
विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासका कारण मनोरञ्जन दुनियाँलाई पनि असर परेको छ । हलिउड र बलिउडका रिलिज हुन लागेका चलचित्रहरु धमाधम पछि सरेका छन् । यसको असर नेपाली चलचित्र बजारमा पनि परिरहेको छ ।
केही दिन अगाडि मात्र चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले कोरोना त्रासकै कारण चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि पछि सारेको थियो । अब, चैत्रको ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘निरफूल’को प्रदर्शन मिति पनि पछि सारिएको छ ।
निर्माणपक्षले कोरोनाको त्रासकै कारण चलचित्र पछि सार्नुपरेको बताएको छ । नेपाल सरकारले सभा, सम्मेलन नगर्नु र भीडमा नजानु भनेर नागरिकलाई सजग गराइसकेको छ ।
यसैले, संचारकर्मी फूलमान वलको निर्देशनमा तयार भएको चलचित्रको प्रदर्शन मिति सारिएको हो । यो चलचित्रको प्रदर्शन मिति फागुण ३० गते तोकिएको थियो, तर ‘म यस्तो गीत गाउँछु २’ यो मितिमा आउने भएपछि एक साता पछि सारिएको थियो ।
यो चलचित्रमा दयाहाङ राई, शान्ती वाइबा, बुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया 4