Comments Add Comment

मास्कको माग बढ्यो, उद्योग बन्द हुन थाले

२४ फागुन, काठमाडौं । नेपालमा सर्जिकल मास्क बनाउन चाहिने कच्चा पदार्थको अभाव भएपछि मास्क उद्योगहरु बन्द हुन थालेका छन् । सर्जिकल मास्क बनाउन चाहिने आवश्यक कच्चापदार्थ चीनबाट नआएपछि उद्योगहरु धमाधम बन्द भएका हुन् ।

व्यापारीले सर्जिकल (पेपर) मास्क बनाउन चाहिने कागज, डोरी, नरम कपडा लगायतका सामानहरु यसअघि चीनबाट ल्याउने गरेका थिए ।

चीनमा जनवरी ३१ देखि नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन थालेपछि व्यापारिक नाका बन्द भएपछि कच्चा पदार्थ अभाव भएको हो ।

यो पनि पढ्नुहोस अभाव टार्न नयाँ मास्क उद्योग खोल्ने तयारी

हालसम्म ६५ भन्दा बढी देशमा कोरोना भाइरस (कोभिड १९) फैलिसकेको छ । कोरोना भाइरस विश्वमा नै फैलिन थालेपछि नेपालमा पनि मास्कको माग ह्वातै बढेको छ । हाल बजारमा मास्कको अभाव देखा परेको छ ।

नेपालमा मास्क उत्पादन गर्न चाहिने कच्चापदार्थ पनि अरुकै भर पर्नुपर्ने अवस्था छ । चीनबाट कच्चापदार्थ आयात नभएपछि अब अन्य देशबाट ल्याउने तयारी भइरहेको व्यापारीहरु बताउँछन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा मास्क फयाक्ट्री सञ्चालन गरिरहेका शैलेश श्रेष्ठले चीनबाट आयात गर्ने कच्चापदार्थ जनवरीदेखि नआएपछि उद्योग बन्द गर्नुपरेको बताए ।

श्रेष्ठले भने, ‘ हप्ता दिन भयो, एउटा पनि मास्क उत्पादन गर्न सकेका छैनौं । बजारमा माग बढ्दो छ । यहीबेला कच्चा पदार्थको अभाव छ । अब भारतबाट ल्याउने तयारी गरिरहेका छौं ।’

दुई वर्षदेखि मास्क बनाउने उद्योग सञ्चालन गरिरहेका श्रेष्ठ यतिवेला सामान नभएर फुसर्दिलो बनेका छन् । उनी भन्छन्, ‘बजारमा मास्कको माग बढेका बेला हामीलाई भ्याई नभ्याई हुनुपर्ने हो । तर, उल्टो भएको छ । उद्योग बन्द गरेर घरमा बस्नुपरेको छ ।’

बजारमा पहिल्यै आएका अर्डरहरु पनि पूरा गर्न नसकेको उनी बताउँछन् । अर्डर पूरा गर्न नसकेकपछि मोबाइल नै अफ गरेर बस्नुपरेको उनले सुनाए ।

श्रेष्ठका अनुसार जनवरीसम्म नेपालमा आएको कच्चापदार्थले मास्क उत्पादन भइरहेको थियो । त्यही सामानले केही हप्ता अगाडिसम्म पुगेको थियो । अहिले स्टक सामान सकियो र यहीबेला बजारमा मास्कको माग हेवातै बढ्यो ।

स्वास्थ मन्त्री भानुभक्त ढकालले केही दिन अघि एक कार्यक्रममा नेपालमा मास्क उत्पादनमा जोड दिन उद्योगहरुलाई आग्रह गरेका थिए । मन्त्री ढकालले कोरोना भाइरसले नेपालीहरुलाई पाठ सिकाएको बताउदै मास्क उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्ने बताएका थिए ।

तर भएका मास्क उत्पादन गर्ने उद्योगहरु पनि कच्चापदार्थ नभएपछि बन्द गरेर बस्नुपरेको छ ।

