Comments Add Comment

कोरोनाका कारण अनलाइन व्यापार मालामाल

अमेजनले भर्ना गर्दैछ १ लाख कर्मचारी

कोरोना भाइरसको विश्वव्यापी आतंकका कारण धेरै देशमा सपिङ मलहरू बन्द भएका छन् । खुल्ला भएका देशमा समेत मानिसहरू सपिङ मलको भीडभाडमा गएर किनमेल गर्न डराउन थालेका छन् । यस्तो परिस्थितिमा मानिसहरू किनमेलका लागि अनलाइन सपिङ साइटप्रति आकर्षित हुनु स्वभाविकै हो । ग्राहकहरूको यो बाध्यतालाई विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ प्लाटफर्म अमेजनले क्यास गर्न सफल भएको छ ।

कोरोना भाइरस आउटब्रेकका कारण अनलाइन सपिङमा भएको उच्च बढोत्तरीसँगै अमेजनले अमेरिकामा मात्रै थप १ लाख कर्मचारी भर्ना गर्ने भएको छ । फुलटाइम र पार्टटाइम गरी १ लाखको संख्यामा नयाँ वितरक कर्मचारीहरू भर्ना गरिनेछ । जसले अमेजनका गोदामकेन्द्र तथा वितरण सञ्जालहरूमा काम गर्नेछन् ।

अमेजनले एक ब्लग पोष्टमा भनेको छ, ‘हामीसँग ग्राहकहरूको मागमा उल्लेखनीय वृद्धि भएको छ । जसका कारण कम्पनीको श्रमिक आवश्यकता यो समय अहिलेसम्मकै उच्च रहेको छ ।’

निकै ठूलो संख्यामा अनलाइन किनमेल भएको र कर्मचारीहरूको विद्यमान संख्या सीमित रहेको हुँदा खरीद गरिएको सामान क्रेताको ठेगानासम्म आइपुग्नका लागि सामान्यभन्दा केही लामो समय लाग्नसक्ने अमेजनले शनिबार नै बताइसकेको छ । साथै कतिपय घरायासी प्रयोगका सामानका साथै केही लोकप्रिय ब्राण्डका सामानहरूको स्टक सकिएको जानकारी पनि शनिबार अमेजनले गराएको थियो । जसमा ट्वाइलेट पेपर तथा डिस्इन्फेक्टेन्ट नेपकिन्सहरू पनि रहेका छन् ।

ब्लग पोष्टमार्फत अमेजनले भनेको छ, ‘यो निकै चुनौतीपूर्ण समयमा समुदाय तथा ग्राहकहरूलाई सेवा गर्नु हाम्रो कर्तव्य हो । हामीले निश्चित गर्न चाहन्छौं कि मानिसहरूले आफूले खोजेको सामान चाहेको समयमा प्राप्त गर्न सकून् ।’

सबै सामानहरू पर्याप्त मात्रामा उपलब्ध होउन् भन्नका लागि हर समय आफ्ना साझेदार बिक्रेताहरूसँग सहकार्य गरिरहेको र आपूर्तिका लागि थप जनशक्ति थप्न लागेको अमेजनले जनाएको छ ।

नयाँ कर्मचारी थप गर्नेमात्र नभई अप्रिल महिनाभरका लागि गोदाम तथा वितरण सञ्जालहरूमा अतिरिक्त समय काम गर्ने कामदारहरूलाई भुक्तानी गर्न थप ३५ करोड डलर लगानी गर्न लागेको पनि अमेजनले जनाएको छ । अमेजनले यस समयमा अतिरिक्त काम गर्नेलाई न्यूनतम १५ डलर प्रतिघण्टाको ज्यालामा थप दुई डलर प्रदान गर्नेछ । त्यस्तै बेलायतमा थप २ पाउण्ड र युरो जोनमा थप २ युरो अतिरिक्त ज्याला दिनेछ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment