Comments Add Comment

कोरोना त्रास : तिलोत्तमा नगरपालिकाका हाटबजार बन्द

भीडभाड नहुने गरी चोक–चोकमा राखेर कृषि उत्पादन बेच्न पाइने

३ चैत, बुटवल । कोरोना भाइरस संक्रमणको त्रासका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र सञ्चालित हाटबजारहरु बन्द गराएको छ । हाटबजारहरुमा सर्वसाधारणको बढी चहलपहल हुने भएकाले बन्द गराउने निर्णय गरेको हो ।

तिलोत्तमामा एक दर्जन बढी स्थानमा सार्वजनिक तथा निजी जग्गामा हाटबजार लाग्दै आएको छ ।

नगर कार्यपालिका बैठकले हाटबजार बन्द गर्ने र स्थानीय किसानले उत्पादन गरेका कृषि उपजहरु धेरै भीडभाड नहुने गरी चोक-चोकमा राखेर बेच्न सक्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

‘किसानले अलग–अलग ठाउँमा बसेर भिडभाड नहुने गरी चोक-चोकमा आफ्ना उत्पादन बेच्न सक्ने छन्,’ प्रवक्ता श्रीले भने, ‘बजार बन्द गर्दा किसानको उत्पादन बिक्री होस् र कोरोना संक्रमणको जोखिम नहोस् भनेर भिडभाड नहुने गरी बेच्ने व्यवस्था मिलाएका हौं ।’

नगरपालिकाले विवाह, व्रतवन्धलगायतका धार्मिक कार्यक्रम पनि सीमित व्यक्तिहरुको बीचमा गर्न नगरबासीलाई अपिल गरेको छ । कोरोना संक्रमण रोक्न आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन, हात मिलाएर छाडेर नमस्कार गर्न, साबुन पानीले हात धुन, मास्कको प्रयोग गर्न पनि नगरपालिकाको अनुरोध छ ।

नगरपालिकाले नगरवासीलाई लामो यात्रामा ननिस्कन तथा संघ-संस्थाहरुलाई भ्रमणका कार्यक्रम नराख्न र भारतीय सीमा क्षेत्रमा नजान पनि आग्रह गरेको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment