+
+

नेकपाकै मोडेलमा राप्रपाको एकता, सूबथाको चर्चा हुँदा छोराको खोजी !

गीता छोएर नफुट्ने कसम, राजसंस्था र हिन्दुराष्ट्र मुख्य मुद्दा

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ फागुन २८ गते १९:१६

२८ फागुन, काठमाडौं । पूर्वपञ्चहरुको पार्टी राप्रपाका तीनवटा भंगालाहरु बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरेर एकै ठाउँमा मिसिएका छन् । तर, नेताहरु यिनै हुन्, जसले चार बर्षअघि पनि यसैगरी पार्टी एकताको घोषणा गरेका थिए ।

बुधबार एक भएका राप्रपाका तीनै समूह हुन्, जसले करिब चार बर्षअघि घोषणा गरेको एकता टिक्न सकेन । अहिलेसम्म आउँदा नेताहरुले गीताको किताब छोएर कसम खानुपरेको छ ।

२०७३ फागुनमा सम्पन्न एकता महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भएका थिए । उनी अध्यक्षमा निर्वाचित भएको ६ महिना पनि हुन नपाउँदै राणा र लोहनीले छुट्टाछुट्टै पार्टी गठन गरे ।

केही समयपछि राणा र लोहनीको पार्टी मिल्यो र राप्रपा संयुक्त बन्यो । कमल थापाले बेग्लै पार्टी चलाए ।

बुधबारदेखि फेरि तीनै नेताहरु एक ठाउँमा आएका छन् ।

बुधबारको घोाषणा सभामा चार बर्षअघिको पार्टी एकतालाई अध्यक्ष थापाले सम्भिmए । राप्रपाका धारहरु पुनः एक भएकोमा उनले खुसी प्रकट गरे ।

अब फेरि पार्टी फुटाउने कि नफुटाउने भन्ने सन्दर्भमा बुधबार केही फरक दृश्य देखियो । एकीकृत पार्टीका अध्यक्षत्रय थापा, राणा र लोहनीले हिन्दूको धार्मिक ग्रन्थ गीता साक्षी राखेर पार्टी नफुटाउने प्रतिज्ञा गरे ।

अध्यक्ष थापाले गीताको गुटिका हातमा लिएर देखाउँदै भने, ‘यो गीता हातमा राखेर कसम खान्छु, राप्रपालाई फुट्न दिन्नँ ।

‘यहाँ गीता पनि छ’ भनेर भूमिका बाँध्दै अर्का अध्यक्ष लोहनीले पनि बाचा गरे, ‘चिन्ता नगर्नुस् हामी यो पार्टी एक बनाएर लैजान्छौं, लैजान्छौं, लैजान्छौं । धर्म र कर्ममा विश्वास गरेर जान्छौं ।’

तर, अध्यक्ष राणाले भने गीता साक्षी राखेर कसम खाएनन् । उनले भाषण सकेर विदा मागिसकेका थिए । हलमा रहेका कार्यकर्ताबाट दबाव गयो, ‘गीता छोएर पार्टी नफुटाउने खसम खानुपर्छ । कार्यकर्ताको दबावपछि मञ्चमा फर्किएर राणाले भने, ‘यो पार्टी फुट्न दिन्नौं ।’

गीता नै छोएर अध्यक्षत्रयले पार्टी नफुटाउने प्रतिज्ञा गरेपछि सभामा उपस्थित नेता तथा कार्यक्रता उत्साही देखिन्थे । पार्टी नफुटाउने प्रतिज्ञामा हुटिङ गर्दै उनीहरुले ताली बजाएर साथ दिए । कार्यकर्ता भन्दै थिए, ‘अब केही हुन्छ कि !’

एकता सभामा राष्ट्रिय सभागृहको हल पनि खचाखच थियो । बाहिर पनि नेता तथा कार्यकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो ।

नेकपाकै मोडलमा एकता

कम्युनिस्टको विरोध गरे पनि राप्रपा सत्तारुढ दल नेकपाकै मोडलमा एक भएको छ । नेकपामा अध्यक्ष दुईजना छन्, राप्रपामा भने तीनजना ।

नेकपाले महाधिवेशनपछि एकजना अध्यक्ष रहने भनेको छ, राप्रपाका नेताहरुले पनि एकता सभामा यही भनेका छन् ।

पार्टी संगठनको एकताको विषयमा पनि राप्रपाले नेकपाकै मोडल अपनाउनेछ । राप्रपाका नेता राजाराम श्रेष्ठका अनुसार पार्टीका सबै संगठनहरुको संरचना कस्तो बनाउने ? कति सदस्य हुने ? नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने जिम्मा अध्यक्षत्रयले पाएका छन् ।

‘अध्यक्षत्रयले बसेर गरेको निर्णय सबैले मान्नुपर्ने हुन्छ । अहिले एकीकृत राप्रपामा अध्यक्षत्रय मात्र हुनुहुन्छ’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

राजसंस्था  र हिन्दुराष्ट्र मुख्य मुद्दा

एकीकृत राप्रपाले संवैधानिक राजसंस्थ्ाा र नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयलाई मुख्य मुद्दाका रुपमा उठाउने भएको छ । यो विषय उनीहरुले यसअघि पनि उठाउँदै आएका थिए । अब जनतामा लिएर जाने अध्यक्ष त्रयको प्रतिवद्धता छ ।

अध्यक्ष लोहनीले २५० बर्ष अगाडि खडा भएको राजसंसस्था नेपालका लागि आवश्यक रहेको तर्क गरे । बेलायत, जापान, स्वीडेन र थाइल्याण्डमा राजसंस्था रहेको उदाहरण दिँदै उनले भने, ‘नागरिकहरुलाई मनोवैज्ञानिक रुपमा सुरक्षा दिन नेपालमा राजसंस्था आवश्यक छ ।’

अध्यक्ष राणाले जनताबाट दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गरेर राजसंस्था र हिन्दु राष्ट्रलाई पुर्नस्थापित गरिने दाबी गरे ।

अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्रको विषयलाई उठाएरै कम्युनिस्ट र कांग्रेसको विकल्पमा रुपमा स्थापित हुने उद्घोष गरे ।
समाजवादी र राजापातर्फ लक्षित गर्दै उनले भने, ‘केही पार्टीहरु आफूलाई तेस्रो शक्तिका रुपमा दाबी गर्दै आएका छन । तर, कांग्रेस र कम्युनिस्टकै पदचापमा हिँड्नेहरु विकल्प बन्न सक्दैनन् ।’

संघीयताको विषयमा भने अध्यक्षत्रय थापा, लोहनी र राणा मौन रहे । देश संघीयतामा गएपछि भ्रष्टाचार पनि सोहीअनुसार वीकेन्द्रीकरण भएको भनेर यसप्रति अध्यक्ष लोहनीले कटाक्ष गरे पनि संघीयताकै विषयमा थप केही बोलेनन् ।

झापाबाट गणतन्त्रवादीकै सहयोगमा चुनाव जितेका सांसद राजेन्द्र लिङदेनले गणतन्त्रको विरोध गर्दै राप्रपाका नेताहरु नफुटेको भए गणतन्त्र नै नआउने दाबी गरे ।

राप्रपाबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद रीना गुरुङले भने हालको शासकीय स्वरुपका विषयमा जनमत संग्रहको माग गरिन् ।

सूर्यबहादुरको चर्चा, छोराको खोजी !

एकता सभामा बोल्ने सबै नेताहरुले राप्रपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापा (सूबथा) लाई सम्झिए । सूर्यबहादुर थापाको सोचअनुसार एकीकृत राप्रपालाई अगाडि बढाउने प्रतिवद्धता पनि उनीहरुले जनाए ।

तर, नेताहरुले संस्थापक नेता सूर्यबहादुरलाई सम्भिmरहँदा कार्यकर्ता भने मञ्चमा सूर्यबहादुरका छोरा सुनीलबहादुर थापालाई खोजिरहेका थिए । ५० भन्दा बढी नेताहरु अटेको मञ्चमा पूर्वमन्त्री सुनील थिएनन् ।

त्यसो त राप्रपा धारलाई एक हुन तत्कालीन राजा ज्ञानेन्द्र शाहले दबाव दिएको टिप्पणी पनि कतिपयले गर्ने गरेका छन् । यस्तो टिप्पणी गर्नेलाई अध्यक्ष थापाले अप्रत्यक्ष जवाफ दिए, ‘कसैको दबाब र प्रभावमा परेर यो एकता भएको होइन । देशको अवस्थाले हामीलाई एक बनाउन प्रेरित गर्‍यो ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?