Comments Add Comment

तेलको मूल्य घट्ने ‘अनुमान’मा अधिकांश पेट्रोल पम्प बन्द

आइतबार बन्द गरिएको पेट्रोल पम्प । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२ चैत, काठमाडौं । आइतबार काठमाडौं उपत्यकाका कतिपय पेट्रोल पम्प बन्द छन् भने खुलेका पम्पहरुमा इन्धन भर्ने सवारी साधनको लामो लाइन देखिएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने त्रास देखिएका बेला पेट्रोल पम्पहरुमा लाइन देखेपछि सर्वसाधारण थप आतंकित भएका छन् । त्यसले पेट्रोल पम्पहरुको लाइन लम्बिएको छ ।

तर पम्पहरु नखुल्नुको कारण भने इन्धन अभाव होइन । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार निगमसँग पर्याप्त तेल मौज्दात छ । तर पम्पहरुले तेल लैजान चाहेनन् । अन्तर्राष्ट्रिय मूल्यअनुसार सोमबार मूल्य समायोजन हुने अनुमान गरेर आइतबार पम्पहरुले तेल भर्न नमानेका हुन् ।

‘अन्तर्राष्ट्रिय बजारमा तेल सस्तिएकाले नेपालमा पनि सस्तिन्छ । आज महंगोमा किनेको तेल मौज्दात बस्यो भने घाटा हुन्छ भन्ने डरले डिलरहरुले तेल उठाएनन्,’ उनले भने, ‘त्यही कारण धेरै पम्पहरु आइतबार नखुलेका हुन् ।’

तर व्यवसायीहरुले भने शनिबार निगमको थानकोट डिपो बन्द भएकाले पनि पम्पहरु बन्द भएको तर्क गरेका छन् ।

तर मुख्य कारण चाहिँ मुल्य समायोजनको पूर्वानुमान नै हो । विगतमा पनि निगमका कर्मचारीले कमिसनको लागि व्यवसायीलाई तेलको मूल्य बढ्ने पूर्वसूचना दिएर बढ्नुभन्दा अघिल्लो दिन धेरै परिमाणका तेल बेच्ने गरेका थिए ।

मूल्य घट्ने पूर्वसूचना पनि चुहाएर निगमका कर्मचारीले अनुचित लाभ लिने गरेका छन् । निगम र पेट्रोलियम व्यवसायी नाफा र घाटाको खेलमा लाग्दा उपभोक्ताले भने अनाहकमा लाइन बस्नुपर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment