Comments Add Comment

कोरोनाको संक्रमण रोक्न बेलायतले केके गर्दैछ ?

२९ फागुन, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढिरहेको अवस्थामा जोन्सनले बिहीबार आपतकालीन बैठक बोलाएका हुन् । बैठकपछि बेलायतले विद्यालय, फुटबल प्रतियोगिताहरु बन्द गर्नुका साथै सबै मानिसलाई घरमै बस्न अनुरोध गर्ने अपेक्षा गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट बेलायतमा अहिलेसम्म ८ जनाको ज्यान गएको छ भने ४५६ जना संक्रमित भएका छन् । तर बुधबार मात्र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि सबै देशले थप सतर्कता अपनाएका छन् ।

डेलीमेलका अनुसार बेलायतमा अस्पतालहरुले आपतकालीनबाहेक हजारौं अपरेशन रोकेका छन् । यस्तै अबको केही साताका लागि तय गरिएको कन्सर्ट, खेलकुदका कार्यक्रम र चाडपर्वहरु पनि सर्न सक्ने वा बन्द कोठाभित्र आयोजना हुन सक्ने बताइएको छ ।

कोरोना भाइरसको प्रकोप बढेसँगै साउदी अरेबिया र भारतले पनि यस्तै योजना अघि सारेका छन् । अमेरिकाले पनि यूरोपको भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ ।

बेलायतलाई पनि त्यत्तिकै रोक्न सम्भव छैन भन्ने महसुस भएकाले प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाएका छन् ।

बेलायती स्वास्थ्यमन्त्रीले भने बुधबार बन्द गराउने सरकारको कुनै पनि योजना नरहेको बताएका थिए । उनकाअनुसार संसद्सम्म पनि बन्द नगराउने पक्षमा सरकार छ ।

बेलायती स्वास्थ्य अधिकारीले आफूमा कोरोना भाइरससम्बन्धी कुनै पनि लक्षण देखा परेको खण्डमा आफैंलाई क्वारेन्टाइनमा राख्न आफ्ना नागरिकहरुलाई सुझाव दिएका छन् ।

बेलायतले कोरोना भाइरसबाट पार पाउन ३० अर्ब पाउण्ड स्टर्लिङ खर्च गर्ने योजना अघि सारिसकेको छ ।

केन्द्रीय बैंकले अर्थतन्त्रमा पर्नसक्ने क्षति न्यूनीकरण गर्न ब्याजदर शून्य दशमलव २५ प्रतिशत अंक घटाउने निर्णय गरेको छ । बैंक अफ इंगल्याण्डले एक दशकअघिको वित्तीय संकटयता पहिलोपटक विना कुनै योजना ब्याजदर घटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment