Comments Add Comment

प्रहरी प्रमुख ज्ञवालीले दिए सर्वोच्चमा लिखित जवाफ

२७ फागुन, काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले विप्लव समूहका कार्यकर्ता अदालतको आदेशमा रिहा भएपछि फेरि अपराध गर्न सक्ने हुनाले पक्राउ गरेको प्रष्टिकरण दिएका छन् ।

विप्लव समूहका कार्यकर्ता अदालतको आदेशमा रिहा हुनेवित्तिकै पक्राउ परेको विषयमा सर्वोच्चले मागेको लिखत जवाफ पेश गर्दै उनले पुन अपराधमा संलग्न हुने देखिएकाले पक्राउ गरेको बताएका हुन् ।

मंगलबार अदालत उपस्थित भएका उनले अदालतको अवहेलना गर्ने आफूहरुको मनसाय नभएको बताए ।

तर अदालतको आदेशमा रिहा भएका व्यक्तिले फेरि गैर कानूनी कार्य गर्न सक्दैनन् भन्ने अनुमान गर्न नसकिने आईजीपी ज्ञवालीले आफ्नो लिखित जवाफमा उल्लेख गरेका छन् ।

उनले अदालत परिसरबाटै भने कसैलाई पक्राउ नगरेको प्रष्टिकरण पनि दिएका छन् ।

विप्लव समूहका कार्यकर्ता भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई गैरकानूनी थुनामा राखेको भन्दै भीमप्रसाद शर्माले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

उक्त रिटमाथि गत शुक्रबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको इजलासले अदालतको आदेशमा रिहा भएकालाई प्रहरीले पक्राउ गरेर अदालतको अवहेलना गरेको भन्दै प्रहरीको जवाफ मागेको थियो ।

सर्वोच्चले प्रहरी महानिरीक्षक, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी प्रभाग सिंहदरबार र सोह्रखुट्टेसँग जवाफ मागेको थियो । मंगलबार यी चारवटै निकायका प्रहरी अधिकारीले सर्वोच्चमा जवाफ दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment