+
+
Shares

व्यवसायी प्रसिद्ध पाण्डेको पुस्तक सार्वजनिक, १०० अर्ब डलरको आर्थिक दृष्टि

लेखक पाण्डेले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण आम्दानी  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार, दूरसञ्चार, औद्योगिक सहकार्य, लगानी र पर्यटन क्षेत्रमा काम गरेका प्रसिद्धबहादुर पाण्डेको पुस्तक ‘प्राइम मिनिस्टर एन्ड प्रस्पेरिटी : गेटिङ नेपाल टु १०० बिलियन जीडीपी’ सार्वजनिक भएको छ ।
  • पाण्डेले पुस्तकमा नेपालको सम्भावनालाई उत्पादन, निर्यात, रोजगारी, लगानी र सार्वजनिक आम्दानीमा रूपान्तरण गर्न नसक्नु प्रमुख आर्थिक चुनौती भएको बताएका छन् ।
  • उनले प्रधानमन्त्री कार्यालयलाई प्रभावकारी बनाउन ‘प्राइम मिनिस्टर डेलिभरी सिस्टम’ प्रस्ताव गर्दै पुस्तक बिक्रीको सम्पूर्ण आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने प्रतिबद्धता जनाएका छन् ।

२९ भदौ, काठमाडौं । पूर्वाधार, दूरसञ्चार, औद्योगिक सहकार्य, लगानी, आतिथ्य तथा पर्यटन क्षेत्रमा चार दशकभन्दा बढी समय काम गरेका उद्यमी तथा विकास अभियन्ता प्रसिद्धबहादुर पाण्डेले लेखेको पुस्तक सार्वजनिक भएको छ ।

पाण्डेले लेखेको पुस्तक ‘प्राइम मिनिस्टर एन्ड प्रस्पेरिटी : गेटिङ नेपाल टु १०० बिलियन जीडीपी’ सार्वजनिक गरिएको हो । लेखक पाण्डेले नेपालको आर्थिक दिशाप्रति आफ्नो चिन्तालाइ पुस्तकमार्फत प्रस्तुत गरेका छन् ।

अर्थतन्त्रका विभिन्न क्षेत्रमा हासिल गरेका अनुभवका आधारमा पाण्डेले नेपालको सम्भावनालाई मापनयोग्य आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने उपायबारे पुस्तकमा चर्चा गरेका छन् ।

होटल एसोसिएसन नेपाल (हान) का पूर्वअध्यक्ष तथा हाल सांग्रिला हस्पिटालिटी ग्रुपका अध्यक्ष रहेका पाण्डेले आफ्नो व्यावसायिक जीवनको ठूलो हिस्सा नेपालको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएका क्षेत्रमा बिताएका छन् ।

उनले व्यावसायिक यात्रामा अल्काटेल र मित्सुबिसी जस्ता अन्तर्राष्ट्रिय कम्पनीलाई नेपाल भित्र्याउन भूमिका निर्वाह गरेका छन् । दूरसञ्चार क्षेत्रको विकासमा योगदान पुर्‍याउनु तथा नीति, पूँजी र कार्यान्वयनबीच समन्वय आवश्यक पर्ने औद्योगिक परियोजनामा सहकार्य गर्नु उनको विशेषता हो ।  उनी नेपालमा उच्चस्तरीय आतिथ्य तथा पर्यटन पूर्वाधार विकासमा समेत संलग्न छन् ।

आफ्नो पुस्तकमा पाण्डेले नेपालको प्रमुख आर्थिक चुनौती राष्ट्रिय प्रतिबद्धता र सम्भावनालाई उत्पादन, निर्यात, रोजगारी, लगानी तथा सार्वजनिक आम्दानीमा रूपान्तरण गर्न नसक्नु रहेको बताएका छन् ।

उनले प्रधानमन्त्री कार्यालयलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय प्राथमिकतामा स्पष्ट जिम्मेवारी, लक्ष्य, समयसीमा र सार्वजनिक प्रतिवेदन सहितको ‘प्राइम मिनिस्टर डेलिभरी सिस्टम’ प्रस्ताव गरेका छन् ।

१ सय अर्ब (१ खर्ब) अमेरिकी डलरको कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई आर्थिक विस्तारको मापदण्डका रूपमा अघि सार्दै पुस्तकले दक्षिण कोरिया, मलेसिया, भियतनाम, भुटान र सिंगापुरका अनुभवबाट सिकाइ प्रस्तुत गरेको छ ।

नेपालको भौगोलिक अवस्था, स्रोत र सम्भावनालाई दीर्घकालीन आर्थिक वृद्धिमा रूपान्तरण गर्न प्रभावकारी कार्यान्वयन र समन्वित शासन प्रणाली आवश्यक रहेको पाण्डेको निष्कर्ष छ ।

पाण्डेको पुस्तक जनै पूर्णिमाका दिन काठमाडौंका सबै प्रमुख पुस्तक पसलसँगै अमेजन र एप्पल बुक्ससहित उपलब्ध सबै अनलाइन पोर्टल मार्फत सार्वजनिक गरिएको थियो ।

लेखक पाण्डेले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण आम्दानी  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?