Comments Add Comment

कोरोनाको अफवाहले कालोबजारी मौलाउँछ : सांसद झाँक्री

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले कोरोनासम्बन्धी अफवाहका कारण बजारमा कालोबजारी मौलाएको र सर्वसाधारण निराश भएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि धारणा राख्दै उनले सामाजिक सञ्जालबाट पनि अफवाह फैलिएको भन्दै सरकारले आधिकारिक सूचना ल्याउन ढिला गर्न नहुने बताइन् ।

‘अफवाहरुको कारणले बजारमा कालोबजारी मौलाउने, मान्छेहरु निराश हुने र यस्ता मानवीय संवेदनाका धेरै पक्षहरु निर्मम कठोर हिसाबमा समाजमा देखिने अवस्था भएकाले सबैभन्दा पहिले सरकारको उपस्थिति चाहिन्छ’ उनले भनिन् ।

कोरोना भाइरसबारे आधिकारिक सूचना सरकारले दिएमा सामाजिक सञ्जालको सूचनाबाट सर्वसाधारण प्रभावित नहुने उनको भनाइ छ । ‘कोभिड–१९ के हो ? भन्ने सन्दर्भमा सरकारको एउटा एकीकृत धारणा आउनुपर्यो । सोसल मिडियामा आएका फरक फरक भनाइजस्तो होइन, ठ्याक्कै जनताले के गर्ने हो ? सरकारको आधिकारिक धारणा आउन जरुरी छ ।’

सरकारले यस्तो बेलामा कालोबजारीको प्रभावकारी नियन्त्रण गर्नुका साथै सामानको पर्याप्त ढुवानीको वातावरण बनाउनुपर्ने झाँक्रीको भनाइ छ । ‘आपूर्ति कमजोर नहोस् भन्नका लागि ढुवानीका साधनहरु आउनेहरुको पनि क्यारेन्टाइनको व्यवस्थित बन्दोबस्त गर्नुपर्छ’ उनले भनिन् ।

कालोबजारी नियन्त्रण गर्न संघीय सरकारका साथै प्रदेश र स्थानीय सरकारहरु पनि लाग्नुपर्ने सांसद झाँक्रीले बताइन् । ‘कालाबजारी नियन्त्रका लागि सरकार एकदमै जाग्नुपर्यो । खाली संघीय सरकार होइन, प्रदेश सरकार, ७५३ स्थानीय सरकारहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।’

उनले नेपालमा कोरोना भाइरसको संक्रमण देखिएमा थेग्न गाह्रो हुने भन्दै पहिल्यै सचेत हुनुपर्ने बताइन् । कोरोना अहिले जनस्वास्थ्यको मात्र नभई विश्वकै अर्थतन्त्रलाई भयावह अवस्थामा पुर्‍याउन लागेको झाँक्रीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment