तरिक तयारीहरुलाई प्रभावित पारिरहेका छन् । कोरोना त्रासका कारण मुलुकको आपूर्ति व्यवस्था कमजोर बनेको बेला आपूर्ति व्यवस्थाका जिम्मेवार अधिकारीहरु देशभित्र छैनन् ।

औषधि, मास्क, स्यानिटाइजर जस्ता अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सुरु हुन थाल्दा बजार नियमन र व्यवस्थापनमा मूख्य जिम्मेवार कर्मचारीहरु विदेश भ्रमणमा छन् ।

वाणिज्य सचिव डा. वैकुण्ठ अर्याल उच्च तहका अरु सात कर्मचारी लिएर बंगलादेश भ्रमणमा छन् । यो टोली वाणिज्य वार्तालाई निहुँ बनाएर तीन दिनअघि ढाका उडेको हो । कोरोनाले देशभित्रको अवस्था नाजुक बनाएको बेला महत्वपूर्ण समझदारी नहुने वाणिज्य वार्ता स्थगन गर्न कुनै समस्या थिएन ।

कोरोनाले आपूर्ति तथा बजार व्यवस्था भत्किने जोखिम बढेको बेला बाहिरिएको टोलीमा भन्सार विभागका महानिर्देशक सुमन दाहाल, वाणिज्य सह–सचिव नवराज ढकाल, साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता जोशी वैद्य लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment