Comments Add Comment

पुलिसको प्रदर्शन : महिनामा ५ प्रतियोगिता, ४ को फाइनलमा, एक उपाधि

३ चैत, काठमाडौं  । कोरोना भाइरस संक्रमणको त्रासकै बीच पनि नेपालमा केही नकआउट फुटबल प्रतियोगिताहरु सम्पन्न भए ।

पछिल्लो पटक सर्लाहीमा सम्पन्न भएको चौथो राजर्षी जनक कप फुटबलको उपाधि नेपाल पुलिस क्लबल  जित्यो । जुमानु राईको कप्तानीमा रहेको पुलिसले कञ्चनजंघा एफसीलाई फाइनलमा २-१ ले हरायो ।

राष्ट्रिय टिमबाट खेलिसकेका जुमानु राईसहित युवा खेलाडी रहेको टिम यो पुलिसको बी टिम हो । यस सिजन मोफसलमा ५ वटा नकआउट फुटबल भइसकेको छ । जसमा नेपाल पुलिसले चार फाइनल खेल्यो । त्यसमा पुलिसले जितेको यो नै एक मात्र उपाधि हो ।

पुलिसले राइनो गोल्डकप, बुढासुब्बा गोल्डकप र आहा रारा गोल्डकपको पनि फाइनल खेल्यो । तर बुढासुब्बा र आहा रारामा मनाङ मर्स्याङ्दी अनि राइनो गोल्डकपमा त्रिभुवन आर्मीसंग पराजित भयो ।

यस पटक अखिल नेपाल फुटबल संघ एन्फाले एउटा ए डिभिजन क्लबले एक महिनामा ३ वटा मात्र मोफसलको फुटबल खेल्न पाउने गरी प्रतियोगिताको मिति तय गरेको थियो । तर पुलिसले कसरी पाँच वटा प्रतियोगिता खेल्यो त ?

पुलिसको एकै टिमले पाँच वटा प्रतियोगिता खेलेको होइन । यस पटक पुलिसले दुई टिम बनाएको थियो । जसमा ए टिमले ३ प्रतियोगिता खेल्दा २ फाइनल खेल्यो दुवैमा पराजित भयो । तर बी टिमले २ फाइनल खेल्यो एकमा उपाधि जित्यो । पुलिसलेको दुवै टिमलाई फाइनलमा हराउने मनाङ मर्स्याङ्दी नै बन्यो ।

नेपाल पुलिस खेलकुद शाखाका इन्चार्ज भरत शाहले नयाँ खेलाडीलाई पनि अवसर दिनका लागि यस पटक दुई वटा टिम बनाएर मोफसलमा खेलेको बताए । ‘हामीले एन्फासंग छलफल गरेर अर्को टिम पनि दर्ता गरेका थियौँ । नयाँ खेलाडीहरुलाई पनि अवसर दिन दुई टिम बनाएर खेलाएको हो’ शाहले भने ‘तर दुई टिमलाई व्यवस्थापन गर्न भने गाह्रो हुने रहेछ । अरु साथीहरुले पनि कसरी यो सम्भव भयो भनेर सोध्दैछन् ।’

शाहले दुई दुई टिम बनाएर खेलाउँदा अन्य क्लबलाई समेत उदाहरण भएको बताए । ‘बी टिममा राम्रो गर्नेले ए टिममा खेल्न पाउँछ’ उनले भने, ‘पुलिस भनेपछि जहिल्यै राम्रो टिम जित्नुपर्छ भन्ने हुन्छ ।’ ए टिममा लिग खेलेका खेलाडीको बाहुल्य थियो । जसमा कप्तान भरतसंगै निरकुमार राई अजित भण्डारी, तेज तामाङ, रोशन खड्का, सौजन राई, बुद्धबल तामाङ, रवी कुमार पासवान, हेम तामाङ, प्रवेश दनुवार जस्ता खेलाडी थिए ।

बी टिममा पनि पुलिसले अनुभवी र युवा खेलाडीको मिश्रण रहेको टिम बनाएको थियो । यही टिमले पुलिसलाई सिजनको पहिलो उपाधिसमेत दिलायो ।

अनुभवी युवा खेलाडीको जोशले गर्दा बी टिम पनि राम्रो बन्यो । बी टिममा जुमानुसंगै तीर्थ राना मगर, मानबहादुर परियार, कपिल ढकाल, सञ्जित श्रेष्ठ थिए । यस्तै यू १९ का विशाल बस्नेत, पदम भट्टराई जस्ता युवा खेलाडी थिए ।

बी टिमले नै बुढासुब्बामा सेमिफाइनलमा लिग च्याम्पियन मछिन्द्रलाई पराजित गरेको थियो । सर्लाहीमा उपाधि नै जित्यो । बुढासुब्बा र राजर्षी जनक कप हेर्न भरत शाह आफै पनि पुगेका थिए । जुमानु राईको आफ्नै जिल्ला सर्लाहीमा पुलिसलाई सिजनको पहिलो उपाधि दिलाए । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए । च्याम्पियन पुलिसले नगद १० लाख हात पार्‍यो । सर्वोत्कृष्ट जुमानुले नगद ५१ हजार रुपैयाँ पाए ।

राजर्षी जनक कपको फाइनलमा जुमानु राईको कप्तानीमा रहेको पुलिस टिम फाइनलमा मनाङ मर्स्याङ्दीसंग पराजित भएको थियो । त्यसमा भोला सिलवालले समेत खेलेको थियो । शुरुमा भोला सिलवाल र सुमन सुवेदी बी टिममा थिए । तर ए टिमका रवि पासवान, तेज तामाङ र अजित भण्डारी राष्ट्रिय टिमको क्याम्पमा गएपछि भोला र सुमन सुवेदीसंगै दिनेश गुरुङ ए टिममा खेल्न गएका थिए । यस्तै ए टिमबाट राइनो गोल्डकप फाइनल खेलेका रविन श्रेष्ठ राजर्षी जनक कप खेल्न बी टिममा गएका थिए ।

धरानमा भएको बुढासुब्बमा बी टिमले राम्रो प्रदर्शन गरे पनि फाइनलमा आफ्नै गल्तीले गोल खाँदा मनाङसंग हार्नुपरेको खेलाडी भोला सिलवालले बताए । ‘हाम्रो बी टिमले पनि राम्रै खेलेको थियो । तर किपरको गल्तीले शुरुमै गोल खायौँ । पछि हामी ३-१ ले पराजित भयौँ’ उनले भने ।

पोखरामा भएको आहा रारा गोल्डकपमा पनि भोला सिलवालले फाइनल खेलेका थिए । ‘पोखरामा पनि हामीले राम्रो खेलेको थियौँ । पहिलो खेलमा रातो कार्ड पाएकोले मैले सेमिफाइनल खेल्न पाइँन । तर फाइनलमा वैकल्पिकको रुपमा खेलेको थिएँ’ भोलाले भने, ‘शुरुमै हामील पेनाल्टीमा गोल गरेका थियौँ । पेनाल्टी सेभ पनि गरेका थियौँ । हामीलाई फाइदा थियो । तर पछि दुई पेनाल्टी मिस हुँदा हामी पराजित भयौँ । चान्स थियो । गुम्यो ।’

फाइनल हारेपनि पुलिसका डिफेण्डर अजित भण्डारीले सर्वोत्कृष्ट हादै स्कुटर पुरस्कार प्राप्त गरे ।

खेलकुद शाखा इन्चार्ज भरत शाहले पनि राम्रो खेल्दा खेल्दै पनि पेनाल्टीमा पराजित हुनुपरेको बताए । भरत शाह पोखरामा पनि टिमसंगै पुगेका थिए । आहा राराको सेमिफाइनलमा पुलिसले थ्री स्टारलाई ३-० ले पराजित गरेको थियो । तर फाइनलमा मनाङलाई निर्धारित ९० मिनेट  र अतिरिक्त ३० मिनेटमा रोकेपनि पेनाल्टी सुटआउटमा ४-३ ले पराजित भयो । पुलिसका दुई खेलाडीको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए ।

पाँच प्रतियोगिता खेल्दा पुलिस ३ टिमसंग मात्र पराजित भयो । दुई फाइनलमा मनाङसंग हारेको पुलिस विभागीय क्लबहरु त्रिभुवन आर्मी र एपीएफसंग एक-एक पटक पराजित भयो ।

यस सिजन पुलिसले खेलेको पहिलो फाइनल राइनो गोल्डकप थियो । भरत शाहको कप्तानीमा रहेको पुलिस फाइनलमा आर्मीसंग १-० ले पराजित हुँदै उपाधिबाट बन्चित भयो ।

त्यही टिम सुदूरपश्चिम खप्तड गोल्डकप खेल्न कैलाली पुगेको थियो । जहाँ साविक विजेता समेत रहेको पसलिस अर्को विभागीय क्लब एपीएफसंग क्वाटरफाइनलमा पराजित भयो । मोफसलको गोल्डकपमध्ये सर्वाधिक २१ लाख पुरस्कार रहेको खप्तड गोल्डकपमा पुलिस एपीएफसंग ट्राईबेकरमा पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । राइनो कपको फाइनल खेलेर राति ट्राभल गरेर भोलिपल्ट खेल्दा कठिन भएकोले समेत नतिजामा असर गरेको खेलकुद इन्चार्ज भारत शाहको भनाइ छ ।

पुलिसको प्रशिक्षकसमेत फेरिएको थियो । राइनो गोल्डकपमा सञ्जीव जोशी प्रशिक्षक थिए । उनी खप्तड गोल्डकपमा पनि टिमसंगै गएका थिए । बुढासुब्बा गोल्डकपको शुरुको खेलमा अनन्त राज थापा पुलिसको प्रशिक्षक थिए । तर एएफसी ए लाइसेन्सको कोर्सका लागि अनन्त काठमाडौं फर्केपछि पुलिसले काम चलाउन प्रशिक्षकको रुपमा बुढासुब्बा गोल्डकप खेलेको थियो ।

लाइसेन्स कोर्स सकिएपछि पोखरामा पुलिस टिम हेर्न पुन अनन्त थापा पुगेका थिए । तर टिम फाइनलमा पराजित भयो । फागुन पहिलो साता सकिएको ए डिभिजन लिगमा पनि अनन्तले नै पुलिसको टिमको प्रशिक्षण सम्हालेका थिए ।

पुलिसले सिजनको पहिलो उपाधिको रुपमा राजर्षी जनक गोल्डकप जित्दा भने सञ्जीव जोशी प्रशिक्षक थिए । उनी प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकसमेत घोषित भएका थिए ।

पुलिसले यस सिजनको पहिलो गोल्ड झापामा भएको सताक्षी गोल्डकपमा सहभागिता जनाएन । यस्तै इलाममा भएको माई भ्याली गोल्डकप  र मकवानपुरमा भएको बागमती गोल्डकप पनि पुलिसले खेलेन ।

नेपाल पुलिस खेलकुद शाखाका इन्चार्ज भरत शाहले भनेजस्तै पुलिसले फुटबल खेल्दा जहिल्यै राम्रो खेल्छ भन्ने दर्शकको अपेक्षा रहँदै आएको छ । कुनै समय घरेलु फुटबलमा पुलिसको छवि बाघजस्तै थियो । ए डिभिजन लिग उपाधिमा ह्याट्रिक गरेको पुलिसले मोफसलको गोल्डकपमा पनि राज गरेको थियो ।

तर बीचमा पुलिस सुस्तायो । अहिले फेरि केही अनुभवी र युवा खेलाडीको साथ पाएको पुलिसले घरेलु फुटबलमा पुरानो छवि फर्काउने प्रयास गरिरहेको छ । पुलिस टिम राम्रो बनाउने लक्ष्यमा रहेको शाहले बताए ।

यस सिजन नकआउटमा पुलिसको प्रदर्शन

राइनो गोल्डकप, पूर्वी नवलपराशी (फागुन ५ देखि १४ सम्म)

उपविजेता (आर्मीसंग १-० ले पराजित)

बुढासुब्बा गोलकप, धरान  (फागुन १० देखि १७ सम्म)
उपविजेता (मनाङसंग ३-१ ले पराजित)

खप्तड गोल्डकप, कैलाली (फागुन ९ देखि २० सम्म)

क्वार्टरफाइनल एपीएफसंग पेनाल्टी सुटआउटमा पराजित

आहा रारा गोल्डकप, पोखरा (फागुन २२ देखि चैत १ सम्म)

उपविजेता (मनाङसंग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित)

राजर्षी जनक गोल्डकप, सर्लाही (फागुन २२ देखि चैत २ सम्म)

विजेता (कन्चनजंगालाई २-१ ले हराउन सफल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment