Comments Add Comment

साताका ५ किताब : कवितादेखि गैरआख्यानसम्म

२४ फागुन, काठमाडौं । यो साता बजारमा आएका पुस्तकमा कविता र गैरआख्यानको बाहुल्य रह्यो । गत शनिबार मणि लोहनीको ‘मृत्युको अघिल्तिर’ कविता संग्रह र यो साता निमेषराज सापकोटाको ‘खोज्दै हिँड्दा आफैंलाई’ बजारमा आए ।

त्यसैगरी भारतीय दार्शनिक राहुल सांस्कृत्यानको बौद्ध दर्शनको नेपाली अनुवाद पनि बजारमा आयो । कथाकार एवं कवि राजेन्द्र पराजुलीको संस्मराणात्मक निबन्धको संगालो ‘कोटेश्वरको केटो’ पनि बजारमा आउँदैछ ।

पुस्तकमा लगाइएको करको विरोधस्वरुप केही प्रकाशकले विगत दुई हप्तादेखि नयाँ पुस्तक प्रकाशन गरेका छैनन् ।

यो साता बजारमा आएका पाँच पुस्तक:

मृत्युको अघिल्तिर

दुई दशकदेखि कविता लेखन र सञ्चारकर्ममा सक्रिय कवि मणि लोहनीको नयाँ कविता संग्रह ‘मृत्युको अघिल्तिर’ बजारमा आएको छ । संग्रह अघिल्लो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको थियो ।

संग्रहमा प्रेम, जीवन र सामाजिक विसंगतिलाई केन्द्रमा राखेर लेखिएका लामा छोटा कविताहरु समेटिएका छन् । संग्रह शिखा बुक्सले प्रकाशन गरेको हो ।

हिन्दू राजनीतिक विचारधारा

डा. लीलामणि पाण्डेयद्वारा लिखित गैरआख्यनात्मक पुस्तक ‘हिन्दु राजनीतिक विचारधारा’ हिन्दु दर्शनको आधुनिकतासँग सम्बन्धित छ । उनका दर्शनशास्त्र र अनुसन्धानात्मक लेखरचना प्रकाशित छन् ।

धर्मशास्त्रमा शास्त्री र राजनीतिशास्त्रमा विद्यावारिधि गरेका पाण्डेको यसअघि ‘बृहस्पति नीतिसुत्र’नाम पुस्तक प्रकाशित छ । व्यक्तिगत प्रकाशनमा प्रकाशित पुस्तकको मूल्य ४ सय रुपैयाँ छ ।

बौद्ध दर्शन

प्रसिद्ध भारतीय दार्शनिक एवं लेखक राहुल सांस्कृत्यानको ‘बौद्ध दर्शन’ नामक पुस्तकको नेपाली अनुवाद बजारमा आएको छ । बौद्ध दर्शनका सिद्धान्त र मान्यतामाथि केन्द्रित रहेको पुस्तकलाई लेखक ललिजन रावलले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

पुस्तकमा ‘गौतम बुद्धका मूल सिद्धान्त’, ‘गौतम बुद्ध’, ‘बौद्ध सम्प्रदाय’ र ‘बौद्ध दर्शनको चरम विकास’ गरी पाँच अध्याय छन् । पुस्तकमा बौद्ध दर्शनका मूलभूत सिद्धान्तलाई सरलीकरण गरिएको छ ।

इन्डिगो इन्कले प्रकाशित गरेको २ सय ४ पृष्ठको पुस्तकको मूल्य २९९ राखिएको छ ।

खोज्दै हिँड्दा आफैंलाई

निमेषराज सापकोटाको पहिलो कविता संग्रह ‘खोज्दै हिँड्दा आफैंलाई’बजारमा आएको छ । युवा कवि सापकोटा फुटकर कविता र अखबारी लेखनमा रुची राख्छन् । पाँच भागमा बाँडिएको कविता संग्रहमा ३५ कविता समेटिएका छन् । ‘इन्डिगो इन्क प्रकाशन’ले प्रकाशित गरेको कवितासंग्रहको मूल्य २५० रुपैयाँ छ ।

कोटेश्वरको केटो

कथाकार एवं निबन्धकार राजेन्द्र पराजुलीको संस्मराणात्मक निबन्धहरूको संगालो ‘कोटेश्वरको केटो’ यसै साताबाट बजारमा आउँदैछ । पराजुलीले जीवनका विभिन्न कालखण्डमा देखेभोगेका अनुभूतिपरक र सृजनात्मक निबन्ध समेटेर ‘कोटेश्वरको केटो’ लेखेका हुन् ।

अघिल्लो वर्ष ‘अघोरी’ कथासंग्रह प्रकाशित गरेका पराजुलीले साहित्यका प्रायः सबै विधामा कलम चलाएका छन् ।

फिनिक्स बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३५० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment