Comments Add Comment

यूएईमा कार्यरत नेपालीमा रोजगारीको सुर्ता

Photo Credit : Reuters

३ चैत, यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) नेपालीको प्रमुख रोजगार गन्तव्य हो । स्वदेशमा रोजगारी नपाएपछि वर्षौंदेखि यहाँ हजारौं नेपालीले पसिना बगाइरहेका छन् । तर विश्वव्यापी महामारीको रूप लिएको कोरोना संक्रमणले यहाँ कार्यरत नेपाली रोजगारी गुम्ने भयले आक्रान्त छन् ।

दुवईको एक होटलमा कार्यरत मकवानपुरका दिनेश खड्का कोरोना कहरले यहाँ कार्यरत नेपालीमा रोग भित्रिने त्राससँगै रोजगारी गुम्ने चिन्ता पनि थपिएको बताए । खड्काका अनुसार, वार्षिक बिदा लिन बाँकी रहेकाहरूलाई तल्काल बिदामा बस्न तथा बिदा सकाएर फर्किएकालाई समेत विना तलबी बिदा लिन कम्पनीहरूले उर्दी जारी गरेका छन् । कम्पनीले आफ्नो मुलुकको अवस्था हेरेर घर फर्कन र त्यो सम्भव नभए यूएईमै बिदामा बस्न भनेपछि धेरै कामदार रोजगारी गुम्ने चिन्तामा छट्पटिएको उनले बताए ।

कोरोनाको संक्रमणपछि खासगरी सेवाप्रदायक क्षेत्रमा काम गर्ने कामदार समस्यामा परेका छन् । होटल, ट्राभल एजेन्सी, सेल्स, सवारी चालक र सुरक्षागार्डमा काम गर्ने नेपाली कामदार बढी प्रभावित भएका छन् ।

यो पनि पढ्नुहोस कोरोना संक्रमित नेपालीलाई युएईबाट स्वदेश फर्काउन छलफल

विश्व स्वास्थ्य  संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्व महामारीको संज्ञा दिएसँगै यूएई सरकारले सतर्कता अपनाएको छ ।  पर्यटकीयस्थल, रेस्टुरेन्ट, मानिसहरुको जमघट हुने प्रमुख क्षेत्र तथा  विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन् । साथै यूएई भ्रमणमा आउनेहरूका लागि भिसासमेत बन्द गरिएको छ । कामदार मुलुक र आफ्नो देशबीचको हवाई सम्पर्क विच्छेद हुँदा बिदामा घर फर्कनसमेत कामदारलाई समस्या भएको छ ।

इलाम घर भई हाल आबुधाबीमा कार्यरत रोशन श्रेष्ठले नेपाल फर्किन ८ चैतको टिकट लिएका छन् । तर नेपाल फर्किएपछि १४ दिन क्वारेन्टाइमा बस्नुपर्ने र श्रमस्वीकृतिसमेत नहुने भएपछि आफू द्विविधामा परेको उनले बताए ।

उता, घर गएका नेपाली कम्पनीमा उपस्थित हुन नपाउँदा रोजगारी गुम्ने भयमा छन् । सरकारले आकस्मिक रूपमा श्रमस्वीकृति बन्दको निर्णय गरेपछि उनीहरू समस्यामा परेका हुन् ।

सम्पर्कमा आएका तथा कार्यरत सम्पूर्ण कामदारलाई नआत्तिन दूतावासले आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन र दुवै देशका सरकारको निर्देशनुसार सतर्कता अपनाउन पनि त्यहाँ रहेका नेपालीलाई दूतावासले सुझाएको छ ।

चीन उद्गम भएको कोरोना यूएईमा फैलँदो क्रममा छ । हालसम्म त्यहाँका ९८ मानिसमा संक्रमण देखिएको छ ।  याे संक्रमणबाट मृत्यु भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment