Comments Add Comment

अनौठो घटना, जहाँ हात्तीलाई फाँसी दिइएको थियो

हरेक देशमा अपराधीलाई सजाय दिनका लागि नियम कानूनहरू बनाइएका हुन्छन् । अपराध जति जघन्य हुन्छ, सजाय पनि उत्ति नै ठूलो हुन्छ ।

हत्या, बलात्कारजस्ता जघन्य अपराधमा मानिसहरूलाई फाँसी दिने कानून भएका कतिपय देशहरू छन् । कतिपय मुलुकहरूले निकै क्रूर ढंगले मृत्युदण्ड दिन्छन् । तर यो दुनियाँमा मृत्युदण्डको सजाय पाउनेमा केवल मान्छे मात्र छैनन् । आजभन्दा १ सय ४ वर्षअघि बकाइदा एउटा हात्तीलाई कानूनबमोजिम फाँसी दिइएको थियो ।

यो घटना अमेरिकामा भएको थियो । त्यससमय अमेरिकामा ठूलो संख्यामा मानिसहरूले हात्तीलाई फाँसी दिने कुराको पूर्ण रूपमा समर्थन गरेका थिए ।

सन् १९१६ का सेप्टेम्बर १३ मा अमेरिकाको टेनिसी राज्यमा दुई हजारभन्दा धेरै मानिसहरूको उपस्थितिमा म्यारी नामको हात्तीलाई फाँसीमा चढाइयो । र, त्यस क्रूर सजायको पछाडि एउटा अनौठो कारण थियो ।

चार्ली स्पार्क नामका एकजना व्यक्तिले टेनिसीमा स्पाक्र्स वल्र्ड फेमस शो नामको एक सर्कस सञ्चालन गर्दथे । उनीसँग कैयन् जनावरहरू थिए, जसमा म्यारी नामको एक एसियाली हात्ती पनि थियो । एकदिन उक्त हात्तीको माउतेले कुनै कारणले सर्कस छाडिदियो । त्यसठाउँमा अर्को माउते राखे चार्लीले ।

तर नयाँ माउतेले हात्तीलाई कसरी चलाउने भन्ने बारेमा खासै थाहा थिएन । म्यारी हात्तीले पनि नयाँ माउतेसँग खासै मेसो पाएको थिएन । जसका कारण माउतेलाई हात्ती सम्हाल्न गाह्रो परिरहेको थियो । यस्तै, समस्याका बीच पनि सहरको मध्य भागमा हात्तीको परेड निकालिएको थियो । त्यसक्रममा बाटोमा हात्तीले केही खानेकुरा देख्यो र त्यो खानेकुरा भेटाउनका लागि दौडिन थाल्यो ।

माउतेले हात्तीलाई नियन्त्रण गर्ने कोसिस गर्यो, तर सकेन । उल्टै हात्तीले माउतेलाई सुँडले भुइँमा पछारेर कुल्चियो ।

हात्तीले आतंक मच्चायो । त्यहाँका धेरै मानिसले सो हात्ती मार्नुपर्ने माग राखेर हंगामा मच्चाए । भोलिपल्टका पत्रिकाहरूमा उक्त घटनाले महत्त्वपूर्ण स्थान पायो । सहरका धेरै मानिसहरूले सर्कस मालिक चार्ली स्पार्कसँग म्यारी हात्तीलाई मृत्युदण्ड दिन माग गरे ।

यदि हात्तीलाई नमारेमा सहरमा फेरि कहिल्यै पनि सर्कस चलाउन नदिने अडान जनताहरूले लिए । कतिपय मानिसहरूले उक्त हात्तीलाई रेलले कुल्चाएर मार्नुपर्ने बताए भने कतिपयले करेन्ट लगाएर मार्नुपर्ने मत जाहेर गरे ।

जनताको मागका अगाडि सरकारले पनि घुँडा टेक्नुपर्यो र अन्ततः सरकारले नै उक्त हात्तीलाई मृत्युदण्ड दिने निर्णय गर्यो ।

अन्ततः १३ सेप्टेम्बरको दिन क्रेनको सहायताले उक्त हात्तीलाई हजारौँ मानिसहरूको बीचमा फाँसीमा झुण्डाइयो ।

यो घटनालाई इतिहासमा जनावरप्रति मानिसहरूको क्रूरताको सबैभन्दा ठूलो उदाहरण मान्ने गरिन्छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment