Comments Add Comment

लेइपजिग र एटलान्टा पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

साविक उपविजेता टोटनहम बाहिरियो

कोरोनाको त्रासले बन्द रंगशालमा खेल । साविक उपविजेता टोटनहम हट्सपर प्रिक्वाटरफाइनलबाटै बाहिर अनी दुई नयाँ क्लब पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ।

विश्व खेलकुदनै अहिले कोरोना भाइरसको त्रासमा छ । कतै खेल रोकिनेदेखि कतै बन्द रंगशालमा बिना दर्शक खेल खेलाउनुपर्ने बाध्यता छ ।

यस्तोमा युरोप कै प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जित हात पार्दै जर्मन क्लब आरबी लेइपजिग र इटालियन क्लब एटलान्टा पहिलो पटक क्वाटरफाइनल पुगे । दुवैले विपक्षीमाथि शानदार जित नै हात पारे ।

उता गत वर्षको उपविजेता रहेको इंग्लिस क्लब टोटनहम हट्सपरको यात्रा भने यस पटक अन्तिम १६ बाटै टुङ्गियो ।

लण्डन क्लब टोटनहम लेइपजिगसँग दोस्रो लेगमा ३-० को लज्जास्पद नतिजामा पराजित भयो । पहिलो लेगमा घरेलु मैदानमै १-० ले पराजित टोटनहमका लागि अगाडि बढ्न दोस्रो लेगमा जितको विकल्प थिएन । तर घरेलु मैदानमा मार्सेल सवितजरले दुई गोल गरेपछि लेइपजिगले सहज जित हात पार्‍यो ।

उनले पहिलो हाफमै दुई गोल गर्ने क्रममा १०औं र २१औं मिनेटमा गोल गरे । खेल सकिन ३ मिनेट अगाडि एमिल फोसवर्गले एक गोल थप्दै लेइपिजगलाई ३-० को जित दिलाए ।

एक दशकअघि मात्र स्थापना भएको क्लब लेइपजिगले अहिले युरोपमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

जोसिफ इलिसिसको ४ गोल

यस्तै जोसिफ इलिसिसले ह्याट्रिकसहित चार गोल गरेपछि इटालियन क्लब एटलान्टाले पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

भ्यालेन्सियालाई उसैको मैदानमा दोस्रो लेगमा ४-३ ले पराजित गरेपछि एटलान्टाले समग्रमा ८-४ को जित हात पारेको हो । पहिलो लेगमा एटलान्टाले ४-१ को जित हात पारेको थियो । भ्यालेन्सियाको घरेलु मैदानमा भएको दवस्रो लेगको खेलमा कुनै दर्शक उपस्थित थिएनन् । भ्यालेन्सियाका लागि केभिन गमेइरोले दुई र फेरान टोरेसले एक गोल गरे ।

एटलान्टालका इलिसिसले दुवै हाफमा २-२ गोल गरे । खेलको तेस्रो मिनेटमै गोल गरेका उनले ४३औं, ७१औं र ८२औं मिनेटमा गोल गरे । भ्यालेन्सियाका गमेइरोले २१औं र ५१औं तथा पेरान टवरेसले ६७औं मिनेटमा गोल गरे ।

एटलान्टाका इलिसिस च्याम्पियन्स लिगको नकआउटमा एकै खेलमा चार गोल गर्ने चौथो खेलाडी समेत बने । च्याम्पियन्स लिगमा भने उनी एकै खेलमा ४ गोल गर्ने समग्रमा १५औं खेलाडी हुन् ।

यसअघि लिओनल मेसीले सन् २००९-१० र २०११-१२, मारियो गोमेजले २०११-१२ र रोवर्टो लेवान्डोस्कीले २०१२-१३ मा नकआउट चरणमा एकै खेलमा चार गोल गरेका थिए । मेसीले सन् २०१२ मा वायर लेभरकुजन विरुद्ध एकै खेलमा ५ गोल समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment