Comments Add Comment

काठमाडौंको सौन्दर्य बढाउन महानगरलाई प्रभु बैंकको साथ

४ चैत, काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका बढी भिडभाड हुने स्थानहरु जमल, रत्नपार्क, माइतीघर मण्डललगायतका स्थानमा ‘ट्राफिक आइल्याण्ड’ बन्ने भएका छन् । यस क्षेत्रमा आयरल्याण्ड बनाउनका लागि दुई वाणिज्य बैंकहरुले सहयोग गर्ने भएका छन् ।

मंगलबार आयोजित कार्यक्रमकाबीच प्रभु बैंक र काठमाडौं महानगरपािलकाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार नै महानगरले कृषि बिकास बैंकसमेत समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

प्रभु बैंककले तीन स्थानमा निर्माण गर्ने आइल्याण्डको सम्झौतामा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहमति पत्रमा हस्ताक्षर गरे ।

काठमाडौँ महानगरपालिकाले निजी क्षेत्रसँगै अन्य क्षेत्रसँग पनि साझेदारीमा यस्तो सम्झौता गरेसँगै सहरी सौन्दर्यीकरण र हरियाली प्रवद्र्धनमा थप टेवा पुग्ने देखिएको छ । काठमाडौँ महानगपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको रोहवरमा यी दुबै सम्झौतामा आजराष्ट्रिय सभा गृहमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिका यस्ता विभिन्न स्थानमा ट्राफिक आइल्याण्ड आफैँ बनाउन सक्षम रहे पनि नीजि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि यस्तो सम्झौता गरेको बताए ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै शेरचनले सामाजिक उत्तर दायित्व अन्तरगत नै महानगरसँग ट्राफिक आइल्याण्ड निर्माणका लागि सम्झौता गरेको बताए । त्यसैगरी माइतीघर मण्डला अघिल्तिरको बगैँचालाई अहिलेको डिजाइन नविग्रिने गरी सौन्दर्यीकरण र हरियाली प्रवद्र्धन गर्ने गरी कृषि बिकास बैंकसँग सम्झौता गरेको छ ।

सम्झौताबमोजिम बैंकले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिका ट्राफिक आइल्याण्डमा बगैचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।

आउँदो ५ बर्षका लागि भएको सम्झौताबमोजिम आइल्याण्डको व्यवस्थापन गरेवापतको खर्च बैंक आफैंले व्यहोर्नेछ । आइल्याण्डमा बैंक र महानगरको परिचय झल्कने लोगो राखिनेछ । यसमा बिज्ञापन सामाग्री राखिने छैन । आपसी सहमतिमा राखिने डिजिटल बोर्डमा सन्देशमुलक सामाग्री मात्र राखिनेछ ।

त्यसैगरी माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने सम्झौतापत्रमा महानगरकातर्फबाट ज्ञवाली र बैंकका तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रबचन्द्र गौत्तमले हस्ताक्षर गरेका थिए ।

सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै कृषि विकास बैंकका का. मु. उपमहाप्रबन्धक गौत्तमले, महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्वलाई बैंकले पूरा गर्ने बताए ।

सम्झौताबमोजिम अहिले भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरवदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण गर्न सकिनेछ ।

आउँदो ५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने छ । उक्त क्षेत्रमा बैंकले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्नेछ । तर, यस्तो सामाग्री विज्ञापनमुलक हुनेछैन ।

राष्ट्रिय पर्वसँगै महानगरले अनुरोध गरेको अवस्थामा मण्डलालाई बहु प्रयोग गर्न सकिने छ भने यस वरिपरिका ट्राफिक आइल्याण्डहरुलाई कलात्मक ढङ्गबाट मर्मत गर्ने र सौन्र्दयकरण झल्काउन आवश्यक पर्ने फूल वोट विरुवा लगाउने काम बैंकले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment