Comments Add Comment

६ महिने शिशुको होस खुल्दा आमाबुबा संसारबाटै अलप !

सबैलाई भावुक बनाउने छ महिने शिशुको चित्कार

२७ फागुन, कैलाली । धनगढीस्थित माया मेट्रो अस्पतालको आईसीयूमा ६ महिनाकी शिशु ममता भण्डारी ओठ–मुख सुकाउँदै च्याँ च्याँ रोइरहेकी छन् । उनको रुवाइले सबैलाई भावुक बनायो ।

‘ममताका अभिभावक को हुनुहुन्छ’ भित्रबाट सिस्टर कराइन् ।

बाहिरबाट कसैको आवाज आएन ।

बेहोस अवस्थामा अस्पताल भर्ना गरिएकी शिशुको अहिले होस खुलेको छ । उनी बेलाबेलामा रुन्छिन् । उनको रुवाइले सबै भावुक बन्छन् । आमाको काखमा खेल्नुपर्ने बालिका अहिले अस्पतालको शैयामा एक्लै छट्पटाइरहेकी छन् । बाबुआमा दुबैले यो संसार छाडिसकेको, यी अवोध शिशुलाई के थाहा ?

जन्म दिने आमा र बुवा दुबैको बिभत्स हत्या भयो । ममता पनि जीवन र मृत्युको दोसाँधमा छिन् । ६ महिनामा टुहुरी बनेकी शिशुलाई आफन्तले पालो गरेर अस्पतालमा कुरिरहेका छन् ।

१४ गते राति आमा र बुवाको हत्या भएको प्रहरीले आशंका गरेको छ । १५ गते दिउँसो ममताको उद्धार भएको हो ।

 

 

अस्पताल पुर्‍याउँदासम्म ममताको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । तर, अहिले धिमा गतिमा स्वास्थ्यमा सुधार आएको आईसीयूकी इञ्चार्ज रुमला शाहीले बताइन् ।

‘यहाँ ल्याउँदा बोहोस अवस्थामा थिइन् । केही खान सक्ने अवस्था थिएन,’ उनले भनिन्, ‘बाहिर केही चोट थिएन । उनलाई कतै फालिएको हुनुपर्छ, त्यसैले टाउकोभित्र चोट देखियो ।’

कसरी अनाथ भइन् त शिशु ?

ममताकी सानीमा पार्वती रावलले बेलिबिस्तार लगाइन् ।

‘फागुन १५ गते दिउँसो करिब १ः३० दिदी (धनादेवी भण्डारी) र भिनाजु (जयलाल भण्डारी) को घरमा गएकी थिएँ । घर पुरै सुनसान थियो । घरमा कोही नदेखेर फर्किने क्रममा शिशु रोइरहेको आवाज सुनें । ढोका खोलें । रगताम्य अवस्थामा भिनाजु र छोरीलाई देखें ।’

त्यसपछि ?

‘दिदीलाई त्यो कोठामा कतै देखिनँ । नजिकै रहेको भान्सा घरमा हेरें । दिदीलाई त्यहाँ भेटें । उहाँ पनि रगताम्य अवस्थामा हुनुहुन्थ्यो । अनि प्रहरीलाई खबर गरें ।’

५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या रहस्यमय बनेको छ । घटना भएको दुई साता पुग्न लाग्दा पनि दोषी पक्राउ पर्न सकेका छैनन् ।

प्रहरी भन्छ– चाँडै पक्राउ पर्छन्

भण्डारी दम्पतीको विभत्स हत्या गरेर दोषी फरार भएको प्रहरीको भनाइ छ । तर, घटनामा संलग्नहरु केही दिनभित्रै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेल बताउँछन् ।

‘हामी घटनाको गहन अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘केही दिनभित्रै परिणाम आउने छ ।’

घटना अनुसन्धानकै क्रममा रहेकाले केही भन्न नमिल्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment