
२५ फागुन, काठमाडौं । विश्वभरि सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दीमा भन्दा ठूलो असर देखिने सरोकारवालाले बताएका छन् ।
चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो ।
नेपाल चेम्बर अफ कमर्समा भएको एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले ३०, ४० जना व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गरे ।
‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ । ३०, ४० जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, उनले भने ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेशकुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनुपर्ने बताए । उनले जथाभावी भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गरे ।
६० वर्षभन्दा माथिका नागरिक, मधुमेह, मुटुसम्बन्धी समस्या र दमका रोगीहरुलाई संक्रमणको दर बढी देखिएको उल्लेख गर्दै उनले समयसमयमा साबुनपानीले हात धुन आग्रह गरे ।
पहिलो पटक कोरोनाको आशंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनामा बाहेक यसको संक्रमण देखिएको छैन । संक्रमण देखिएका व्यक्ति पनि उपचार पछि घर फर्किसकेका छन् । यद्यपी कोरोनाको आशंकामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या भने बढिरहेको छ ।
प्रतिक्रिया 4