विदेशबाट सामान नल्याएसम्म मास्क उत्पादन गर्न सम्भव नहुने उत्पादकहरु बताउँछन ।

‘यतिबेला हामीसगँ कच्चापदार्थ भइदिएको भए बजारको माग पुरा गर्न सक्थ्यौ तर अहिले कामदारहरुलाई विदा दिनुपरेको छ, एक व्यापारीले भने ।

भारतमा कोरोना भाइरस देखा परे भारतबाट पनि सामान ल्याउन समस्या हुने व्यापारीहरुको तर्क छ । नेपालमा उद्योगहरुले एक दिनमा  १० हजार थान मास्क उत्पादन गर्दछ ।

नेपालको तीन स्थान मात्रै उद्योगहरुले सर्जिकल मास्क बनाउने गरेका छन् ।

आयात कै भरमा

नेपालमा प्रयोग हुने सर्जिकल मास्क चीन, भारत र बगंलादेशबाट आयात हुने गर्दछ । विशेष गरी एन– ९५ र सर्जिकल मास्क, कपडाको मास्क आयात हुने गरेको छ ।

नेपालमा उत्पादन हुने मास्कले ५ प्रतिशत पनि बजार नधान्ने अवस्था छ । भन्सार विभागको तथ्थाङ्क अनुसार वर्षेनी विदेशबाट १० करोड रकम बराबरको मास्क आयात हुने गरेको छ ।

चीन, भारत र बंगलादेशबाट आयात हुने सर्जिकल मास्क विशेष गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालय, रसुवा गढी भन्सार र भैरहवा भन्सार हुँदै नेपाल भित्रिने गरेको भन्सार विभागका कर्मचारी बताउँछन् ।

पछिल्लो एक महिनामा मास्क आयात केही बढेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यलयमा मात्रै पुसयता १३ लाख ५८ हजार थान मास्क आयात भएको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि आयात पनि बढेको विमानस्थल भन्सारका सूचना अधिकारी राजकुमार अधिकारी बताउँछन् ।

अरुबेला हवाइजहाजमा मास्क नआए पनि अहिले कोरोना भाइरसको त्रासका कारण ठूलो परिमाणमा आयात भइरहेको उनले बताए ।

सबैभन्दा बढी मास्क आयात हुने रसुवागढी नाकाबाट मात्रै साउनयता ३ करोड भन्दा बढी थान मास्क आयात भएको छ । पुस मसान्तभित्र चीनबाट झण्डै ६५ लाख रुपैयाँ बराबरकोे मास्क आयात भएको रसुवागढी भन्सार कार्यलयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

भारतबाट भित्रिने मास्कको संख्या संख्या भने चीनको तुलनामा निकै कम छ । आर्थिक बर्ष ०७६÷ ७७ को साउन देखि यता भैरहवा भन्सार कार्यलयमा १० लाख १६ हजार ५ सय ८८ थान मास्क आयात भएको छ । गत आर्थिक बर्ष ०७५/०७६ मा १४ लाख २८ हजार ३ सय ६ थान मास्क आयात भएको भैरहवा भन्सार कार्यलयका सुचना अधिकारी पुर्ण लम्सालले जानकारी दिए ।

भन्सार विभागको दाबी अनुसार हालै चीनलाई दिइएको अनुदान सहयोग बाहेक हालसम्म नेपालले मास्कको निर्यात गरेको छैन । अहिलेसम्म विदेशबाट आयात भएको मास्कले नै बजार धानिरहेको छ । कपडाको मास्कसमेत विदेशबाटै आयात गर्नुपरिरहेको छ ।

यसैबीच सरकारले मास्क लगायतका अत्यावश्यक वस्तुहरुको अवस्थाबारे अध्ययन गर्ने निर्णय गरेको छ । बिहीबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री ईश्वर पोरखेलको नेतृत्वमा बसेको विभिन्न मन्त्रीहरु सम्मिलित बैठकले अत्यावश्यक वस्तुहरुको उत्पादन र आयात–निर्यातको अवस्थाबारे अध्ययन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment