Comments Add Comment

विप्लव समूहसँग वार्ताको प्रयास गर्दै पाण्डे

३ चैत, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ताको प्रयास फेरि सुरु भएको छ । सरकारसँग समन्वय गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले वार्ताको पहल थालेका हुन् ।

पाण्डेले पनि विप्लव समूहलाई मूल धारमा ल्याउने पहल भइरहेको स्वीकार गरे । औपचारिक वा कानुनी रुपमा जिम्मेवारी लिएको नभई तत्कालीन राजनीतिक वार्ता समिति संयोजकको हैसियतमा आफूले काम गरिरहेको उनको प्रतिक्रिया छ ।

‘कानुनी हैसियतमा होइन । हिजोको वार्ता टोलीको संयोजकको हैसियतले जिम्मेवार व्यक्तिको हैसियतले कोशिस हो’ पाण्डेले अनलाइनखबरसँग भने ।

२०७५ भदौ पहिलो साता सरकारले विभिन्न समूहसँग सम्वाद गर्न पाण्डेको नेतृत्वमा राजनीतिक वार्ता समिति बनाएको थियो । समितिले केही भूमिगत समूह तथा आन्दोलनमा रहेका पक्षको पहिचान गरेर वार्ता पनि गरेको थियो । विप्लव समूहका नेताहरुसँग पनि सम्वादको प्रयास गरे पनि वार्ता हुन सकेन ।

सुरेश आले मगर, ताराकान्त चौधरी र लीलाकुमारी भण्डारी सदस्य रहेको समिति २०७५ मंसिर पहिलो साता विघटन भयो । फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगायो । त्यससता थुप्रै नेता कार्यकर्ता पक्राउ परेका छन् ।

अहिले फेरि विप्लव समूहलाई वार्तामा ल्याउने प्रयास सुरु भएको पाण्डेले बताए । ‘विप्लव समूहसँग सम्पर्कमा छु । तपाईहरु वार्तामा नआई विकल्प छैन भनेको छु । उताबाट ठ्याक्कै कुरा आएको छैन । नकारात्मक कुरा पनि छैन’ उनले भने ।

स्रोतकाअनुसार पछिल्लो समय पाण्डेले विप्लव समुहका पूर्वपोलिटब्युरो सदस्य अनिल बिरहीसँग भेट गरेका थिए । एक नेताका अनुसार भेटमा पाण्डेले विप्लवसँगै वार्ताको प्रस्ताव गरे । बिरहीले भने पार्टीमा छलफल हुने जवाफ दिए ।

विप्लव समूहले विरहीलाई सरकार पक्षबाट जाने प्रस्तावबारे सूचना संकलन गर्ने जिम्मा दिएको बताइएको छ । ‘बिरहीजीलाई सरकारी पक्षबाट जाने सूचना संकलन गर्ने जिम्मा दिइएको छ । सूचना लिने हिसाबले उहाँले भेट गर्नुभएको हो । राजनीतिक निर्णय गर्ने अधिकार उहाँमा छैन’ ती नेताले अनलाइनखबरसँग भने ।

यसअघि सरकारले वार्ताको नाममा आफ्ना नेतालाई फसाएको विप्लव समुहको बुझाइ छ । वार्ताको प्रयास भन्दा भन्दै मोहन कार्की, पदम राईलगायतका नेताहरुलाई फसाउने काम भयो । फेरि त्यस्तै प्रयास हुनसक्छ’ उनको आशंका छ ।

कार्की र राई विप्लव समूह छाडेर नेकपा प्रवेश गरिसके भने केही नेता जेलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment