Comments Add Comment

टौदहमा पाहुना चराको जलक्रिडा

१ चैत, काठमाडौं । काठमाडौं नजिकै रहेको सुन्दर टौदह पोखरी चराचुरुंगीको खुला क्रिडास्थल हो । कीर्तिपुरको यो जलाशयमा थरीथरीका स्वदेशी तथा विदेशी चराहरु आउँछन् र उन्मुक्त भएर खेल्छन् ।

विभिन्न अध्ययनले नेपालमा ८ सय ७१ प्रजातिका चरा पाइने देखिएको छ । हावापानी, भूगोलको विविधताकै कारण नेपाल धेरै चराचुरुंगीको आश्रयस्थल भएको हो । तर, यहाँ आगन्तुक एवं पाहुना चराहरु पनि आउजाउ गरिरहन्छन् । मौसमी अनुकुलता हेरेर आउजाउ गर्ने यी चराले हिजोआज टौदहमा बेग्लै रौनक प्रदान गरेको छ ।

टौदहमा जाडोको समयमा पाहुना चरा जलेवा (क्यामरुन्ट) देखिन्छ, जो साइबेरियाबाट जाडो छल्न आउँछ ।  यी जलेवा यतिबेला त्यो जलाशयमा उन्मुक्त रमाइरहेको दृश्य देख्न सकिन्छ । साथै यी चराहरुले बेलाबखत विभिन्न चर्तिकला पनि देखाउने गर्छन् ।

सूर्योदयको किरणसँगै जलेवा चल्मलाउन थाल्छ, खुशीले आफ्नो पखेटा फ्याटफ्याट गरेर चलाउन थाल्छ ।

टौदहको बीचमा रहेको रुखमा बसेको जलेवा सूर्योदयपछि तालमा ओर्लन्छन् । जलेवा अगाडिबाट झट्ट हेर्दा एङ्ग्रीबर्ड जस्तो देखिन्छ । यी चराको आहारा माछा हो । जलेवाले कलात्मक तरिकाले माछा समातेर आहारा बनाउँने गर्दछ । चीलले जलक्रिडा गरी रहेको हाँसलाई शिकार गर्न लागेको दृश्यले टौदह पुग्नेहरु हेरेर मनोरञ्जन लिने गर्दछ ।

जलेवालाई नेपालमा पाहुना चरा भनिन्छ । यो चरा असोजदेखि चैतसम्म विचरण गर्ने गर्छ । उत्तरी क्षेत्रमा अत्याधिक हिमपात हुने भएकोले आहार र बासस्थानको लागि जलेवा गण्डकी, कर्णाली, कोशी जस्ता नदी र तालतलैयामा आश्रय लिन आइपुग्छ ।

जलेवाको मुख्य आहार माछा हो । जलेवाले बच्चा कोरल्दा रंग परिवर्तन गर्छ, जसले यसलाई थप आकर्षक बनाउँछ । जलेवा ठूलो, मझौला र साना गरी तीन प्रकारका हुन्छन् । गर्मी बढेसँगै जलेवाले नेपाल छोड्ने तरखर गर्दै छन् ।

नेपालको वनजंगल आफैमा विशाल आश्रयस्थल हो, चराचुरुंगीको लागि । नेपालमा समुन्द्री सतहदेखि संसारकै सबैभन्दा उचाइ हिमाली क्षेत्रसम्म चराहरु पाइन्छन् । यहाँ विभिन्न प्रकारका चराचुरुंगी पाइन्छ, जस्तै डाँफे, मुनाल, सारस, सुगा, ढुकुर, कोइली, काँडेभ्याकुर, मयूर, कालिज, तितत्रा, गौथलीलगायत चराहरु पाइन्छन् । चितवनमा मात्र ६ सय प्रजातिका चराहरु पाइन्छन् । केही प्रजातिका चराहरु लोपोन्मुख हुँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment