Comments Add Comment

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो

२३ फागुन, काठमाडौं । मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन उनलाई हिँडडुल गराउन थालिएको चिकित्सकले बताएका छन् ।

शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको बताए ।

प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको पनि अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि अवस्था सुधार भएको र ठोस आहार दिन थालिएको डा. खड्गाले बताए ।

प्रधानमन्त्रीले शुक्रवार विहान घरबाटै लगिएको दाल र दिउँसो खानासमेत खाएका छन् ।

प्रधानमन्त्रीसँग सिमित चिकत्सक बाहेक परिवार र सचिवालयका सदस्यहरुलाई समेत भेट्न भने दिइएको छैन । उनले विहान निजी चिकित्सकको मोबाइलबाट प्रमुख सल्लाहकार विष्णु रिमाललाई फोन गरी आफू चाँडै काममा फर्किने जानकारी गराएका थिए ।

‘तपाई भीडभाडमा हुनुहुन्छ भने ह्याड्स फ्री गरेर सबैलाई सुनाइदिनू, अनि साथीहरुलाई भनिदिनोस्, मेरो स्वस्थ्य तीब्र गतिमा सुधार भइरहेको छ, छिट्टै म काममा फर्किन्छु’ प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रेस सल्लाहकार सूर्य थापाले भने ।

प्रधानमन्त्रीसँग पत्नी राधिकालाई समेत भेट्न दिइएको छैन । खानेकुरा बाहिरबाटै चिकित्सकलाई जिम्मा लगाइदिने गरिएको थापाले बताए । प्रधानमन्त्रीको शल्यक्रियापछि पहिलो रात पोस्ट अपरेटिभ आईसीयू वार्डमा डा. पवन चालिसे साथमा बसेका थिए ।

बिहीबार राति भने युरोलोजी विभागका प्रमुखसमेत रहेका डा.उत्तमकुमार शर्मा र डा. समुन चापागाई प्रधानमन्त्रीसँग बसेका थिए । कुनै पनि संक्रमण नहोस् भनेर चिकित्सकले कडाइ गरेका छन् ।

पूर्वाधारमा अर्थमन्त्रीको चासो

अर्थमन्त्री डा. युवराज खतिवडाले शिक्षण अस्पतालको भौतिक पूर्वाधारमा सरकारले गर्नुपर्ने लगानीका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार विहानै अस्पताल पुगेका खतिवडाले कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गासँग शिक्षण अस्पतालको पूर्वाधारमा राज्यले लगानी थप्ने बताएका हुन् ।

खतिवडालाई कार्यकारी निर्देशक खड्गाले अस्पतालमा कुन कुन पूर्वाधार थप्ने भनेर देखाएका थिए । प्रधानमन्त्री ओलीको मिर्गौला पहिलोपटक प्रत्यारोपण गरेका भारतीय डाक्टर अनन्त कुमारले शिक्षण अस्पतालको शल्यक्रिया कक्ष आफू काम गर्ने अस्पतालको भन्दा राम्रो रहेको भन्दै प्रशंसा गरेको खड्गाले बताए ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेकपा सचिवालयका सदस्यहरुमध्ये झलनाथ खनालबाहेक सबै नेताहरु अस्पताल पुगेका छन् । अध्यक्ष प्रचण्ड शल्यक्रिया हुनुभन्दा अघिल्लै दिन अस्पताल गएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल शल्यक्रिया भएपछि गएका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ,ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल लगायतका दिनमा एकपटक अस्पताल पुगेका छन् । उनीहरुले चिकित्सकबाट प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकार लिने गरेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे शुक्रबार अस्पतालले जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment