
२६ फागुन, विराटनगर । कोरोना भाइरसको त्रासका कारण विराटनगरमा होलीको रौनक छैन । स्थानीय प्रशासनले होली खेल्दा सावधानी अपनाउन आग्रह गरेपछि होलीको पूर्व निर्धारित कार्यक्रमहरु रद्द भए ।
कोरोना भाइरसको त्रासले सर्वसाधरण सतर्क बनेपछि बजारमा किनमेल गर्नेको चाप घटेको छ । बजारका पसलमा होली खेल्दा लगाउने टिसर्ट बिक्रीका लागि राखिएको छ । तर बिक्री नभएको ब्यापारी बताउँछन् ।
होलीको टिसर्ट विक्रीका लागि बसेका योगेश मण्डल यो वर्ष ग्राहक नै नआएको बताउँछन् ।
होलीका लागि बजारमा टिसर्ट फालाफाल छ तर बजारमा मास्कको भने अभाव छ । होलीको सामाग्री भन्दा मास्क खोज्दै औषधि पसलमा पुग्ने सर्वसाधारणको भीड बाक्लो छ । ‘बजारमा माक्स नै भेटिदैन’ नेपाल औषधि व्यावसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकाल भन्छन् ‘म औषधि व्यावसायी हुँ, म आफैंले खोजी गर्दा पनि भेटेको छैन ।’
होलीका सामाग्री जताततै पाइए पनि मेडिकल मास्कको भने कालोबजरी भएका कारण अभाव भएको उनले बताए ।
रोकिए होलीका कार्यक्रम
कोरोना भाइरस संक्रमणको त्रासका कारण होलीका लागि निर्धारित अधिकांश कार्यक्रम रद्द भएका छन् । विराटनगरमा होलीको एक साता अघिदेखि होली मिलन कार्यक्रम आयोजना गर्ने परम्परा थियो । तर कोरोना भाइरसको त्रासका कारण विराट व्यापार संघ बाहेकले कार्यक्रम स्थगित गरेका हुन् । गत शुक्रबार व्यापार संघले भने होली मिलन कार्यक्रम गरेको थियो ।
कोरोना भाइरसको त्रासका कारण मारवाडी युवा मञ्चले आयोजना गर्ने होली ‘अलबेलो बारात’ र होली रंगारंग कार्यक्रम स्थगित गरेको छ ।
त्यस्तै मोरङ व्यापार संघले गर्ने होली मिलन कार्यक्रम पनि स्थगित भएको छ ।
बीएफएमले पनि होली मिलन कार्यक्रम स्थगित गरी क्यान्सर पीडित पत्रकार कमल पौडलको स्वास्थ्य उपचारका लागि २५ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4